संगीता, जसको आत्मविश्वासमा उभिएका तीन निकाय
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले बुधबार बिहान एक निर्णय गर्दै स्वास्थ्य सेवा विभागमा महानिर्देशकको जिम्मेवारी अतिरिक्त सचिव डा संगीता कौशल मिश्रालाई सुम्पिएका छन् । यस अगाडिका महानिर्देशक डा दिपेन्द्र रमण सिंहको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा भएको छ ।
कोशी अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट, परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालको प्रमुख, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता, अतिरिक्त सचिव (१२ तह) हुँदै संगीता स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारीमा पुगेकी हुन् ।
कोभिड महामारीको समयमा डा संगीता मिश्र कोशी अस्पतालमा थिइन् । जुन समय उदयपुर मस्जिदमा फैलिएको कोरोना सङ्क्रमणको घटनालाई लिएर मुस्लिम समुदायविरुद्ध अफवाह फैलिएको थियो । उनीहरूमाथि आरोप नलागोस् भन्ने मनसायले संगीताले सीडीओ र प्रहरीसँग कुरा गरेकी थिइन् । अहिले पनि त्यहाँका तत्कालीन एसपी विश्व अधिकारी भन्छन् ‘संगीता म्यामले पनि त्यो बेला हामीलाई समुदायलाई विश्वासमा लिन सुझाउनुभएको थियो, ‘उहाँमा सुझबुझ र नेतृत्व गर्ने राम्रो क्षमता देख्छु म ।’
हुनत समाजको शान्ति सुरक्षाको विषयमा चिन्तित भएर पहल गर्नु पर्ने जिम्मेवारी कोरोनाविरूद्ध लडिरहेका अस्पताल प्रमुखको होइन । त्यो चासो शान्ति सुरक्षाको जिम्मा लिएर बसेका सीडीओ र प्रहरीको हो । तर संगीता मिश्रले एउटा जिम्मेवार नागरिक र चिकित्सक भएर सोचिन् । नागरिकका हिसाबले समाजको शान्ति सुव्यवस्था उनको पनि चासो थियो र अहिले पनि देखिन्छ । यसले गर्दा मिश्रले अस्पतालभित्र र बाहिरको परिस्थितिलाई समेत मज्जाले सम्हालेको अधिकारीहरू बताउँछन् ।
लकडाउनको अवधिमा कोशी अस्पतालले १० हजार ८ सय बिरामीलाई सेवा दिएको थियो । अस्पतालमा आएर झण्डै ७ सय गर्भवती सुत्केरी भए, तीमध्ये १ सय ६७ को शल्यक्रियाबाट बच्चा जन्मिए । अन्य किसिमका शल्यक्रिया ६६९ वटा भए ।
कोशीमा उनले गरेका केही काम
- संगीतालेकोशीलाई नै पहिलो कोरोना अस्पतालका साथै आइसोलेसन केन्द्र बनाइन ।
- पहिलो कोभिडप्रकोपको व्यवस्थापन
- पहिलो पटक घरेलु स्यानिटाइजरकोप्रयोग
- काठमाडौं बाहिर पहिलो पटक पीसीआरपरिक्षण सुरु
तत्कालीन सामाजिक विकास मन्त्री जीवन घिमिरे संगीतामा जोखिम उठाउन सक्ने क्षमता आफूले पाएको बताउँछन् । संगीताजी, परिस्थिति अनुसारको जोखिम लिन सक्ने मान्छे हुनुहुँदो रहेछ उनले भने । अडान लिनुपर्ने ठाउँमा लिने, समन्वय गर्नुपर्ने ठाउँमा गर्ने र काम गरेर देखाउने उहाँको बानी छ ।
डा संगीताको ०७७ जेष्ठ २५ मा कोशी अस्पतालबाट काठमाडौंको परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालको प्रमुखको जिम्मेवारीमा सरुवा भयो । त्यो सरुवा उनलाई कोशीमा राम्रो काम गरे बापतको पुरस्कार समेत थियो ।
कोशीमा सबैको मन जितेकी उनलाई प्रसुती मा थप काम गरेर देखाउनुको विकल्पै थिएन । उनले कोशीको लयलाई प्रसुतीमा पनि छाडिनन् । प्रसुती गृहमा रहँदा डा संगीताले “ह्युमन मिल्क बैंक” स्थापना गर्ने निकै महत्वपूर्ण निर्णय गरिन् । यो निर्णयले नेपालमा पहिलो पटक ह्युमन मिल्क बैंक स्थापना हुँदै थियो ।
विश्वभर ६ सयभन्दा बढी मिल्क बैंक छन् । डा संगीताको योजना अनुसार सुरु गरेको ह्युमन मिल्क बैंक निकै पछि डा अमिरबाबु श्रेष्ठको पालामा राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक रुपमा उद्घाटन गरिन् । प्रसुती गृहमै सन्तान नभएकाहरूका लागि सहयोग पुग्ने हेतुले आइभिएफ सेवा पुन सुचारु गरिन् ।
०७८ मंसिर दोस्रो साता परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल थापाथलीको निर्देशकबाट उनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वय महाशाखामा सरुवा गरियो । त्यसको केही दिन पछि २९ गते उनलाई प्रवक्ताको जिम्मेवारी समेत तोकियो । स्वास्थ्य समन्वय महाशाखा र प्रवक्ताको जिम्मेवारी पछि डा संगीताले स्वास्थ्य मन्त्रालय भित्र देखिएको एनजिओ / आइएनजिओको नांगो हस्तक्षेपमा कठोर बन्न थालिन् ।
नियम, प्रक्रिया विपरित नांगो नाच देखाउँदै आएको विश्व स्वास्थ्य संगठन डब्लुएचओ लगायतलाई नियमको बाटो सिकाइन् । उनको स्पष्ट दृष्टिकोणले मन्त्रालयमा एनजीओ / आइएनजिओको नांगो कम भयो । तर, एउटा एनएचएसपी नामक आइएनजिओका माफियाहरूमाथि भने उनी निरिह बनिन् । आफ्नो शिर माथि बसेर पहुँच देखाउने यस संस्थाका माफियाहरू माझ संगीता कठोर बन्न सकिनन् ।
यही बिचमा सरकारले ०७९ असार २२ गते डा संगीतालाई प्रमुख विशेषज्ञ पदमा बढुवा गर्ने निर्णय गर्यो । प्रमुख विशेषज्ञ भएर पनि उनले स्वास्थ्य समन्वय महाशाखामै हेरिन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतको योजनालाई साकार बनाउन उनले ग्लोबल फन्डको पीआर नेपाल बन्ने विषयमा साथ दिइन् । मन्त्रीले सुरुवाती दिन देखी सरकार आफै पीआर बन्नु पर्छ भन्दै सम्बन्धीत निकायसँग छलफलगरी अगाडी बढेका थिए । यसलाई डा मिश्राले साथ दिएकी हुन् ।
ग्लोबल फन्डले नेपाल देशलाई दिने करिब ७ अरब रुपैयाँ अनुदानको विषयमा मन्त्रीको चाहना पछि उनी कठोर बनिन् । यस अगाडि सेभ द चिल्ड्रेन पीआर बन्दै आएको उक्त रकममा संगीताले अब नयाँ सम्झौतामा सरकार आफै पीआर बन्नु पर्ने अडान राखिन् । सन् २०२४ देखि हुने नयाँ सम्झौतामा सरकार पीआर बन्नुपर्ने मन्त्रीसँगै उनको पनि अडान छ ।
पीआर को विषयमा उनले कसैलाई दोष देखाएकी छैनन् । मन्त्री र संगीताको एउटै मात्र अडान छ, नेपाल सरकार पीआर जसरी पनि हुनुपर्छ । सन् २००२ देखि नेपालमा आएको उक्त रकमको पीआर सन् २०१५ सम्म नेपाल सरकार नै थियो । तर, स्वास्थ्य मन्त्रालयले सञ्चालन गर्दा चरम भ्रष्ट्राचार र बिभिन्न काण्डमा परेपछि उक्त रकम सेभले सञ्चालन गर्दै आएको हो । अहिले यो रकम सरकार मातहत ल्याउन गर्नुपर्ने सबै प्रक्रियामा एक्लो बृहस्पति भएर उनि लागेकी छन् । यो उनको जीवनको सबै भन्दा ऐतिहासिक उपलब्धि हो । तर, उनले केही विषयमा समुदायको सल्लाह सुझावलाई अङ्गालेर हिँडेको खण्डमा यसको उपलब्धि पनि हात पर्ने अधिकारीहरू बताउँछन् ।
डा संगीतालाई अहिले पुन नयाँ जिम्मेवारीमा पठाइएको छ । बुधबार स्वास्थ्य सेवा विभागको महानिर्देशकमा उनलाई पठाइएको छ । यो स्वास्थ्य सचिव पछि सबै भन्दा पावरफुल निकाय हो । यसलाई अहिले सम्म डा आरपी बिच्छा र डा दिपेन्द्र रमण सिंहले बिना विवाद पार लगाएका छन् ।
कोशी, प्रसुती र स्वास्थ्य मन्त्रालयमा जसको आत्मविश्वासमा तीन निकाय उभिए अब विभागलाई पनि सोही रुपमा उभ्याउनु पर्ने चुनौती थपिएको छ । कर्मचारीको स्तरवृद्धि र स्वास्थ्य उपकरण खरिद विभागका लागि दुर्भाग्य छ । मन्त्रीको एस म्यान बने खरिदमा जाकिने निश्चित छ । कर्मचारीको मुख हेरे स्तरबृद्धिमा जाकिने समस्या छ । त्यसैले विगतमा जुन इज्जत र इमानले यहाँ सम्म ल्याएको छ, त्यही बाटो अँगाल्दै स्वास्थ्यको सर्वोच्च खुड्किलो तय गर्नु संगीताका लागि अबको विकल्प हुने छ ।
क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
तपाईको प्रतिक्रिया दिनुहोस