स्वास्थ्य मन्त्रालयको महिला शौचालयमा न प्याड, न ढोकाको चुकुल, शौचगर्दा एक जना गोठालो सँगै
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या यस्तो मन्त्रालय हो, जहाँ हरेक नागरिकको स्वास्थ्य र सरसफाइको कुरा जोडिएको हुन्छ । हरेक दिन मन्त्रालयको भाइबर ग्रुप र रेडियो टेलिभिजन वा सामाजिक सञ्जालमा हेर्नुहोस् कुन न कुनै रोग, त्यसबाट बच्ने उपाय र सरसफाइको विषय आएकै हुन्छ ।
बाहिरबाट आउने सेवाग्राही र सरकारी कर्मचारीहरूलाई नै लाग्न सक्छ, यस्तो सन्देश दिने मन्त्रालयको सरसफाइ र व्यवस्थापन कति उत्तम होला ! तर, तपाइले सोचेको जस्तो स्वास्थ्य तथा जनसंख्या मन्त्रालय फिटिक्कै छैन । तपाई पिसाब फेर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा लुसुक्क छिर्दै हुनुहुन्छ भने एक जना गोठालो सँगै लिएर जानु होला ।
काठमाडौं यस्तो महानगर हो, जहाँ गोजीमा पैसा छैन भने तपाई पिसाब फेर्न पनि पाउनुहुन्न । सास फेर्नु, हाच्छिउँ गर्नु र खोक्नु झैँ दिसा र पिसाब फेर्नु तपाईंको नैसर्गिक अधिकार हो । त्यही अधिकार प्रयोग गर्न स्वास्थ्यमा छिर्दा एक जना गोठालो सँगै ल्याउनु जरुरी छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको महिला शौचालयमा चुकुल समेत छैन । ढोका खुल्लै छन् । चुकुल नभएकै कारण पिसाब फेर्न जाँदा एक जना सुरक्षाका लागि बाहिरै मान्छे राख्नुपर्ने अवस्था छ ।
एक हप्ता अगाडिको कुरा हो । भोजपुरबाट एकजना साथी पहिलो पटक काठमाडौं आएकी थिइन् । उनी डाइबिटिजकी रोगी थिइन् । माइतीघर चोकमा आएपछि उनलाई पिसाब लाग्यो । काठमाडौंमा पिसाब लाग्नासाथ फेर्ने ठाउँ छैन । नजिकै सरकारी कार्यालय ( स्वास्थ्य मन्त्रालय ) भएकाले उनी त्यहाँ प्रवेश गरिन् । स्वास्थ्य मन्त्रालयको महिला शौचालयमा चुकुल नभएपछि सुरक्षाका लागि गोठालो राखेर पिसाब फेर्नु परेको उनको गुनासो छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा स्वास्थ्य सम्बन्धी सचेतना सन्देश कयौं सुनियो तर, मन्त्रालयको हबिगत देख्दा सहयोग संकलन गर्नुजस्तो देखियो उनले थपिन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट ८० अरब भन्दा बढी छ । एउटा चुकुलको मूल्य बढीमा १ सय पर्छ । दिनमा कयौँले पिसाब फेर्ने मन्त्रालयको महिला शौचालयको ढोका चुकुल नभएर ह्वाङ्ङ छ ।
बाहिर निस्किएर उनले भनिन्, ‘कस्तो मन्त्रालय रैछ पिसाब फेर्न जाँदा पनि गोठालो सँगै लिएर जानु पर्ने । खाजा खाँदा पुन त्यही कुरा कोट्याउँदै भनिन्, ‘स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेत हैन ? जता ततै अनुगमन गर्न हिँड्छन् भन्ने सुनिन्छ तर, उनकै मन्त्रालय महिला मैत्री देखिएन । यस्तो वाहियात पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय हुन्छ ? के के न स्वास्थ्य मन्त्रालय भनेर छिरेको जाबो मुत्ने ठाउँको चुकुल समेत रहेनछ ।’
शौचालय सफा र स्वच्छ नभए स्वस्थ मानिस पनि बिरामी भएर फर्किन्छ । ‘पिसाब फेर्ने र केही निमेष सुस्ताउन पाइने भएकाले शौचालयलाई रेस्ट रुम भनिएको हो । स्वास्थ्य मन्त्रालयको शौचालय त रेस्ट गर्ने हैन, शौचालयबाट कहिले भागौँ भन्ने हुन्छ । अझ गोठालो सँगै नहुने कर्मचारीलाई समेत पिसाब फेर्नकै सास्ती छ ।
स्वास्थ्य मन्त्रालयको शौचालय बारे साथीको मात्र हैन, त्यहाँका सबै महिला कर्मचारीको समेत पीडा हो । सत्य हो, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा महिला कर्मचारीलाई पिसाब फेर्नकै सास्ती छ । यति मात्र हैन स्वास्थ्य मन्त्रालयका शौचालयमा प्याड, कन्डम लगायतका साधनको उपलब्धता हुनु पर्छ, त्यो समेत छैन ।
क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
तपाईको प्रतिक्रिया दिनुहोस