स्वास्थ्य र शिक्षाबाट बञ्चित बाल्मिकी आश्रमका बासिन्दा

संरक्षणको पर्खाइमा ऐतिहासिक बाल्मिकी आश्रम, चितवन राष्ट्रिय निकुञ्जले ओझेलमा पार्‍यो


काठमाडौं । माल पाएर चाल नपाउने भने जस्तै भएको छ बाल्मिकी आश्रम । राज्यले न त्यो ठाउँको संरक्षण र प्रवर्द्धन गर्न सकेको छ न त स्वास्थ्य र शिक्षाको प्रबन्ध गर्न । त्यो ठाउँको हालै भ्रमण गरेर आएका नेपाल सरकारका पूर्वसचिव द्वारिकानाथ ढुंगेल भन्छन्, ‘नेपाल सरकारले बाल्मिकी आश्रम जस्तो ऐतिहासिक र धार्मिक स्थल चिन्न सकेन ।’,

भारतले उता भव्य राम मन्दिर बनाउने तयारी थाल्दा नेपालमा रहेको बाल्मिकी आश्रम भने ओझेलमा परेको छ । पूर्वसचिव ढुंगेलका अनुसार चितवन राष्ट्रिय निकुञ्जले कब्जा गरेको उक्त ऐतिहासिक बाल्मिकी आश्रम जान भारतको बाटो भएर जानुपर्छ ।

तत्कालीन राजा महेन्द्रले ऐतिहासिक बाल्मिकी आश्रमको पहिचान गरेर १२/१३ बिगाह जमिन संरक्षण गरेका थिए । तर, अहिले चितवन राष्ट्रिय निकुञ्जले उक्त ठाउँ कब्जा गर्दा धार्मिक, ऐतिहासिक तथा पर्यटकीय महत्त्व बोकेको बाल्मिकी आश्रम अस्तित्वबिहीन बनेको छ । त्यही ठाउँलाई आधार मानेर भारतले पारीपट्टी बाल्मिकी नगर नाम राखेर फाइदा लिँदा नेपाललाई भने कस्तुरीले बिना फेला नपारे जस्तै भएको छ ।

बाल्मिकी धाम (आश्रम)को अवस्था बुझेर करिब २ महिना अगाडि फर्किएका पूर्वसचिव ढुंगेल भन्छन्, ‘उक्त ठाउँमा बत्ती छैन, खानेपानीको प्रबन्ध छैन, सडकको पहुँच छैन, स्वास्थ्य र शिक्षाको विकराल अवस्था बारे त कुरै नगरौं ।’,

२०२२ सालतिर तत्कालीन राज महेन्द्रले उक्त गाउँमा मान्छे लगेर बसोबास गराएका थिए । मगर, राई, गिरी, कुमाल, सुवेदीलगायत विभिन्न जात जातका मान्छे लगेर त्यहाँ महेन्द्रले बसोबास गराएको भनाइ छ । अहिले ५० जातजातिका मान्छे बस्ने गरेका छन् । तर, अहिले राज्यले नहेर्दा उक्त ठाउँ नर्क जस्तै भएको छ । यो चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र परेकाले केही गर्न नसकेको पूर्व सचिव ढुंगेलको ठम्याई छ ।

पूर्वसचिव ढुंगेल, प्रभाकर शर्मा, जगत भुसाल र सन्तबहादुर पुन बल्मिकी आश्रम पुगेपछि त्यहाँ पर्यटनको अथाहा सम्भावना देखेका हुन् । उनीहरुका अनुसार तत्कालीन राजा महेन्द्रले बाल्मिकी आश्रमका लागि १२ बिगाह जमिन छुट्याइएको थियो । उक्त जग्गामा बाल्मिकी आश्रम पुनर्निर्माण गरे विश्वस्तरको पर्यटनको केन्द्र बन्ने सम्भावना रहेको उनीहरू औंल्याउँछन् ।

उक्त ठाउँमा बाल्मिकी आश्रम पुनर्निर्माण गर्न ढुंगेल, भुसालसहितको टोलीले बागमती प्रदेशका पूर्व संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठसँग समेत छलफल गरेको छ । ढुंगेलका अनुसार उक्त गाउँमा ऐतिहासिक बाल्मिकी आश्रम पुनर्निर्माणका लागि संघदेखि प्रदेश सरकारसम्म पहल गर्ने बागमती प्रदेश सभा सदस्य श्रेष्ठले आश्वासन दिएका छन् । सांसद श्रेष्ठको पहलमा छिट्टै बाल्मिकी आश्रमले पुनर्जीवन पाउने ढुंगेलको विश्वास छ ।

पूर्वसचिव ढुंगेलसहितको टोली सुस्ताको अवस्था बुझ्न नवलपरासीको सेमरीस्थित नेपाल गण्डक सिँचाई व्यवस्थापन कार्यालय पुगेको थियो । गण्डकको पश्चिम नहरबाट नेपालले पाउने पानीको अवस्था र व्यवस्था बुझेपछि उक्त टोली गजेन्द्र मोक्ष धाम, त्रिवेणी हुँदै गण्डक ब्यारेजबाट पारीपट्टी भारतको बाल्मिकी नगर पुग्यो । नेपाल तर्फबाट बागमती प्रदेशमा रहेको चितवन राष्ट्रिय निकुञ्जको नियन्त्रणमा रहेको बाल्मिकी आश्रममा जाने बाटो नभएपछि उक्त टोली गण्डकी प्रदेशबाट गण्डक ब्यारेज हुँदै  भारतको बाल्मिकी नगर पुग्न बाध्य भएको हो ।

बाल्मिकी नगरबाट केहीबेर हिँडेपछि बाल्मिकी रिजर्भ टाइगर रिसोर्ट आउँछ । त्यहाँ १ सय रुपैयाँ गाडी इन्ट्री फी तिरेपछि प्रवेश गर्न पाइन्छ । त्यहाँबाट भित्र छिरेर ५/६ किलोमिटर जंगलको बाटो अगाडि बढेपछि भारतीय सीमा सुरक्षा बल (एसएसबी)को पोस्ट आउँछ । एसएसबीको कडा प्रश्न र चेकजाँचको सामान गरेर ५/७ मिनेटको बाटो हिँडेपछि पञ्चभद्र(ताम्रभद्र) नदी आउँछ । उक्त नदी तरेर सोनाभद्र (सोना) नदी पुगिन्छ । सोनाभद्र नदी तरेपछि मात्र नेपाल टेकिन्छ । सोनाभद्र नदी तरेपछि बाल्मिकी आश्रममा स्वागत गर्दछ भनेर लेखिएको बोर्ड भेटिन्छ ।

नेपालतर्फ बाटो खुलेको भए बाल्मिकी आश्रम जान पैसा तिरेर दुःख झेलेर भारतीय भूमि प्रयोग गर्नु नपर्ने पूर्वसचिव ढुंगेल सुनाउँछन् । गजेन्द्र मोक्ष धाम क्षेत्रबाट बाटो खोल्न सके ३ किलोमिटर दूरीमै नेपाल तर्फबाट बाल्मिकी आश्रम पुग्न सक्ने उनको दाबी छ । भारतीय पर्यटकको लर्को लाग्ने बाल्मिकी आश्रममा नेपाल सरकारले भने बेवास्ता गरेको ढुंगेलको दुःखेसो छ । गजेन्द्र मोक्ष क्षेत्रमा बनेको लबकुश झोलुङ्गे पुलबाट बाल्मिकी आश्रम जाने बाटो नबनाइएकाले उक्त झोलुङ्गे पुल फोटो खिच्न र टिकटक बनाउनका लागि मात्र प्रयोग भएको देखिन्छ ।

गजेन्द्र मोक्ष धामबाट कि त पक्की पुल बनाएर बाल्मिकी आश्रम जाने मोटर बाटो बनाउनु पर्‍यो कि त झोलुङ्गे पुल हुँदै आश्रमसम्म पुग्ने पदैल मार्ग बनाउनु पर्‍यो अनि मात्र बाल्मिकी आश्रम जानका लागि नेपाली नागरिकलाई सहज पहुँच हुने देखिन्छ । भारतीय बाटो प्रयोग  गर्दै  बाल्मिकी आश्रम पुगेको टोलीका सदस्य ढुंगेल पनि उक्त कुरामा राज्यले विशेष ध्यान दिनुपर्ने बताउँछन् । बाल्मिकी आश्रम पुगेका ढुंगेलका अनुसार बाल्मिकी आश्रममा बिजोग अवस्था छ । केही छैन, एउटा ढोका छ अन्य अवस्था हेर्दा राज्यको ध्यान नपुगेको प्रस्टै देखिने उनको भनाइ छ ।

बाल्मिकी आश्रम टेकेपछि बाल्मिकीले रामायण लेखेको, सीताले लबकुश जन्मिएको र राखेको ठाउँ देखिन्छ । बाल्मिकी आश्रम सीतालाई आश्रय दिएको ठाउँ हो । सीताले प्रयोग गरेको इनार पनि देख्न सकिन्छ । सीता पातल प्रवेश गरेको ठाउँ, लबकुशलाई शिक्षा दिएको ठाउँ लगायत हेर्न र देख्न सकिन्छ ।

आश्रमको वरिपरी ३ वटा पुरानो घर, सशस्त्र प्रहरीको बीओपी रहेको छ । बाल्मिकी आश्रममा २ वटा नयाँ मन्दिर बनाइएको छ भने एउटा पुरानो मन्दिर रहेको छ । त्यहाँ फूल बेच्ने मान्छे मात्र देखिन्छन् । बाल्मिकी आश्रम जस्तो ऐतिहासिक ठाउँ पुरै ओझेलमा परेको छ । राज्यको आँखामा पर्न सकेको छैन । पहिला विजुली थियो तर अहिले छैन । उक्त ठाउँमा सोलार भने देख्न सकिन्छ ।

२०२२ सालतिर तत्कालीन महेन्द्रले केही व्यक्ति लगेर राखेको ठाउँ अहिले भारतले कब्जा गरिसकेको छ । स्थानीयहरुका अनुसार पहिला पञ्चभद्रसम्म नेपालको सीमाना थियो ।  अहिले सोनाभद्रसम्म एसएसबीले पोष्ट राखेर निगरानी गर्छ । तर, नेपालको राज्य सरकार बेखबर छ । बाल्मिकी आश्रमको पहिचान मेटिन लाग्दा पनि नेपाल सरकार चिर निन्द्रामा देखिन्छ । संरक्षणको पर्खाइमा ऐतिहासिक बाल्मिकी आश्रम संरक्षणको पर्खाइमा छ । तर, चितवन राष्ट्रिय निकुञ्जले कब्जा जमाएर ओझेलमा पारेको छ । यसमा नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र वन मन्त्रालयले तत्काल कदम चालेर संसारकै प्रसिद्ध ठाउँ बाल्मिकी आश्रमलाई प्रवर्द्धन गर्न जरुरी देखिन्छ ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ