डा. उप्रेती दाजुभाइमाथि किर्तेमा मुद्दा चल्ने !


काठमाडौं । नयाँ बानेश्वर थापागाउँस्थित झन्डै १ रोपनी पर्ती जग्गा खाने डा. प्रेमरमण उप्रेती र दिपकरमण उप्रेतीमाथि किर्तेमा मुद्दा चल्ने सम्भावना बढेको छ ।

नापी नक्सा र पिल्डबुकमा किर्ते गरेर पर्ती जग्गा दुषित गराउने डा. उप्रेती दाजुभाइमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले किर्तेमा मुद्दा चलाउने सम्भावना बढेको हो ।

पाटनका कुल नरसिंह शाक्यले ‘नून छरेर’ गौचरणमा छाडिदिएको जग्गा डा. उप्रेती दाजुभाइले दुषित दर्ता गराएर खाएकाे स्वास्थ्य लाइभले पटक-पटक खुलासा गरेको छ । उक्त जग्गाको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरिरहेको छ । ललिता निवास बालुवाटार काण्डमा जस्तै थापागाउँको पर्ती जग्गा किर्ते गरी खाइदिएको डा. उप्रेती दाजुभाइमाथि आरोप छ । उनीहरूमाथि पनि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले छानबिन प्रक्रिया अघि बढाउने सम्भावना छ ।

स्थानीयले सार्वजनिक प्रयोजनका लागि प्रयोग गर्दै आएको थापागाउँको उक्त जग्गा पाठशाला स्कुलले मिलेमतोमा पार्किङका लागि भाडामा लिएपछि दुषित दर्ता भएको रहस्य खुलेको हो । निर्वाचन र अन्य सार्वजनिक कार्यक्रमका लागि प्रयोग हुँदै आएको जग्गा पाठशालाको मिलेमतोमा हडपिएको छ ।बालुवाटारको सरकारी जग्गा काण्डमा सीआईबीले एक्सन लिन थालेपछि थापागाउँका स्थानीयहरू हौसिएका छन् ।

फिल्डबुकमा केरमेट गरी निलो र कालो फरक-फरक मसी प्रयोग गरी उक्त पर्ती जग्गा व्यक्ति विशेषको नाममा दर्ता भएको पाइन्छ । प्रथम दुष्टिमा नै किर्ते गरेको देखिने डा. उप्रती दाजुभाइको नाममा पुगेको थापागाउँको उक्त जग्गा सीआईबीले तत्काल अनुसन्धान गरेर कारबाहीको दायरामा ल्याउन आवश्यक छ ।

तत्कालीन महादेवस्थान गा.वि.स. छ (ख) कित्ता नम्बर ७९ को को करिब २ रोपनी जग्गा पाटनका व्यापारी कुलनरसिंह शाक्यले नून छरेर छाडेपछि पर्ती जानिएको थियो । ७ नम्बर पर्ती (सरकारी) उल्लेख भएको जग्गा मालपोतका कर्मचारी र उप्रेती परिवारको मिलेमतोमा दुषित दर्ता गरिएको हो ।

फिल्डबुकमा विभिन्न रङको मसी प्रयोग गर्ने, केरमेट गर्नेदेखि अनावश्यक व्यक्तिको नक्कली हस्ताक्षर गरेको देखिन्छ । पर्ती जग्गालाई प्रर्ती बनाएर केरमेट गर्नेदेखि धेरै कुरा अदलबदल गरेको पाइन्छ । कुलनसिंहले २ रोपनी नून छरेर छाडेकोमा १५ आना मात्र डा. उप्रेती परिवारको दर्ता भएको छ । बाटोमा परेको जग्गा छाडेर बाँकी रहेको १५ आना मात्र जग्गा उनीहरुको नाममा दुषित दर्ता भएको हो ।

थापागाउँस्थित पर्ती जग्गाको दुषित दर्ता मात्र भएको छैन । किर्ते समेत गरेर पर्ती जग्गा डा. उप्रेती परिवारको नाममा पुगेकाले किर्तेमा थप छानबिन गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को सक्रियता जरुरी छ ।

स्थानीयका अनुसार डा. प्रेमरमण उप्रेती अहिले ललितपुरको बालकुमारीमा बस्दै आएका छन् । दिपकरमण उप्रेती भने क्यानडामा रहेको खुल्न आएको छ । उनलाई इन्टरपोलमार्फत नेपाल झिकाएर भएपनि सीआईबीले सरकारी जग्गा किर्तेमा मुद्दा दायर गर्नुपर्ने स्थानीयको माग छ ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
ट्याग : #डा. प्रेमरमण उप्रेती, #थापागाउँ पर्ती जग्गा, #सीआईबी

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ