काजमा बसेर ‘साढे’ पल्टिदै वीरका कर्मचारी, फिर्ता गर्न सक्लान मन्त्रीले ?


काठमाडौं ।  कर्मचारी समायोजन ऐन २०७५ अनुसार वीर अस्पतालबाट विभिन्न स्थानीय तह, प्रदेश तथा संघका विभिन्न स्वास्थ्य संस्थामा समायोजन, पदस्थापना, सरुवा तथा कामकाज गर्न खटाइएका ९१ जना  स्वास्थ्यकर्मी हालसम्म तोकिएको स्थानमा जान अटेर गरेका छन् । अझ कर्मचारी संगठनको नेतृत्व गरेकाहरू सरकारको निर्देशन पालना गर्ने भन्दा पनि पदाधिकारी प्रति आक्रामक देखिन थालेका छन् ।

सरकारको निर्देशन नमान्ने र पदाधिकारीको विरोधमा गठबन्धन बनाउने साढेहरु प्रति वीर नेतृत्व मात्र हैन स्वास्थ्य मन्त्री बस्नेत समेत कठोर बन्नु पर्छ । मन्त्रीले जुन अडान लिएका छन् उनले वीरमा त्यो पुरा गर्छन गर्दैनन् उनको सफलता त्यसमा मात्रै मापन गर्न सकिन्छ ।

सरकारको निर्देशन अटेर गर्ने साढेहरु वीर अस्पतालको अधिकांश कमाउ अड्डामा कार्यरत छन् । नहुनेहरु काज फिर्ता हैन कमाउ अड्डामा जान लबिङ गरिरहेका छन् । अझ कतिपय कर्मचारीले अदालतबाट स्टे अडर लिएर आएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत वैशाख २७ गते परिपत्र गरी समायोजन, पदस्थापन, कामकाज तथा सरुवा भएका कर्मचारीलाई रमना दिई सो को जानकारी ७ दिनभित्र दिन परिपत्र गरेको थियो । त्यसको पालना गर्न स्वास्थ्य मन्त्रालय लागेका छ ।

त्यस लगत्तै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री बस्नेतले तत्काल सरुवा पदस्थापन कामकाज गर्न खटाइएका कर्मचारीलाई ७ दिन भित्र रमाना पठाउन निर्देशन दिएका थिए ।

मन्त्रीले आफूले दिएको निर्देशन कार्यान्वयन नभए हाजिर गराउने कार्यालय प्रमुखबाट निजहरूले खाईपाई आएको तलबभत्ता असुल उपर गर्ने निर्देशन दिएपछि वीर अस्पतालले २०८० जेठ ११ गते दरबन्दी बेगरका ९१ जना कर्मचारीलाई ७ दिनभित्र रमाना लिई समायोजना भएको स्थानमा जानलाई निर्देशन दिएको थियो ।

वीरका ९१ जना कर्मचारी राजनीतिक दबाबमा वर्षौ देखि अड्डा जमाएर बस्दै आएका छन् । उनीहरूकै कारण वीर अस्पताल सुधार हुन सकेको छैन अधिकारीहरू भन्छन् ।

९१ जनामध्ये १२ जना कर्मचारीले समायोजन छल्नका लागि मेडिकल बोर्डमा नक्कली रिपोर्ट तयार गरी स्वास्थ्य मन्त्रालयमा पेश गरेका थिए । सोही आधारमा ती स्वास्थ्यकर्मीहरूलाई समायोजन ऐन २०७५ को दफा ८ को उपदफा ४ बमोजिम सङ्घमा पुल दरबन्दीमा राखी वीर अस्पतालमा कामकाजका लागि खटाइएको थियो ।

वीरमा फाजिलमा बसेका कर्मचारी अत्याधिक महँगा हुँदै गएका छन् । जसले सिधै नेतृत्वलाई धम्क्याउने हैसियत बनाएका छन् । त्यही काजमा बसेका कर्मचारी हुन् जो स्टोर, खरिद जस्ता मालदार स्थानमा काम गरिरहेका छन् ।

अधिकारीहरू भन्छन् नक्कली रिपोर्ट बनाएर बस्नेहरुमा अहेब डिल्लीराम खनाल, युवराज सुवेदी, डिल्ली आचार्य, जीवनकुमार श्रेष्ठ, युवराज तिमल्सिना, सविता जोशी लगायत छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ