जनस्वास्थ्यमाथि खेलबाड गर्नेलाई कारबाही गर्ने महाननगरले अनामनगर क्षेत्रमा के गर्ला ?


काठमाडौं । पिच नगरी धुलो मैलो बनाई स्थानीयवासीहरूको जनस्वास्थ्यमा समेत खेलबाड गर्ने कार्य गरेको अभियोगमा काठमाडौं महानगरपालिकाले ठेकेदार कम्पनीलाई कारबाही गरेको छ ।

विद्युत प्राधिकरणको काम ठेक्का लिई काम सम्पन्न भएपछि पिच नगरेको भन्दै महानगरपालिकाले ठेकेदार कम्पनीलाई १ लाख रुपैयाँ जरिवाना गरेको हो । यो काठमाडौं महानगरपालिका वडा नम्बर १६ र २६ को घटना हो । तर, ठेक्का सम्झौताको म्याद सकिएको काठमाडौं महानगरपालिका वडा नम्बर २९ अनामनगर क्षेत्रमा भने काठमाडौं महानगरपालिकाले कुनै एक्सन लिन सकेको छैन ।

‘काठमाडौँ महानगरपालिका वडा नं. १६ र २६ मा नेपाल विद्युत प्राधिकरणको काम ठेक्का लिई पिच खन्ने कामकाज गरिरहेको Larsen & Toutro प्रा.लि ले काम सकिएपछि सो स्थानहरूमा पिच नगरी धुलो मैलो बनाई स्थानीयवासीहरूको जनस्वास्थ्यमा समेत खेलवाड गर्ने कार्य गरेको देखि पटकपटक अनुरोध गर्दा समेत बेवास्ता गरेको हुँदा निज कम्पनीको प्रतिनिधिहरूलाई काठमाडौँ महानगरपालिका नगर प्रहरी बलबाट रु १ लाख जरिवाना गरिएको छ।’, काठमाडौं महानगर प्रहरी बलले भनेको छ । तर, अनामनगर क्षेत्रमा भने बदमासी गर्ने ठेकेदार कम्पनीमाथि अहिलेसम्म कारबाही भएको छैन ।

माघ २९ सम्म सडक कालोपत्रे गर्ने ठेक्का पाएको एक्टिभ मोर्डन कन्ट्रक्सन प्रालिले कालोपत्रे नगरी बाटो अलपत्र पार्दा लाखौं महानगरबासीको स्वास्थ्यमाथि गम्भीर खेलबाड हुन पुगेको छ । ठेकेदार कम्पनीले गत असोजमै कालोपत्रे खनेर बाजेको सेकुवा हुँदै धोबीखोला जोडिने सडक धुलाम्मे पारेको हो । तर ठेक्का अवधि सकिँदा समेत उक्त बाटो कालोपत्रे गर्ने सुरसार छैन ।

काठमाडौं महानगरपालिकाले अन्य ठाउँमा जनस्वास्थ्यमाथि खेलबाड गर्नेलाई कारबाही गरेर राम्रा कदम चालेको कदम चालेको छ । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार अगाडि अनामनगर क्षेत्रमा भएको जनस्वास्थ्यमाथिको गम्भीर खेलबाडमा पनि काठमाडौं महानगरपालिकाको ध्यान जान जरुरी छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ