धोबीखोलामा स्वास्थ्य भवन बनाएको विषयमा काठमाडौंका जनप्रतिनिधिविरुद्ध मुद्दा


काठमाडौं । मदन भण्डारी मेमोरियल कलेज हुँदै बग्ने साबिकको धोबीखोलामा जनस्वास्थ्य भवन बनाएको भन्दै जनप्रतिनिधिविरुद्ध मुद्दा परेको छ । साबिक धोबीखोलाको जग्गामा काठमाडौं महानगरपालिका वडा नम्बर १० ले स्वास्थ्य भवन बनाउन थालेपछि काठमाडौं जिल्ला अदालतमा जनप्रतिनिधिविरुद्ध मुद्दा परेको हो ।

काठमाडौं महानगरपालिका वडा नम्बर १० धोबीखोला करिडोरस्थित साबिकको धोबीखोलामा जनस्वास्थ्य भवन बनाउन थालेपछि अहिले अदालतको अबहेलना मुद्दा समेत दायर भएको छ ।

अधिवक्ता सुमन न्यौपानेले काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नम्बर १० को कित्ता नम्बर ३५४ र ३५७ को धोबीखोलाको जग्गामा कामनपाबाट जनस्वास्थ्य भवन बनाउने भनी घर निर्माण गर्न लागेको हुँदा उल्लेखित जग्गामा भवन बनाउने, बनाउन दिने लगायतका कार्य नगर्नू, नगराउनू भनी अन्तरकालीन आदेश मागेर काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको देखिन्छ ।

काठमाडौं जिल्ला अदालतले निवेदनको माग बमोजिम कित्ता नम्बर ३५४ र ३५७ को जग्गामा भवन बनाउने समेतको कुनै पनि निर्माण कार्य नगर्नू, नगराउनू भनी अन्तरकालीन आदेश जारी गरेको पाइन्छ । २०८० बैशाख ७ गते जिल्ला न्यायाधीश डण्डपाणी शर्माको एकल इजलासले जारी गरेको अन्तरकालीन आदेशविरुद्ध काठमाडौं महानगरपालिका वडा नम्बर १० ले जनस्वास्थ्य भवन निर्माण सुरु गरेपछि अधिवक्ता न्यौपाने अदालतको अबहेलना मुद्दा लिएर गएका छन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष रामकुमार केसीसहितका जनप्रतिनिधिविरुद्ध अदालतको अबहेलना मुद्दा दायर गरिएको अधिवक्ता न्यौपानेले स्वास्थ्य लाइभलाई जानकारी दिए । खोलाको जग्गा खोला कै हुनुपर्छ भनेर जिल्ला अदालतमा मुद्दा दायर गरेको भन्दै उनले अदालतको अबहेलना गर्नेमाथि कानुनी उपचार खोजिएको दाबी गरे ।

अधिवक्ता न्यौपानेले निर्माणाधीन संरचना भत्काउ पाउँ भनेर अर्को मुद्दा पनि हालेका छन् । उनले काठमाडौं महानगरपालिका वडा नम्बर १० ले बनाउन लागेको सहरी स्वास्थ्य क्लिनिकको भवनलाई लिएर ३ वटा मुद्दा दर्ता गरेका छन् ।

सरकारी जग्गा दर्ता उपयोग तथा लिजमा उपलब्ध गराउने कार्यनीति २०७९ विपरीत काठमाडौं महानगरपालिकाले जबरजस्त स्वास्थ्य भवन निर्माण गरेको आरोप समेत लगाएका छन् ।

 

काठमाडौं महानगरपालिका वडा नम्बर १० ले भ्याटबाहेक झन्डै साढे ६६ लाख लागतमा सहरी स्वास्थ्य क्लिनिकको भवन निर्माण सुरु गरेको हो । आदी इन्जिनियरिङ सर्भिस प्रालिले सहरी स्वास्थ्य क्लिनिकको भवन निर्माणको ठेक्का पाएको देखिन्छ । २०७९ पुस २४ गते ठेक्का सम्झौता भएको उक्त स्वास्थ्य भवन २०८० पुस २८ गते निर्माण सम्पन्न गरिसक्नु पर्ने उल्लेख छ । तर जनप्रतिनिधिले उक्त स्वास्थ्य भवन बनाउँदा मुद्दा खेप्नु परेको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ