बाल्मिकी आश्रम प्रवर्द्धन, स्थानीयको स्वास्थ्य र शिक्षाका लागि सांसद श्रेष्ठले पहल गर्ने


काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जको कब्जामा रहेको बाल्मिकी आश्रमको विकास र विस्तारमा बागमती प्रदेशसभा सदस्य दिपेन्द्र श्रेष्ठले पहल गर्ने भएका छन् । उक्त क्षेत्रमा पुगेर आएको पूर्वसचिव द्वारिकानाथ ढुंगेलको टोलीसँग छलफल गर्दै बाल्मिकी आश्रमको विकास, विस्तार र प्रवर्द्धनका लागि आफूले पहल गर्ने सांसद श्रेष्ठले आश्वासन दिएका हुन् ।

भारतको बाटो हुँदै बाल्मिकी आश्रम पुग्नु पर्ने र त्यहाँका बासिन्दा स्वास्थ्य र शिक्षाबाट बञ्चित भइरहेको तथ्य स्वास्थ्य लाइभले सार्वजनिक गरेपछि पूर्वपर्यटनमन्त्री समेत रहेका श्रेष्ठले चासो देखाएका छन् । बाल्मिकी आश्रम संरक्षणका लागि पूर्वसचिव ढुंगेलको टिमले उनीसँग सहयोग मागेपछि श्रेष्ठले त्यसको अगुवाई गर्ने आश्वासन समेत दिएको ढुंगेलले बताए ।

संरक्षणको पर्खाइमा रहेको ऐतिहासिक बाल्मिकी आश्रमको संरक्षण र त्यहाँ नेपालबाटै पुग्ने सहज पहुँच मार्ग निर्माणका लागि बागमती प्रदेशका पूर्वपर्यटनमन्त्री श्रेष्ठले अगुवाई गर्ने छन् । यसका लागि उनले बागमती प्रदेशसभामा समेत कुरा राख्ने बताएका हुन् । केन्द्रीय वन मन्त्रालयसँग कुरा गरेर चितवन राष्ट्रिय निकुञ्जभित्र अस्तित्वबिहीन भएको बाल्मिकी आश्रमको अस्तित्व खोज्न लागि पर्ने कुरामा ढुंगेलको टिम र सांसद श्रेष्ठ एक भएर लाग्ने भएका छन् । यसका लागि सांसद श्रेष्ठले अगुवाई गर्ने समझदारी भएको छ ।

रामायणका रचयिता बाल्मिकीको आश्रम र इतिहासको अध्ययनका लागि पनि बाल्मिकी आश्रमको संरक्षण हुन आवश्यक छ । भारतले राम मन्दिर उद्घाटन गर्ने तयारी गरिरहँदा नेपालस्थित बाल्मिकी आश्रमको महत्त्व झन् बढेको छ । त्यसका लागि नेपालबाटै बाल्मिकी आश्रम जान सक्ने पूर्वाधार निर्माणका लागि पहलकदमी लिनु स्वागतयोग्य कदम हो ।

बागमती प्रदेशभित्र पर्ने बाल्मिकी आश्रम बागमती प्रदेशको प्रमुख धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्न सकिने सम्भावना बोकेको ठाउँ हो । भारतको राम मन्दिरमा आउनेहरुलाई नेपालको बाल्मिकी आश्रममा पनि तान्न सकिन्छ । नेपालको बाटो हुँदै बाल्मिकी आश्रम जान सक्ने बाटो निर्माण भए आन्तरिक धार्मिक पर्यटकको चहलपहल बढ्ने निश्चित छ । चितवन राष्ट्रिय निकुञ्जको स्वीकृतिमा बागमती प्रदेश सरकारले बाल्मिकी आश्रमलाई व्यवस्थित गर्न सके यो सुनमा सुगन्ध हुने देखिन्छ ।

बाल्मिकी आश्रम क्षेत्रका बासिन्दालाई स्वास्थ्य, शिक्षा, खानेपानी र बिजुलीको व्यवस्थापन पनि प्रदेश सरकारले गर्न सक्छ । त्यसका लागि सांसद श्रेष्ठको पहलकदमीले सार्थकता पाउने पूर्वसचिव ढुंगेलको बुझाइ छ । सांसद श्रेष्ठ बाल्मिकी आश्रम प्रवर्द्धनका लागि तातेसँगै संघ र प्रदेशको समन्वयमा बाल्मिकी आश्रमले पुनर्जीवन पाउने आशा पलाएको हो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ