कर्मचारी सरुवाको हल्लाले मन्त्रालयको गति कमजोर बनाउँन चलखेल


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विगत लामो समय देखि कर्मचारी सरुवाको तनाव झेल्नु परेको थियो । छिनछिनमा कर्मचारी परिवर्तन गर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका काम कारबाही प्रभावित मात्रै भएनन् स्वास्थ्य क्षेत्रका सूचकांक फिल्डमा हैन कोठामा बसेर बनाउँनु परेको थियो ।

कर्मचारीहरूको बिचमा आपसी द्धन्द्, समन्वयको अभाव, ज्ञानको कमी लगायत थुप्रै समस्याले गति लिन सकेको थिएन । तर, बिस्तारै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा “टिम वर्क” मिल्यो । हालको टिम कुनै पनि राजनीतिक आस्थासँग मेल खाने छैनन् । राजनीतिमा भन्दा पनि कर्मचारीले आफ्नो धर्म निभाएकै कारण स्वास्थ्य क्षेत्रले धेरै प्रगति हासिल गर्न सकेको हो अधिकारीहरू भन्छन् ।

बिजुली गतिमा काम गरिरहेका कर्मचारीलाई राजनीतिक हस्तक्षेप गरेर तितर बितर बनाउने पक्षमा हालका मन्त्री मोहन बहादुर बस्नेत लागेको बुझिएको छ । चाकडी भन्दा कामलाई माथि राखेर खटेका कर्मचारी हटाएर राजनीतिक आस्थाका कर्मचारीलाई बिभिन्न शाखा महाशाखाको नेतृत्व सुम्पिने तयारी भइरहेको बुझिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टिक भत्काउनु भनेको जनताको पक्षमा काम नगर्नु हो ।

स्वास्थ्यलाई अस्थिर बनाएर त्यही अस्थिरतामा चरम फाइदा लिन चाहने सचिवालयका कर्मचारी मन्त्रालयका कर्मचारी सरुवा गर्न मरिहत्ते गरेका छन् । उनीहरूलाई कसले के काम गरिरहेको छ मतलब छैन् । एउटा मात्रै ध्यान छ, हाम्रो पार्टीका मान्छेले अवसर पाएनन् । पछिल्लो समय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आशा लाग्दा टिम जमेका छन् ।

सबैले सहजै समस्या राख्न सक्ने सचिव डा रोशन पोखरेल पाएका छन् । प्रमुख विशेषज्ञमा डा संगीता कौशल मिश्रा, डा विकास देवकोटा र डा टङ्क बराकोटी छन् । उनीहरू पनि आफ्नो सेवाको अवधिमा केही नयाँ गरेर देखाउन अवसरको खोजीमा छन् । तर, उनीहरूको क्षमता र योग्यताको मूल्यांकन नगरी मन्त्रीले एउटा निजी बैंकमा कर्मचारी ल्याएर स्वास्थ्य सुधारको खाका कोर्न लगाएका छन् । यस्ता व्यक्तिले कोरेको खाकाले स्वास्थ्य प्रणाली कता पुग्छ हेर्न बाँकी छ ।

त्यस्तै मन्त्रालयका महाशाखा सम्हालेका कर्मचारी सबैका प्यारा छन्, त्यो पनि कामले मात्रै । अन्तराष्ट्रिय समन्वय महाशाखा अब्बल महिलाले नेतृत्व गरेकी छन् । कुनै पनि राजनीतिक छहारीमा नरहेकी यशोधा अर्याल जनताको काममा लिप्त् छन् । नीति योजना महाशाखा प्रमुख डा कृष्ण प्रसाद पौडेल एक क्षमतावान व्यक्ति हुन् । उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका विभिन्न महाशाखामा बसेर आफूलाई पुष्टि गरेका छन् । उनको योजनाले स्वास्थ्यमा धेरै काम गरेको छ । हरेक अफ्ठेरोमा पनि सम्यमताका साथ नेतृत्वलाई सहयोग गरेर निकास निकाल्न सक्ने खुबी भएका पौडेल कुनै पनि पार्टीमा आवद्ध छैनन् ।

गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा मदन कुमार उपाध्याय हसिलो स्वभावका कर्मचारी भित्र पर्छन् । कुनै पार्टी प्रति लगाव नदेखाएका उपाध्याय स्वास्थ्य सेवा परिवर्तनको पहरेदार हुन् । जनताको स्वास्थ्यमा गुणस्तरीय सेवा कसरी दिन सकिन्छ भनेर हरेक समय चिन्तित भएर लाग्ने मध्येका एक हुन् उपाध्याय । पौडेल, उपाध्याय र अर्याल स्वास्थ्य धान्ने तीन खम्बा हुन् । कामका हिसाबले उनीहरू स्वास्थ्य सचिव डा रोशन पोखरेलका प्रमुख विश्वास पात्र समेत हुन् ।

जनसंख्या शाखाका सह सचिव रमेश कुमार केसी परिपक्क व्यक्ति हुन् । नेपालमा उनी जस्तो सह सचिव कमै छन् । सादगी र क्षमतावान व्यक्तिमा पर्छन् केसी तर, मन्त्रालयले उनको ज्ञान र सीप प्रयोग गर्न जानेन । उनी नियम कानुन बाहिर जान मान्दैनन् । विभिन्न जिल्लामा सिडियो भइसकेका व्यक्तिको ज्ञान र सीपलाई उपयोग गर्न नसक्नु दुखद छ ।

कर्मचारी प्रशासन शाखाका सह सचिव तुलसी गौतम मन्त्रीले भनेको गर्छु भनेर लागेका छन् । उनी मन्त्रीका एस मेन हुन् । मन्त्री सफल बनाउँन उनको हातमा छ । त्यही भएर अगाडि बढेका छन् । मन्त्री सफल बनाउँन उनको प्रमुख उद्देश्य रहेको बुझिएको छ । स्वास्थ्य मन्त्रीको सचिवालयका एक अधिकारीले बताए अनुसार मन्त्रालयका केही कर्मचारी चलाउँन बाहिरी दबाव व्यापक मात्रामा आएको छ । त्यो पनि कांग्रेस निकट कर्मचारीहरुबाट ।

राम्रा फालेर मन्त्रीले कस्ता ल्याए
कर्मचारी प्रशासन शाखामा उप सचिव कृष्ण थापा ल्याइएको छ । मोहन बहादुर बस्नेतले महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयबाट कृष्ण थापालाई ल्याएका छन् । उक्त मन्त्रालय स्रोतका अनुसार महिला मन्त्रालयमा उनको निकै रजगज थियो ।
तत्कालीन मन्त्री उमा रेग्मी हुँदा मन्त्रीको निजी सचिव र कर्मचारी प्रशासन चलाएका थिए । त्यस समयमा दुवैले राम्रै आर्थिक लाभ लिएको चर्चा मन्त्रालयमा छ ।

स्वास्थ्यमा पनि बिभिन्न सप्लायरसँग भेटघाट गर्ने र कुरा राख्न अग्रपङ्तिमा जाने गरेको सूचना स्वास्थ्य लाइभमा आएको छ । यस बारेमा हामी थप अध्ययन गर्नेछौ । हाल महिला मन्त्रालयबाट हटाउन खोजेपछि एएनपी साउदको ज्वाइँ भनेर उनी स्वास्थ्यमा हाम फालेको अधिकारीहरू बताउँछन् ।

त्यस्तै अर्का नयाँ उप सचिवमा बिक्रम पाण्डे छन् । उनलाई आन्तरिक शाखामा राखिएको छ । कर्मचारी प्रशासन र आन्तरिकमा राम्रो काम गरेका इमानदार कर्मचारी हटाएर विगत राम्रो नभएका कर्मचारी ल्याएर राखिएको छ । महिला बालबालिका तथा समाजकल्याण मन्त्रालय स्रोतका अनुसार थापा र पाण्डे जहाँ गएपनि सँगसँगै हिड्ने गर्छन् । उनीहरू दुवैको विगत राम्रो छैन ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ