स्व. डा. राजाराम कार्कीको पार्थीव शरीर श्रद्धाञ्जलीका लागि सानेपामा


काठमाडौं । बुधबार निधन भएका नेपाल चिकित्सक संघका आजीवन सदस्य डा. राजाराम कार्कीलाई अन्तिम श्रद्धाञ्जलीका लागि नेपाली कांग्रेस केन्द्रीय पार्टी कार्यालय सानेपामा राखिएको छ ।

नेपाली कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार स्वर्गीय कार्कीको पार्थीव शरीरलाई अहिले बिहान ९ बजेदेखि ११ बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिएको हो । बुधबार साँझ ५ बजे वीर अस्पतालमा निधन भएका कांग्रेस नेता डा. कार्की आजै अन्त्येष्टि गरिने भएको छ ।

नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य, महासमिति सदस्य एवं बागमती प्रदेशसभाका पूर्वसदस्य डा. राजाराम कार्कीको ६६  वर्षको उमेरमा बुधबार उपचारका क्रममा वीर अस्पताल, काठमाडौंमा असामयिक निधन भएको छ । उनी नेपाल तरुण दलका पूर्वमहासचिव समेत हुन् । नेपाल चिकित्सक संघका महासचिव डा. सञ्जीव तिवारी लामो समयदेखि क्यान्सर रोगबाट पीडित स्वर्गीय डा. कार्कीले नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा अतुलनीय योगदान पुर्‍याएका छन् ।

इमान्दार, लगनशील र प्रतिष्ठित चिकित्सकलाई गुमाउनु पुगेकोमा नेपाल चिकित्सक संघ परिवार अन्यन्तै मर्माहीत भएको महासचिव डा. तिवारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

डा. कार्की नेपाली कांग्रेसको केन्द्रीय सदस्य(२०५९), नेपाली कांग्रेसको नवौं महाधिवेशनदेखि हालसम्म लगातार महासमिति सदस्य/महाधिवेशन प्रतिनिधि, नेपाल तरुण दलको केन्द्रीय महासचिव(२०५५); नेपाली कांग्रेस, जिल्ला कार्यसमिति, धादिङको सचिव(२०५३); स्वतन्त्र विद्यार्थी युनियन, चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगञ्ज क्याम्पसको सभापति(२०४१) लगायतको जिम्मेवारीमा रहेेको नेपाली कांग्रेस जिल्ला कार्यसमिति धादिङका सभापति रामनाथ अधिकारीले जानकारी दिए ।

उनका अनुसार स्व. डा. कार्की २०७४ मा सम्पन्न प्रदेशसभाको निर्वाचनमा बागमती प्रदेशसभामा समानुपातिक निर्वाचन प्रणालीबाट सदस्यमा निर्वाचित भएका थिए । उनी २०६४ मा सम्पन्न संविधानसभाको निर्वाचनमा धादिङ जिल्लाको तत्कालीन क्षेत्र नं. ३ मा नेपाली कांग्रेसको उम्मेदवार समेत बनेका थिए ।

नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका डा. कार्कीको निधनबाट नेपाली कांग्रेसले एक अनुभवी र बौद्धिक नेतालाई गुमाएको छ र पार्टीलाई अपूरणीय क्षति पुगेको सभापति अधिकारीको ठम्याइ छ । स्वर्गीय कार्कीको पिता, माता, २ श्रीमती, ४ छोरा र १ छोरी रहेको उनले जानकारी दिए ।

क्याटेगोरी : समाचार
ट्याग : #स्व. डा. राजाराम कार्की

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ