स्वास्थ्यमन्त्री बस्नेत आत्महत्या दुरुत्साहनमा संलग्न 


काठमाडौं । नेपाली कांग्रेसका एक जना नेता तथा हालका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत आत्महत्या दुरुत्साहनमा मुछिएका छन् । बाहलवाला मन्त्री नै यसरी आत्महत्या दुरुत्साहनमा संलग्न भएको सायद नौलो घटना भएको स्वास्थ्यका अधिकारीहरू बताउँछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सोमबार आयोजित एक पत्रकार सम्मेलनमा उनले सरकारी सेवामा आवद्ध भएका कर्मचारीलाई लिएर उसलाई आत्महत्याका लागि सचिवहरू उक्साएका छन् । यो उनको दोस्रो अभिव्यक्ति हो । 

सरकारमा सहभागी भएको मन्त्रीले खुलेआम कर्मचारीलाई आत्महत्या गराउँन उकास्दा समेत सम्बन्धित निकाय मौन बसेका छन् । अधिवक्ता स्वागत नेपाल स्वास्थ्यमन्त्रीको यो अभिव्यक्ति गम्भिर भएको बताउँछन् । ‘बहालवाला मन्त्रीले यो भन्नु भनेको आश्चर्यको विषय हो’, उनले भने, ‘सम्झाउने हो तर आत्महत्याको बाटो रोजाउने काम गम्भिर छ ।’,

अधिकारीहरूले स्वास्थ्यमन्त्री बस्नेतलाई तत्काल कानुनी दायरामा ल्याउन माग गरेका छन् । मन्त्रीको अभिव्यक्ति हाल विभिन्न सञ्चार माध्यममा आएको छ । सोमबारको पत्रकार सम्मेलनमा आफ्ना दुई महिने उपलव्धि सार्वजनिक गर्ने क्रममा स्वास्थ्यमन्त्री  बस्नेतले कर्मचारी सरुवा तथा खटनपटनको प्रसंग निकालेका थिए ।  उनले सो क्रममा, ‘एक जना स्वास्थ्यकर्मीले हाम्रो सचिवज्यूलाई फलानो ठाउँबाट सरुवा गरिदिनु भयो भने त म आत्महत्या गर्दिन्छु भन्दै धम्की दिँदो रहेछ, मैले उहाँहरु (सचिवहरु)लाई भनिदिएको छु, फेरि पनि त्यो कर्मचारी त्यसरी प्रस्तुत भयो भने डोरी किनेर दिनु र झुण्डिनु भनि दिनु ।’,

स्वास्थ्यमन्त्री बस्नेतले सोमबारको पत्रकार सम्मेलनमा मात्रै होइन, यसरी कर्मचारीलाई आत्महत्याको बाटो देखाउन पटकपटक सचिवहरूलाई उक्साउने गरेका छन् । पछिल्लो सयम समायोजन र राजनीतिक पेलानका कारण कयौं स्वास्थ्यकर्मी मानसिक रुपमा पनि विक्षिप्त हुन पुगेका छन् । 

 

मुलुकी अपराध संहिताले गरेको नयाँ व्यवस्थामध्ये एउटा हो, आत्महत्यामा दुरुत्साहन गर्नेलाई गरिने दण्डसजाय । उक्त संहिताको दफा १८५ मा भनिएको छ, ‘कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्नेसम्मको परिस्थिति खडा गर्न वा गराउन हुँदैन ।’यस्तो कसुर गर्नेलाई ‘५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना’ हुने व्यवस्था छ । छिमेकी मुलुक भारतलगायत देशमा यस्तो व्यवस्था पहिलेदेखि नै छ । यही ऐन अनुसार छानबिन गरेर मन्त्रीमाथि कारबाही हुनुपर्ने आवाज उठेको छ । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा बसेर आत्महत्या गर्न उक्साउने मन्त्रीले आफूमात्र हैन नेपाली कांग्रेस पार्टी र सरकारकै बदनाम गराएका छन् ।

शेरबहादुर देउवाका विश्वास पात्र मानिएका बस्नेतको यस्तो अभिव्यक्तिले लज्जाबोध गराएको छ । यो विषयलाई सम्बन्धित अधिकारीहरूले गम्भिर रुपमा लिएर कारबाही नगरे बस्नेतका कारण स्वास्थ्यमा ठूलो दुर्घटना हुने उच्च अधिकारीहरू बताउँछन् । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले आत्महत्याका कारण विश्वमा प्रत्येक वर्ष ७ लाखभन्दा बढी मानिसको ज्यान जाने गरेको उल्लेख गर्दै ७७ प्रतिशतभन्दा बढी आत्महत्याका घटना नेपाल जस्ता कम तथा मध्यम आय भएका देशहरूमा हुने उल्लेख गरेको छ। नेपालमा अहिले प्रत्येक दिन औसत २० जनाले आत्महत्याको कारण ज्यान गुमाउने गरेका छन् । समयमै मनोपरामर्श दिन नसक्दा धेरै जसो आत्महत्याका घटना घट्ने गरेको मानसिक रोग विशेषज्ञहरूले बताउने गरेका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ