ओम अस्पताल आसपासको सरकारी जग्गा खोज्दै बालेन


काठमाडौं । ओम अस्पताल आसपास धोबीखोला करिडोरको सरकारी जग्गामा काठमाडौं महानगरपालिकासहितका सरकारी निकायको आँखा परेको छ । धोबीखोला बचाउ अभियान अन्तर्गत स्वास्थ्य लाइभले सरकारी जग्गा अतिक्रमणको विषयमा पटकपटक ध्यानाकर्षण गराएपछि राज्य संयन्त्रले विशेष चासो राखेको हो ।

काठमाडौं महानगरपालिका, उपत्यका विकास प्राधिकरण, नापी, मालपोत, सुरक्षा संयन्त्रलगायतले संयुक्त रुपमा सरकारी जग्गा खोजी अभियान थाल्ने भएका हुन् । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले धोबीखोला करिडोरको अतिक्रमण हटाउन राज्य संयन्त्र मिलेर काम गर्नु पर्ने प्रस्ताव राखेपछि संघीय सरकारले नै सक्रियता देखाएको हो ।

स्वास्थ्य लाइभको खोजीमा सेतोपुलदेखि बागमती दोभानसम्म सयौं रोपनी सरकारी जग्गा अतिक्रमण भएको फेला परेको थियो । स्वास्थ्य लाइभले सरकारी/सार्वजनिक जग्गा खोजी अभियान चलाएपछि अहिले करिब २० रोपनी जग्गा संरक्षण भएको छ ।

धोबीखोला करिडोरस्थित देवीनगर क्षेत्रमा भूमाफिया इन्द्रकुमार चाम्लिङ, डा. राजेश झा (अहिराज), हेमराज घिसिङलगायतको ५ रोपनी बढी जग्गामा महानगरको डोजर लागेको छ । स्वास्थ्य लाइभले समाचार प्रकाशित गरेपछि भद्रा घले ५ रोपनी बढी, मदन भण्डारी कलेज आसपासमा झन्डै ५ रोपनी सरकारी जग्गा अतिक्रमणकारीको हातबाट फिर्ता आएको छ । थप जग्गा खोजीमा स्वास्थ्य लाइभले निरन्तर सक्रियता देखाउने जमर्को गर्ने छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ