नेपालमा हिमोफिलिया रोगको सम्पूर्ण उपचार हुन्छ : डा. विशेष पौडेल


काठमाडौं ।  नेपाल हेमोफिलिया सोसाईटीले हिमोफिलियायुक्त व्यक्तिहरुको पहिचान, सहयोग र प्रचारप्रसार गर्न आयोजित विशेष पत्रकार सम्मेलनमा बोल्दै सिभिल अस्पतालमा कार्यरत रगत रोग विशेषज्ञ डा. विशेष शर्मा पौडेलले हिमोफिलिया रोग वंशाणुगत रोगसँग सम्बन्धित रहेको बताए । उनले भने,“यो रोग नितान्त वंशाणुगत रोग हो । यो रोग केटाहरुमा हुने रोग भनिन्थ्यो, अहिले केटी मान्छेमा पनि देखिएको छ ।”

रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा उनले नेपालमा हिमोफिलियासम्बन्धी रोगसम्बन्धी सम्पूर्ण उपचार हुने गरेको सुनाए । महिलाहरुलाई प्रसव पीडामा हुने पीडाजस्तै हिमोफिलियाका विरामीलाई पीडा हुने गरेको उनको भनाई छ । कतिपय विरामीहरुको त खुट्टा नै काट्नुपरेको पनि दर्दनाक अवस्था उनले सुनाए ।

डा. पौडेलले कतिपय विरामीले टाउकोमा रक्तश्राव भएर ज्यान गुमाउनुपरेका बताए । उनले हिमोफिलियाको उपचारको कुरा गर्दै भने“यसको औषधी, हेमोफिलियामा हुने चाहीँ के भन्दाखेरि, फ्याक्टर ८ र फ्याक्टर ९ भन्ने हाम्रो शरिरमा एउटा प्रोटिन हुन्छ । त्यो प्रोटिनका कमी भएको खण्डमा रगत बगेको बगै गर्छ । रगत रोकिँदैन् । यसको औषधी भनेको नै फ्याक्टर ८, फ्याक्टर ९ नै हो । यसले रगत जम्ने हुन्छ । यो फ्याक्टर ८, र फ्याक्टर ९ यति महँगो छ, हामीले किन्दाखेरि यो एक युनिटको २५ रुपैयाँ पर्छ । विरामीलाई सामान्यतया ब्लिडिंग हुँदाखेरि ५ हजार युनिटदेखि १० हजार युनिटसम्म चाहिन्छ । त्यसमा एकदमै ठूलो रकम हुन्छ । कोही कोहीलाई दिनदिनै दिनुपर्ने हुन्छ । औषधी एकदमै महँगो हुन्छ।”

डा. पौडेलले नेपालजस्तो गरिब मुलुकलाई वल्र्ड फेडेरेशन अफ हेमोफेलिया भन्ने संस्थाले विगत २५ वर्षदेखि डोनेशन दिइरहेको बताए । त्यही सहयोगको कारण नेपालमा हेमोफेलियाका विरामी बाँच्न पाएको उनको भनाई छ । विगत दुई वर्षदेखि नेपाल सरकारले पनि औषधी किनिदिएको बताए । त्यसको लागि सरकारले वार्षिक डेढ करोड रुपैयाँ बजेट विनियोजन गरेकोमा धन्यवाद दिए । उनले यसको उपचारको लागि ५ प्रतिशतभन्दा सरकारको तहबाट भएको र बाँकी ९५ प्रतिशत भनेको दातृ संस्थाबाट प्राप्त भएको बताए ।

हिमोफिलियाका विरामीहरुको सम्पूर्ण उपचार नेपालमै हुने गरेको र ठूला ठूला शल्यक्रिया पनि गर्न थालिएको उनको भनाई छ । सिभिल अस्पतालमा कृत्रिम घुँडा हालिदिएको उनको भनाई छ । उनकाअनुसार काठमाडौंभित्र दुई चार वटा अस्पतालमा उक्त रोगसम्बन्धी उपचार हुने गरेको छ । तर, काठमाडौंबाहिर भने उपचार नभएको उनको भनाई छ । उनले यस रोगको उपचार काठमाडौंबाहिर पनि लैजानुपर्ने बताए । त्यसको लागि आफूहरुले सहयोग गर्ने पनि विश्वास दिलाए ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ