स्वास्थ्यका कानुन अधिकृत श्रेष्ठसहित २८ जना जिल्ला न्यायाधीशमा नियुक्त
काठमाडौं । न्याय परिषद्ले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कानुन अधिकृत श्यामप्रसाद श्रेष्ठसहित २८ जनालाई जिल्ला न्यायाधीशमा नियुक्त गरेको छ । परिषिद्ले उनलाई जिल्ला न्यायाधीशमा नियुक्त गर्दै रुपन्देही जिल्ला अदालतमा पदस्थापन गरेको हो ।
न्याय परिषद्को सूची अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कानुन अधिकृत श्रेष्ठ २७ औं नम्बरमा जिल्ला न्यायाधीशमा नियुक्त भएका छन् । परिषद् जेष्ठता, योग्यता र कार्यक्षमता मूल्याङ्कनका आधारमा जिल्ला न्यायाधीश नियुक्त गर्ने निर्णय लिएको जनाएको छ ।
त्यस्तै स्वास्थ्य मन्त्रालयको कानुन अधिकृत भएर काम गरिसकेका रेशराज शर्मा पनि जिल्ला न्यायाधीशमा नियुक्त भएका छन् । हाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको कानुन अधिकृतको जिम्मेवारीमा रहेका उनी ८ औं नम्बरमा जिल्ला न्यायाधीश नियुक्त भएका हुन् । शर्माको मोरङ जिल्ला अदालतमा पदस्थापन गरिएको छ ।
सहरी विकास मन्त्रालयका कानुन अधिकृत उपेन्द्रकेशर खनाल, खानेपानी मन्त्रालयका कानुन अधिकृत वशिष्ठकुमार घिमिरे, सर्वोच्च अदालतका इजलास अधिकृत ज्ञानेन्द्र इटनी र काठमाडौं जिल्ला अदालतका कोशलेश्वर ज्ञवाली पनि जिल्ला न्यायाधीशमा नियुक्त भएर विभिन्न जिल्ला अदालतमा पदस्थापन भएका छन् । उनीहरूसहित २८ जनालाई न्याय परिषद्ले न्यायाधीश बनाएको हो ।
क्याटेगोरी : समाचारट्याग : #जिल्ला न्यायाधीश, #रेशराज शर्मा, #श्यामकुमार श्रेष्ठ
तपाईको प्रतिक्रिया दिनुहोस