बीमा बोर्डको अध्यक्ष नियुक्ति नगर्दा स्वास्थ्यमन्त्रीले २५ करोड रकम गुमाए


काठमाडौं । २६ हप्ता अगाडि स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा सेनेन्द्रराज उप्रेतीले पदबाट राजीनामा दिएका थिए । पूर्व स्वास्थ्य तथा जनसंख्या सचिव समेत रहेका डा उप्रेतीले स्वास्थ्यमन्त्री पदम गिरीसँगको असहमति पछि पदबाटै राजीनामा दिएका थिए । 

निजी स्वास्थ्य संस्थालाई सेवा बापतको रकम भुक्तानीको विषयमा मन्त्री र अध्यक्ष बीच मनमुटाब थियो । २६ हप्ता अगाडि राजीनामा दिएका उप्रेतीको राजीनामा सरकारले स्वीकृत गरिसकेको छ । तर, अहिले सम्म नयाँ अध्यक्ष पठाएको छैन । जसले गर्दा बीमाका महत्वपूर्ण काम ठप्प छन् । 

स्वास्थ्य बीमा कार्यक्रम स्वास्थ्य सेवा उपयोगको क्रममा हुने नियोजित खर्चको जोखिमलाई अग्रिम व्यवस्थापन गर्दै वित्तीय संरक्षण प्रदान गर्ने अवधारणा अन्तर्गत सरकारले ल्याएको सामाजिक सुरक्षाको एक महत्वपूर्ण कार्यक्रम हो । 

समस्त नेपाली नागरिकलाई सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न र स्वास्थ्य सेवा उपभोगमा सुधार ल्याउनका लागि सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यका साथ २०७२ सालमा सुरुवात भएको हो । यस कार्यक्रमले सन् २०३० सम्ममा दिगो विकास लक्ष्य प्राप्त गर्न महत्वपूर्ण भूमिका खेल्ने आशा लिएको छ । 

हाल सम्म ७० लाख बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका छन् । उनिहरुबाट प्रिमियमका रुपमा हाल सम्म ९ अरब बढी रकम उठेको बीमाका अधिकारीहरू बताउँछन् । तर, अहिले अध्यक्ष नभएकाले महत्वपूर्ण निर्णय गर्न बीमा बोर्डले सकेको छैन । अधिकारीहरूले बताए अनुसार ठूला र महत्वका निर्णयहरू अध्यक्षको अभावमा रोकिएका छन् । अध्यक्षको उपस्थिति बिना कुनै पनि फायलमा साइन गर्न सदस्यहरू डराएका छन् । 

बीमा बोर्डले कोषमा जम्मा भएको रकम ब्याजमा लगाउँने कानुनी ब्यवस्था अनुसार कार्यविधि बनेको छ । उक्त कार्यविधि अध्यक्षको अभावमा कार्यान्वयनमा आउन सकेको छैन । अध्यक्ष भएको अवस्थामा ५ महिनाको ब्याज लिन सकिन्थ्यो । ठुलो रकमको दैनिक ब्याज जम्मा हुने भएकाले २५ करोड रुपैयाँ यस ५ महिनाको बिचमा संकलन गर्न सकिन्थ्यो एक अधिकारीले भने ।

‘हामीले ब्याजमा लगाउँने कुरा पनि गरेका थियौं, एक अधिकारीले भने, ‘अर्थ मन्त्रालयको प्रतिनिधिले अध्यक्षको सहभागिता बिना ब्याजमा लगाउन सहमति नजनाए पछि रोकिएको हो ।’ २५ करोड ब्याजबाट उठ्दा बीमा बोर्डको सबै खर्च धान्ने थियो । समयमा अस्पतालहरूको भुक्तानी पनि त्यही ब्याजको रकमबाट हुने अर्का कर्मचारीले बताए । 

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ