चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा अन्जनीकुमार झा


काठमाडौं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्रा.डा. अन्जनीकुमार झा नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो ।  प्रा. डा. अन्जनीकुमार झालाई आयोगको उपाध्यक्षमा नियुक्त गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि प्रा. डा. झासहित वर्तमान उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरी र डा. प्रविण मिश्रको नाम सिफारिस भएको थियो । सिफारिस भएका तीन जनामध्ये प्रा.डा. झालाई आज बसेको मन्त्रिपरिषद्को बैठकले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो।

आयोगको उपाध्यक्ष बनेका झा नेपाली कांग्रेस निकट मानिन्छन् । उनी  नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष एवं नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का पूर्वअध्यक्ष समेत हुन् ।

सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र निकट र्वतमान उपाध्यक्ष डा. गिरी उपाध्यक्ष दोहोरिन चाहे पनि उनको चाहनालाई झाले ब्रेक लगाइदिएका छन् ।

सिफारिसमा परेका पूर्वस्वास्थ्य सचिव समेत रहेका डा. मिश्र जसपाको आडमा आयोगको उपाध्यक्ष पड्काउने दाउ हेरेपनि उनी समेत हिस्स परेका छन् ।  यहीं भदौ २५ गतेदेखि चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीको ४ वर्षे कार्यकाल सकिने भएपछि झालाई नयाँ उपाध्यक्ष नियुक्त गरिएको हो ।

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदका लागि ९ जनाको निवेदन परेको थियो । निवेदन परेकाहरुमध्येबाट तीन जनाको नाम उपाध्यक्षका लागि सिफारिस भएको हो । त्यो नाममध्ये प्रा.डा. झाले बाजी मारेका छन् ।

चिकित्सा शिक्षा आयोग उपाध्यक्ष बन्न प्रा. डा. झा, गिरी, मिश्र, सिभिल अस्पतालमा कार्यकारी निर्देशक प्रा.डा विधाननिधि पौडेलको आवेदन परेको छ । त्यस्तै प्रा.डा. पियुस दाहाल, डा. प्रमोदकुमार यादव, प्रा.डा. संगीता सिंह भण्डारी, प्रा. डा. सुमनकुमार श्रेष्ठ र प्रा.डा.मनेनप्रसाद गोर्खालीले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष बन्ने इच्छा जाहेर गरेका थिए । अन्तिममा आयोगको उपाध्यक्षमा प्रा.डा. झाको सानदार ‘इन्ट्री’ भएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ