स्वास्थ्य लाइभ फलोअप

स्वास्थ्य भवनदेखि बार्दली रेष्टुरेन्टसम्म आज रेखाङ्कन


काठमाडौं । धोबीखोला करिडोरको थापागाउँस्थित वडा स्वास्थ्य भवनदेखि बार्दली रेष्टुरेन्टसम्मको सरकारी जग्गा आज रेखाङ्कन हुने भएको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर१० का वडा सदस्य सतिश तण्डुकारका अनुसार नापी र महानगरपालिकाको टोलीले उक्त जग्गा आज रेखाङ्कन गर्दै छ । दिउँसो ३ बजे रेखाङ्कन गर्ने वडा सदस्य तण्डुकारले जनाए । उक्त जग्गाको रेखाङ्कन गरेसँगै अनधिकृत संरचनामा महानगरको डोजर चल्ने छ ।

धोबीखोला करिडोरको उक्त ठाउँमा झन्डै १ रोपनी सरकारी जग्गा व्यक्तिको कब्जामा रहेको छ । उक्त जग्गामा अनधिकृत संरचना बनाएर ग्यारेजदेखि खाजा घरसम्म सञ्चालनमा रहेका छन् । भूमाफियाहरुले सिंहदरबारको आँखै अगाडि रहेको सरकारी जग्गामा अनधिकृत संरचना बनाएर वर्षौंदेखि लाखौं भाडा असुलिरहेका हुन् ।

स्वास्थ्य लाइभको खोजीमा काठमाडौं महानगरपालिका वडा नम्बर सिट नम्बर १०२-११४६-०६ कित्ता नम्बर २६४, २८९, ४१२ को झन्डै १ रोपनी सरकारी जग्गा भूमाफियाको कब्जामा रहेको फेला परेको थियो । उक्त विषयम स्वास्थ्य लाइभमा समाचार प्रकाशित भएपछि कित्ता नम्बर १६८ को आधा रोपनी सरकारी जग्गामा बनेको अनधिकृत संरचना हटेपनि बाँकी संरचना हटेको छैन ।

काठमाडौं महानगरपालिका वडा नम्बर १० ले बनाउन लागेको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको नयाँ भवनदेखि बार्दली रेष्टुरेन्टसम्मको अनधिकृत संरचना हटाउन बाँकी छ । यो विषयमा स्वास्थ्य लाइभले वडा कार्यालय र काठमाडौं महानगरपालिकालाई पटकपटक ध्यानाकर्षण गराउँदै आएको छ । ती अनधिकृत संरचना हटाउन अब भने वडा कार्यालय तातेको छ । वडा सदस्य तण्डुकारले सरकारी जग्गामा रहेका ती अनधिकृत संरचनामा २/३ दिनभित्रै डोजर लाग्ने जानकारी दिए ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ