सप्तकोशीमा बेपत्ता चिकित्सक कोइरालाको शव फेला
काठमाडौं । सप्तकोशी नदीमा बेपत्ता चिकित्सक प्रज्जवल कोइरालाको शव फेला परेको छ । सप्तकोशी नदीको पुलमा कार छोडेर बेपत्ता भएका चिकित्सक प्रज्ज्वलको शव १० दिनपछि कोशीको भंगालोमा फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयाँलका अनुसार चिकित्सक कोइरालाको शव हिजो दिउँसो फेला परेको हो । ३१ वर्षीय उनको शव बराहक्षेत्र नगरपालिका–२ स्थित कोशीको भंगालोमा फेला परेको एसपी फुयाँलको भनाइ छ ।
मोरङ उर्लाबारीस्थित मदन भण्डारी ट्रमा सेन्टरमा कार्यरत दमक झापा निबासी चिकित्सक कोइराला गत भदौं १० गतेदेखि बेपत्ता भएका थिए । उनी चढेको कार तत्काल फेला परेपनि शव भने सडेगलेको अवस्थामा १० दिनपछि फेला परेको हो ।
कोसीमा माछा मार्नेहरूले खबर गरेपछि प्रहरीले तैरिरहेको शव निकालेको हो । प्रहरीले आफन्तलाई खबर गरेपछि चिकित्सक कोइरालाको शव भएको पुष्टि भएको हो । उनले आत्महत्या गर्नुको कारण बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस