देउवा क्याम्पमा किन भयो स्वास्थ्यमन्त्रीको चर्चा ?


काठमाडौं । पछिल्लो समय चर्चा र विवादमा तानिएका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत आलोचित बनेका छन् । वीर अस्पतालमा नियमित रुपमा उपलब्ध गराइँदै आएको खाजा-खानाको बजेट कटौती गरेर ‘बहादुरी’पन देखाएपछि उनी चर्चामा आएका हुन् । यो कदमले बस्नेतलाई स्वास्थ्यमन्त्री बनाउने देउवा क्याम्प समेत चिढिएको चर्चा छ ।

स्वास्थ्यमन्त्री बस्नेतको निर्णयले एकपछि अर्को गर्दै तहसनहस बन्दै गएको वीर अस्पताल आर्थिक संकटमा धकेलिँदै गएको पाइन्छ । वीर अस्पतालमा बिरामीको खानाका लागि बजेट कटौती गरेको तथ्य सार्वजनिक भएपछि स्वास्थ्यमन्त्री बस्नेतको देउवा क्याम्प चर्चा भएको हो । यो विषयमा कांग्रेस सभापति शेरबहादुर देउवाको कोर टिममा रहेका नेताहरू नै चिढिएको खुल्न आएको छ ।

वीर अस्पतालमा बिरामी खानाको बजेट कटौती भएको विषयमा देउवा क्याम्पका खास व्यक्तिहरुले अर्थ मन्त्रालयमा समेत चासो राखेका छन् । उनीहरूले बिरामीलाई उपलब्ध गराउँदै आएको खाना-खाजाको बजेट कटौती भए/नभएको विषयमा अर्थ मन्त्रालयमा चासो देखाएको खुल्न आएको हो ।

अर्थसँग चाहिदो/नचाहिदो कुरामा बजेट माग्दै आएका स्वास्थ्यमन्त्री बस्नेतले वीरका बिरामीमाथि गरेको अत्याचारले अर्थका अधिकारी समेत आश्चर्यमा परेको चर्चा छ ।  स्वास्थ्य मन्त्रालयको बदमासीका कारण यस्तो भएको अर्थका अधिकारीहरू दाबी गर्छन् । स्वास्थ्यमन्त्री बस्नेतले वीरमा चालेका एकपछि अर्को कदम फ्लप खान थालेपछि देउवा क्याम्पले चासो देखाएको छ । मन्त्रीहरू परिवर्तन गर्ने चर्चाकाबीच स्वास्थ्यमन्त्री बस्नेतको कामकारबाहीमाथि देउवा क्याम्पले चासो दिनुलाई अर्थपूर्ण रुपमा लिन सकिन्छ ।

स्वास्थ्यकर्मीको व्यापक कटौती गरेर वीर अस्पताललाई थिलथिलो पारेका स्वास्थ्यमन्त्री बस्नेतले बिरामीको दानापानी समेत बन्द गरिदिएका छन् । वीर अस्पतालमा नर्सहरुको भारी कटौती गर्दा बिरामीले अहिले उचित सेवा पाउन सकेका छैनन् । उनले खाना खर्चमा समेत कैंची लगाउँदा वीर अस्पताल आर्थिक संकटमा धकेलिएको हो । स्वास्थ्यमन्त्री बस्नेतका ‘शकुनी’जस्ता दृश्य/अदृश्य सल्लाहकारका कारण वीर अस्पताल कोपभाजनमा परेको आरोप समेत लाग्ने गरेको छ । उनलाई गलत सल्लाह दिएर व्यक्तिगत स्वार्थपूर्ति गर्ने जमात हाबी हुँदा वीर अस्पताल उक्त हविगतमा पुगेको टिप्पणी हुन थालेको हो ।  अहिले वीरको पीरले स्वास्थ्यमन्त्री बस्नेतलाई सताउने खतरा देखिँदैछ ।

वीर अस्पतालका निर्देशकलाई गलत तरिकाले हटाउनेदेखि बजेट कटाउने कार्यमा सक्रिय स्वास्थ्यमन्त्री बस्नेत अहिले चर्चा र आलोचनाको केन्द्रमा छन् । उनको कामको पार्टीले तत्काल समीक्षा नगरे नेपाली कांग्रेसलाई स्वास्थ्य क्षेत्रमा कालो धब्बा लाग्ने निश्चित छ ।

क्याटेगोरी : समाचार
ट्याग : ## वीर अस्पताल, ##अर्थ मन्त्रालय, #बजेट कटौती, #स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ