जुम्लामा पनि एक महिनादेखि सिटी स्क्यान सेवा ठप्प, स्वास्थ्यमन्त्रीलाई कुरीकुरी !


काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत आफ्नो उपलब्धि घोषणा गर्दै हिँडिरहेका छन् । त्यसमा पनि वर्षौंदेखि निशुल्क रहेका सरकारी अस्पतालका बेडलाई आफूले निशुल्क गरेको घोषणा गरेका छन् । पहिल्यैदेखि लागू भएपनि मन्त्रीको निर्देशनलाई कर्मचारीले काट्न सकेनन् । मन्त्रीले जेजे राख्न लगाउँछन् उनीहरूले घोषणा गर्दै हिँडेका छन् । समाचारहरू त्यही अनुसार बजारमा आएका छन् । 

तर, कयौं दिनदेखि सिटी स्क्यान सेवा बन्द भएको राजधानी र बाहिर उनको ध्यान पुगेको छैन । जहाँ समस्या छैन त्यहाँ काम देखाउने तर समस्या भएको स्थानमा पुग्नै नखोज्ने मन्त्रीको रणनीति गज्जबकै छ । काठमाडौंमा मात्र हैन, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा विगत एक महिनादेखि सिटी स्क्यान सेवा बन्द छ । दैनिक १० देखि १५ जना भुइँ मान्छेले पाउँदै आएको सेवामा ब्रेक लागेको छ । प्रतिष्ठानका एक अधिकारीले बताए अनुसार उपकरण बनाउने विषयमा कुनै चासो देखाइएको छैन । 

सेवा नपाएर यहाँका गरिब जनता ठूलो धनराशी खर्च गरेर नेपालगञ्ज मेडिकल कलेज र काठमाडौंमा रिफर गरिएको चिकित्सकहरू बताउँछन् । तर, काठमाडौंमा पठाएका बिरामीहरूले पनि सेवा पाएका छैनन् । कयौं दिनदेखि यहाँका सबै सरकारी अस्पतालमा सिटी स्क्यान सेवा ठप्प भएको अवस्था छ ।
हुनत स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्यमा कायापलट गरेको सार्वजनिक रुपमा बताई सकेका छन् । यसो भन्दै गर्दा हामीले सेवा पाएनन् भन्नु भ्रम सृजना गरेको जस्तो मात्रै हुन्छ । तर, जनताको बोली बोल्ने कुरामा ढाकछोप चल्दैन भनेरै हामीले मन्त्रीको बोलीमा लगाम लगाउँने जमर्को गरेका हौं । 

स्वास्थ्यमन्त्री बस्नेत छड्के गर्ने भन्दै ठूला सरकारी अस्पतालमा पुगे । राजधानी मात्र हैन देशभरका सरकारी अस्पतालमा छड्के गर्न पुगे, तर उनले के छड्के गरे हामी आश्चर्यमा छौं । देशभरका सिटी स्क्यान सेवा कयौं दिन देखि ठप्प छन् । गरिबहरू सेवा नपाएर तड्पी रहेको कुरा चिकित्सकहरूले बताइरहेका छन् । हिजो मात्रै स्वास्थ्य लाइभले राजधानीका सबै अस्पतालमा सिटी स्क्यान सञ्चालनमा नरहेको विषय सार्वजनिक गरेको छ । तर, पनि मन्त्रीलाई झुटा कुरा बोल्ने र जनता ढाँट्ने कुरामा मात्रै चासो छ । जनताले सेवा नपाएको विषय आँखै अगाडि हुँदा सम्म बोली बन्द छ ।  

‘मन्त्री जी, सरकारी अस्पतालका बेडहरू पहिल्यै नि:शुल्क हुन् ! यसमा प्रचारबाजी जरुरी नै छैन । यदि कामै गर्न स्वास्थ्यमा आएको भए कयौं दिनदेखि बन्द रहेका सिटी स्क्यानलगायत अन्य उपकरणको छानबिन गरी जनतालाई सहज सेवाको योजना ल्याउनुहोस् । जनता बेडको न्यून रकम तिर्न नसक्ने छैनन् । बरु ५ हजार रुपैयाँभन्दा मुनिका सबै शल्यक्रिया निशुल्क गर्नुहोस् ।’, जुम्लाका एक स्वास्थ्यकर्मीले स्वास्थ्य लाइभसँग भने, ‘जुम्ला आफैमा धेरै पिछडिएको क्षेत्र हो । त्यसमा पनि यही हुने सेवाका लागि गरिब बिरामी राजधानी रिफर गर्नुपर्दाको पीडा हामी सम्झन सक्दनौं ।’,

क्याटेगोरी : समाचार
ट्याग : ##CT Scan, #स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ