धूम्रपान तथा सुर्तीजन्य पदार्थ निषेधसम्बन्धी जनचेतनामूलक र्‍याली


काठमाडौं । बुधबार बिहान धूम्रपान तथा सुर्तीजन्य पदार्थ निषेधसम्बन्धी जनचेतनामूलक र्‍याली आयोजना गरिएको छ ।

काठमाडौंको पुरानो बानेश्वरबाट बिहान ७:१५ बजेदेखि उक्त र्‍याली सुरू भएको हो । उक्त र्‍याली पुरानो बानेश्वर चोकबाट सुरु भएर नयाँ बानेश्वर चोकमा पुगेर अन्त्य भएको काठमाडौं महानगरपालिका वडा नम्बर १० का वडा सदस्य नरोज अर्यालले जानकारी दिए । काठमाडौं महानगरपालिका वडा नम्बर १० ले उक्त र्‍यालीको संयोजन गरेको हो । नयाँ बानेश्वर चोकमा पुगेर उक्त र्‍याली कोणसभामा परिणत भएको थियो ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको सार्वजनिक स्थलमा धूम्रपान तथा सर्तीजन्य पदार्थ निषेध गर्ने घोषित नीति अन्तर्गत उक्त अभियान बानेश्वरबाट सुरु भएको हो । काठमाडौं महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष रामकुमार केसीको अगुवाइमा श्रावण १ गतेदेखि बानेश्वरको सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवनमा रोक लगाइएको हो । त्यसैलाई निरन्तरता दिन आज जनचेतनामूलक र्‍याली निकालिएको छ । धूम्रपान तथा सुर्तीजन्य पदार्थ निषेधसम्बन्धी जनचेतनामूलक र्‍याली सफल पार्न विभिन्न संघसंस्थाले साथ दिएको नयाँ बानेश्वर व्यापार व्यवसायी संघका अध्यक्ष नवीन लुईटेलले जानकारी दिए । उनका अनुसार नयाँ बानेश्वर व्यापार व्यवसायी संघसहित सामुदायिक सेवा समिति तथा सामुदायिक प्रहरी सेवा केन्द्र बानेश्वर-१० पनि उक्त अभियानमा संलग्न रहेको छ । त्यस्तै थर्ड आई युवा क्लब, स्वास्थ्य स्वयंसेविका बानेश्वर-१०, महानगर प्रहरी बल, प्रहरी वृत्त, नयाँ बानेश्वर र नयाँ मार्ग विकास समिति पनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ निषेधसम्बन्धी जनचेतनामूलक र्‍यालीमा सहभागी रहेको लुईटेलले बताए ।

धूम्रपान तथा सुर्तीजन्य पदार्थ निषेधसम्बन्धी जनचेतनामूलक र्‍याली भव्यताका साथ सम्पन्न भएको वडा सदस्य अर्यालले जनाए । र्‍यालीमा सयौंको सहभागिता रहेको थियो । अबदेखि नयाँ बानेश्वर चोकदेखि पुरानो बानेश्वर चोकसम्म धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गरे कडा कारबाही हुने वडा सदस्य अर्यालको भनाइ छ ।

फुटपाथमा व्यापार नियन्त्रणदेखि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन निषेधमा समेत काठमाडौं महानगरपालिका वडा नम्बर १० अगाडि र सफल देखिएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ