नयाँ बानेश्वरदेखि पुरानो बानेश्वरसम्म सुर्तीजन्य पदार्थ सेवनमा रोक लगाउने तयारी


काठमाडौं । नयाँ बानेश्वर चोकदेखि पुरानो बानेश्वर चोकसम्म सुर्तीजन्य पदार्थ सेवनमा रोक लगाउने काठमाडौं महानगरपालिकाले तयारी थालेको छ ।

नयाँ बानेश्वरबाट सुरू भएको सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवन निषेधित क्षेत्रलाई पुरानो बानेश्वरसम्म विस्तार गर्ने काठमाडौं महानगरपालिकाको तयारी छ । काठमाडौं महानगरपालिका वडा नम्बर १० को समन्वय सार्वजनिक स्थलमा धूम्रपान तथा सूर्तीजन्य पदार्थ सेवनमा रोक लगाउन खोजिएको हो ।

काठमाडौं महानगरपालिका वडा नम्बर १० का वडा सदस्य नरोज अर्यालका अनुसार नयाँ बानेश्वर चोकदेखि पुरानो बानेश्वर चोकसम्म पर्ने बाटो, स्कुलसहितका सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ बिक्रीवितरणमा कडाइ गर्ने तयारी भइरहेको छ । पहिलो चरणमा यो क्षेत्रको सार्वजनिक स्थलमा चुरोटलगायतका सुर्तीजन्य पदार्थ बिक्रीवितरण तथा सेवनमा कडाइ गरिने उनले जनाए । २०६८ सालमै बनेको कानुन कार्यान्वयनमा ल्याउन खोजिएको वडा सदस्य अर्यालको भनाइ छ ।

नयाँ बानेश्वर व्यापार व्यवसायी संघका अध्यक्ष नवीन लुईटेलले बुधबार बिहान ७ः१५ बजे र्‍याली निकालेर सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ बिक्रीवितरण तथा सेवन गर्न नपाइने जानकारी गराउन खोजिएको बताए । त्यसका लागि सम्पूर्ण तयारी भइरहेको उनको भनाइ छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर १० को संयोजकत्व र समन्वयमा विभिन्न संघसंस्था मिलेर सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ बिक्रीवितरण तथा सेवनमा कडाइ गरिएको अध्यक्ष लुईंटलले जानकारी दिए । त्यसपछि बानेश्वर क्षेत्रमा यो अभियानले निरन्तरता पाउने उनको दाबी छ ।

‘भोलि साउन ३ गते बुधबार, बिहान ७:१५ बजे, कामपा वडा  नम्बर १० को संयोजकत्वमा बानेश्वर क्षेत्रका सार्वजनिक स्थलहरुमा सुर्तीजन्य पदार्थ सेवन निषेध गर्ने अभिप्रायले आयोजित पहिलो चरणको कार्यक्रम अन्तर्गतको पुरानो बानेश्वरदेखिको जनचेतनात्मक  कार्यक्रममा सक्रिय सहभागिताको लागि सबै जनप्रतिनिधि, संघसंस्था, व्यवसायी, स्थानीयहरुमा हार्दिक अनुरोध छ ।’, अध्यक्ष लुईंटेलले भने । यो अभियानलाई सार्थकता दिन अध्यक्ष लुईंटेल निरन्तर लागिपरेका छन् ।

 

क्याटेगोरी : समाचार
ट्याग : #नवीन लुईटेल

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ