जहाँ खानेपानीको अभाव त्यही डेंगीको महामारी, महामारी नियन्त्रणमा स्वास्थ्यमन्त्री असफल


काठमाण्डौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेत डेंगी संक्रमण नियन्त्रण गर्न असफल देखिएका छन् । सन् २०१९ र २०२२ मा महामारीको रुप लिएको डेंगीले चार वर्ष पछि पुन पास्सा पल्टाएको छ । पहिलो पटक सन् २०१९ मा सुनसरीको धरानमा डेंगी संक्रमणले महामारीको रुप लिएको थियो । त्यस अगाडी छिटफुट केसहरु देखिएका थिए । सन् २०२२ मा राजधानीमा डेंगी संक्रमणले महामारीको रुप लिएको थियो । महामारीको रुप लिन थालेको चार वर्ष पछि फेरी धरानबाट आउटब्रेक भएको छ ।

जहाँ पानीको अभाव छ त्यही डेंगी संक्रमणले महामारीको रुप लिएको छ । धरानमा पानीको हाहाकार छ । एक वर्ष देखि पानी ल्याउन त्यहाका मेयर हर्क साङपाङ् दिनरात खोला र खोल्सामा दौडिरहेका छन् । यस्तो पानीको चरम अभाव भएको स्थानमा समेत डेंगी संक्रमणले महामारीको रुप लिएको छ ।
स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्र प्रसाद मरासिनीका अनुसार हिजो सम्म ४ हजार २८९ जनामा डेंगी संक्रमण देखिएको छ । तीन जनाले ज्यान गुमाएका छन् । यो विगत आठ महिनाको तथ्यांक हो । ज्यान गुमाउनेहरु सबै धरानका हुन ।

नेपालमा सन् २००४ देखि डेंगी देखिन थालेको हो । पहिलो वर्ष एउटा केस भेटिएकोमा गतवर्ष २०२२ मा सबैभन्दा बढी अर्थात कुल ५४ हजार ७८४ मा डेंगी देखिएको थियो । सन् २०२३ को जनवरी देखि जुलाई २४ सम्मको रिपोर्टमा नेपालमा कुल ४ हजार २८९ जनामा डेंगी संक्रमण भेटिएको छ ।

तीन जनाको लामखुट्टेले टोकेर मृत्यु भइसक्दा समेत स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले कुनै अभियान अगाडी बढाएका छैनन् । बरु महाशाखाको टोली दुई दिन अगाडी धरान पुगेको थियो । स्वास्थ्य मन्त्री बस्नेतले आफ्नो बिरोध नगर्ने र जे बोलेपनि राम्रो भन्ने, पत्रकार सम्मेलनमा प्रश्न फेस गर्न नसक्ने भएपछि आवश्यता अनुसार सुचना प्रवाह हुन सकेको छैन । बस्नेत महामारी नियन्त्रणमा पूर्णरुपमा असफल भएका छन् ।

देशभर डेंगी महामारीले धमाधम मान्छे मर्न थाल्दा समेत नियन्त्रणको ठोस खाका ल्याउनुको साटो फार्मेसी अनुगमनको नाममा प्रचारबाजीमा लागेको मन्त्रालय स्रोत बताउँछ । एक अधिकारीले भने, “अनुगमन आफैमा नराम्रो हैन, तर अहिले अनुगमन गरेर चर्चा कमाउँने भन्दा डेंगी महामारी नियन्त्रणमा ध्यान दिनु पर्छ ।”

सरकारको पछिल्लो रिपोर्ट अनुसार सबैभन्दा बढी सुनसरीमा कुल २ हजार ५४२ केश भेटिएको छ । धादिङमा ४०१, कास्कीमा २०५, दार्चुलामा १९०, काठमाडौँमा ८०, संखुवासभोमा ६४, म्याग्दीमा ५४ र कञ्चनपुरमा ५२ केश भेटिएको छ । यस्तै रुपन्देहीमा ४५ र मोरङमा ३८ जनामा डेंगी देखिएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ