“पेन प्लस” कार्यक्रमलाई सफल बनाउन दमक नगरपालिका तयार 


काठमाडौं ।  संघीय सरकारले सुरु गरेको  “पेन प्लस” कार्यक्रमलाई प्रभावकारी ढंगले अगाडि बढाउन दमक नगरपालिका तयार भएको छ । उक्त कार्यक्रम दमक अस्पतालमा पाइलटिङको रुपमा सञ्चालन भइरहेको छ । यसलाई थप व्यवस्थित र दीर्घकालिक बनाएर अगाडि लैजान नगरपालिका तयार भएको नगर प्रमुख रामकुमार थापाले बताए । 

बिहीवार दमकमा “पेन प्लस” कार्यक्रम र त्यसको प्रभावकारिता बारे आयोजित अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख थापाले भुईँ मान्छेको सेवाका लागि यो कार्यक्रम निकै फलदायी भएको बताए । 

त्यस्तै नगर उप प्रमुख रेगिना भट्टराई प्रसाईँले “पेन प्लस” कार्यक्रमलाई सफल बनाउन आफूले सक्दो सहयोग गर्ने बताइन । उनले तीन तहको सरकार बीच आपसी समन्वयको भने खाँचो रहेको औल्याईन् । 

सरकारले दमक अस्पताल र बर्दियाको जिल्ला अस्पतालमा पाइलटिङको रुपमा “पेन प्लस” कार्यक्रम सुरु गरेको छ । उक्त कार्यक्रमलाई काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) को सहयोग रहेको छ । कार्यक्रममा काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष डा भगवान कोइरालाले “पेन प्लस”  देशको स्वास्थ्य क्षेत्रमा एउटा आमूल परिवर्तन ल्याउने बताए । यो कार्यक्रम अस्पताल केन्द्रित भन्दा पनि अस्पताल सम्म आउन रोक्ने सेवाका रुपमा अगाडि बढाइने कोइरालाले बताए । 

भगवान कोइरालाले “पेन प्लस” कार्यक्रमले अबको ५ देखि १० वर्षमा नेपालमा भएको मृत्युदर घट्ने बताएका छन् । नेपालमा हरेक वर्ष हुने मृत्यु मध्ये ७९ प्रतिशत मृत्युको कारण नसर्ने रोग बनेको छ । तर, राज्य र दातृ निकायको सहयोग यसमा मिलेको छैन । यस कार्यक्रमलाई समुदाय स्तरमा पुर्याउने र सकेसम्म बिरामीलाई अस्पताल पुग्नबाट रोक्ने “पेन प्लस” कार्यक्रमको उद्देश्य रहेको छ । 

स्वास्थ्य सेवा विभागअन्तर्गत “पेन प्लस” कार्यक्रमका प्रमुख फणिन्द्रप्रसाद बरालले दमक र बर्दियामा “पेन प्लस” कार्यक्रम पाइलटिङको रुपमा सञ्चालन भएको बताए । “सरकारले दुई स्थानमा “पेन प्लस” कार्यक्रम सञ्चालन गरेको छ, डा बरालले भने” यसलाई सफल बनाएर देशभर लैजाने योजना रहेको छ ।” 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ