ओमका अध्यक्ष डा. आनन्द श्रेष्ठको परिवारले कसरी हडप्यो महादेव मन्दिरको जग्गा ?


काठमाडौं ।  राजतन्त्रमा राज परिषद् स्थायी समितिकी सदस्य थिइन् दिलकुमारी श्रेष्ठ । उनी नेपालकै प्रतिष्ठित चिकित्सक एवं ओम अस्पतालका अध्यक्ष डा. आनन्दप्रसाद श्रेष्ठकी आमा हुन् । दिलकुमारी (मेची आमा)को राजपरिवारसँग निकै राम्रो उठबस थियो ।

नेपाल महिला संघको मेची अञ्चल अध्यक्ष हुँदै राजालाई नै सल्लाह दिने राज परिषद् स्थायी समिति सदस्य बन्न सफल भइन् दिलकुमारी । त्यसैको फाइदा उठाउँदै मेची आमाले काठमाडौंको मुटु नयाँ बानेश्वरको झन्डै १ रोपनी महादेव मन्दिरको जग्गामा महिला आदर्श सेवा केन्द्र खोलिन् । २०४२ सालमा उक्त महिला आदर्श सेवा केन्द्रको उद्‌घाटन बडामहारानी ऐश्वर्यबाट भएको हो । भद्रपुर झापाकी चर्चित महिला मेची आमाको नाम बेचेर सूर्यकुमारीहरूले कमाउ धन्दा चलाउँदा उनको चर्चा समेत विवादमा परेको छ ।

वडामहारानीबाट महिला आदर्श सेवा केन्द्रको उद्‌घाटन भएको भन्दै मेची आमाले बानेश्वरको कृष्ण टावर विपरीत दिशामा रहेको महादेव मन्दिरको सम्पत्ति हडपेर भवन निर्माण गरिन् । उनको शेखापछि बुहारी (डा. आनन्दकी श्रीमती) सूर्यकुमारी श्रेष्ठ महिला आदर्श सेवा केन्द्रको अध्यक्ष बनिन् । उनी अध्यक्ष बनेपछि महादेव मन्दिरको जग्गा हडपेर बनाइएको संरचना भाडामा लगाएर गोरख धन्दा चलाउने काम सुरु भयो । स्थानीयलाई सिद्धेश्वर मन्दिर दर्शन गर्न जाँदा धरपकड सुरु गरियो । अदालतबाट निषेधज्ञा ल्याएर स्थानीय पुरुषहरूलाई मन्दिर प्रवेशमा निषेध लगाइयो । महिलालाई सिलाइ तालिम दिने भनेर खोलिएको उक्त संस्थामा बानेश्वर र बुद्धनगरका स्थानीय महिलालाई अहिलेसम्म सहभागी गराइएको छैन । उक्त विषयमा आफूहरूले आन्दोलन गरेपनि शक्तिको आडमा दबाउने काम भएको स्थानीय महिलाहरूले स्वास्थ्य लाइभसँग गुनासो गरे । सूर्यकुमारीको समूहको हर्कतका कारण महादेव मन्दिर प्रवेश गर्न अझै स्थानीय पुरुषहरू डराउँछन् ।

महादेव मन्दिरको जग्गा हडपेर बनेको महिला आदर्श सेवा केन्द्रको दुई तले भवनबाट सूर्यकुमारीको समूहले जेनिश पेन्ट्स, डिप्रेस लघुवित्त वित्तीय संस्थालगायतबाट मासिक १ लाख बढी भाडा उठाउँदै आएको छ । भगवानलाई अलपत्र पारेर उक्त ठाउँमा सूर्यकुमारीको गिरोहले भाडा असुली धन्दा चलाइरहेको हो ।

आधा अर्बको सम्पत्ति अनाधिकृत रुपमा कब्जा गरेर मासिक १ लाख भाडा असुल्दै आएको सूर्यकुमारीको समूहले महादेवमाथि नै धावा बोलेको देखिन्छ । भगवान महादेवको मन्दिर गतिलो बनाउने भनेर २०७३ मै बानेश्वर-बुद्धनगरका स्थानीयले श्रीमद्भागवत ज्ञान महायज्ञ समेत लगाएका थिए । उक्त महायज्ञमा १७ लाख रुपैयाँ पैसा उठेको थियो । तर, सूर्यकुमारीहरूको अवरोधका कारण महादेवको मन्दिर मात्र होइन उक्त १७ लाख रुपैयाँ पनि अहिलेसम्म अलपत्र छ ।

‘२०४३ सालतिर होला पण्डित नारायण पोखरेलले काठमाडौंको टुडिखेलमा सप्ताह श्रीमद्भागवत श्रवण कार्यक्रम गर्दा तत्कालीन राजा वीरेन्द्रले उद्‌घाटन गरेको । उनले राजाले उद्‌घाटन गरेको गरेको भनेर टुडिखेल सदाको लागि कब्जा गर्न मिल्छ ।’, महिला आदर्शको भवनतिर देखाउँदै स्वास्थ्य लाइभसँग एक स्थानीयले भने ।

गंगादेवी चुचोल टोल सुधार समितिले अनधिकृत कब्जा गरी बिना नक्सा बनेका टहरा भत्काइ महादेव मन्दिर परिसर खाली गराउन काठमाडौं महानगरपालिकामा निवेदन दिएको थियो । काठमाडौं महानगरपालिका वडा नम्बर १० मा पर्ने महिला आदर्श केन्द्रको अनाधिकृत संरचना भत्काउन काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख विद्यासुन्दर शाक्यले २०७५ असोज ७ गते आदेश दिएका थिए । त्यो आदेशविरुद्ध महिला आदर्शका प्रतिनिधिहरू पुनरावेदन गर्न काठमाडौं जिल्ला अदालत पुगे । तर, जिल्ला अदालतले २०७९ साउन ३१ गते काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख विद्यासुन्दर शाक्यले अनधिकृत संरचना भत्काउने गरी दिएको आदेश सदर गर्‍यो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेले महिला आदर्शको भवन भत्काउने गरी काठमाडौं महानगरपालिकाबाट भएको आदेश सदर गरेपनि १ वर्षसम्म अनधिकृत संरचना भत्किएको छैन । उल्टै महादेवको मन्दिरमाथि हमला गर्न सूर्यकुमारीको समूह कानुनी छिद्र खोज्दै उच्च अदालत पाटन पुगेको छ । काठमाडौं महानगरपालिकाको कर्मचारीको सेटिङमै सूर्यकुमारीको समूह उच्च अदालत गएको स्थानीयहरूको बुझाइ छ ।

गंगादेवी चुचोल टोल सुधार समितिका अध्यक्ष किशोर थापाले महिला आदर्शको अनधिकृत संरचना जोगाउन टंक श्रेष्ठले वडा र महानगरपालिकासम्म सेटिङ मिलाएको सुनाए । टंकले ‘गुण्डा’ ल्याएर स्थानीयहरूलाई थर्काउने काम समेत गर्दै आएको उनको आरोप छ । ओम अस्पतालका सञ्चालक समेत रहेका टंकको दादागिरीले स्थानीय समेत आजित बनेका रहेछन् । मालपोतको खरिदार हुँदै ओम अस्पतालको मालिक बनेका उनको विषयमा स्वास्थ्य लाइभले थप खोजी गर्ने छ । टंकहरू कै आडमा राजतन्त्रदेखि गणतन्त्रसम्म महादेव मन्दिरको जग्गामा सूर्यकुमारीहरूको रजगज चलिरहेको छ ।

ओम अस्पतालका सञ्चालक टंक श्रेष्ठ

काठमाडौं महानगरपालिका वडा नम्बर १० कित्ता २३९ को क्षेत्रफल १४ आना १ दाम जग्गा महादेव मन्दिरको भएपनि ४० वर्षदेखि सूर्यकुमारीहरूको रजाइँ जारी छ । काठमाडौं महानगरपालिका र जिल्ला अदालतबाट भत्काउने आदेश भएपनि उच्च अदालतमा रहेको मुद्दा देखाउँदै भाडा खाने काम जारी रहेको पाइन्छ । स्थानीयहरू उक्त ठाउँमा महादेवको एउटा सानो मन्दिर र बाँकी पार्कसहितको खुला ठाउँ भएको बिश्राम स्थल बनाउने पक्षमा छन् । तर आफूहरूको अभियानलाई काठमाडौं महानगरपालिकाले साथ नदिएको उनीहरूको गुनासो छ ।

उच्च अदालतबाट महिला आदर्श सेवा केन्द्रको भवन भत्काउन रोक्ने कुनै निषेधाज्ञा र अन्तरिक आदेश जारी भएको नदेखिए पनि सूर्यकुमारीहरूको पहुँच र प्रभावमा अनधिकृत भवनमा जोगिएको छ । कानुनी छिद्र खोजेर मुद्दा दर्ता गराएको भरमा महानगरले सूर्यकुमारीहरूको अवैध धन्दामा आँखा चिम्लिएको छ ।बालेनको डोजर चल्न सकेको छैन । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले काठमाडौं जिल्ला अदालतको फैसला कार्यान्वयन गर्न तोक लगाएको गंगादेवी चुचोल टोल सुधार समितिको निवेदन समेत काठमाडौं महानगरपालिकाको कानुन विभागबाट गायब पारिएको समितिका पदाधिकारीहरूको दाबी छ ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
ट्याग : #ओम अस्पतालका अध्यक्ष आनन्दप्रसाद श्रेष्ठ, #ओम अस्पतालका सञ्चालक टंक श्रेष्ठ, #डा. आनन्द श्रेष्ठ, #महादेव मन्दिर, #महिला आदर्श सेवा केन्द्र, #सूर्यकुमारी श्रेष्ठ

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ