१६ औँ योजनामा स्वास्थ्य प्राथमिकतामा 


काठमाडौं । राष्ट्रिय योजना आयोगले एक जना स्वास्थ्यकर्मी सदस्य पाएपछि यस वर्षको १६ औँ योजनामा स्वास्थ्य प्राथमिकतामा परेको छ । ओझेलमा परेको स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिने गरी योजना बनाइको छ ।

योजना आयोगका सदस्य प्राध्यापक डाक्टर आरपी बिच्छाले सोह्रौँ योजनामा स्वास्थ्यलाई प्राथमिकतामा राखेर अगाडि बढेको बताए । स्वास्थ्यमा उत्कृष्ट जनशक्तिको योजना, जनशक्तिको क्षमता विकास, अनिवार्य र स्व अध्ययन तथा सिकाइ समय निर्धारण र कार्य संस्कृतिको विकास, मुलुकलाई आवश्यक विशिष्ट जनशक्तिको प्रक्षेपण र सोही अनुरूप उत्पादनमा जोड दिइएको छ । 

सदस्य बिच्छाले स्वास्थ्यमा केही परिवर्तन ल्याउने हिसाबमा आफ्नो योग्यता र क्षमतालाई आयोगको १६ औँ योजनामा जोडेका छन् । स्वास्थ्य सेवा विभागको महानिर्देशक भएर छोटो समयमा अब्बल काम गरेका बिच्छाको क्षमतालाई मर्न दिनु हुदैन भनेर अवकाश हुनै लाग्दा राज्यले बिभिन्न नियुक्ति हुँदै योजना आयोगको सदस्य बनाएको छ । 

बिच्छाले योजना आयोगमा स्वास्थ्य हेर्ने जिम्मेवारी पाएका छन् । उनले विभागमा जस्तै आयोगमा पनि आफ्नो जिम्मेवारी कुशलता पूर्वक निभाउने धेरैको विश्वास रहेको छ । यस कारण पनि डा बिच्छाले आयोगमा रहेर स्वास्थ्यमा केही नयाँ पन दिन खोज्नु भएको छ, एक सदस्यले स्वास्थ्य लाइभसँग भने । 

आयोगले विशिष्टीकृत तथा अति विशिष्टीकृत स्वास्थ्य सेवालाई बीमाको दायरामा ल्याई सर्वसुलभ रुपमा प्रवाह गर्ने योजना ल्याएको छ । क्यान्सर तथा अंग प्रत्यारोपण जस्ता विशिष्ट स्वास्थ्य उपचार पाउनको लागि विदेश जानुपर्ने बाध्यताको अन्त्य गर्ने गरी स्वास्थ्य प्रणालीको सुदृढीकरण, आधुनिक सूचना प्रविधिको अवलम्बन मार्फत सहज र सर्वसुलभ स्वास्थ्य सेवा, स्वास्थ्य सेवा प्रदान गर्न निरन्तर अध्ययन, अनुसन्धान र व्यवस्थापनलाई मुख्य जोड दिइएको छ । 

यस्तै वातावरणीय स्वास्थ्य र टेलिमेडिसिन सेवालाई आयोगले १६ औँ योजनामा हाइलाइट गरेको छ । वातावरण तथा जैविक विविधताको संरक्षण, विपद व्यवस्थापन र दिगो विकासलाई आयोगले जोड दिएको छ । 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ