मधेश सरकारको ‘सिनक्लियर’ नभएपछि उपेन्द्र स्वास्थ्यमा गएनन्


काठमाडौं । स्वास्थ्य र वन मन्त्रालय छाडेर पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार पुनर्गठन भएको छ । स्वास्थ्य र वन जनता समाजवादी पार्टी(जसपा), नेपाललाई छाडेर अन्य मन्त्रालयमा नयाँ मन्त्री पठाइएको हो ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादीका मन्त्री तय हुँदा जसपाले मन्त्री हुनेको नाम पठाएन । जसपा अध्यक्ष उपप्रधान तथा स्वास्थ्यमन्त्री बन्ने लगभग निश्चित भएको थियो । तर, मधेश प्रदेश सरकारको ‘सिनक्लियर’ नहुँदा उनी प्रचण्ड नेतृत्वको सरकारमा सहभागी नभएकाे स्रोतले बतायो ।

मधेश प्रदेश सरकारमा जसपाका सरोजकुमार यादव मुख्यमन्त्री रहेका छन् । मधेश प्रदेशको मुख्यमन्त्रीमा उनले पाँचै वर्ष निरन्तरता पाउने निश्चित नभएसम्म उपेन्द्रले स्वास्थ्यमन्त्रीको सपथ नखाने अडान राखेका छन् । मधेश प्रदेशको कुरा टुंगिएपछि मात्र उपेन्द्र संघीय सरकारमा सहभागी हुने बताइन्छ ।

मधेश प्रदेश सरकारको नेतृत्व एमालेलाई दिने गरी कुरा भएको सुईको पाएपछि उपेन्द्र प्रचण्ड नेतृत्वको सरकारमा जान हच्किएका हुन् । मधेश सरकारको कुरा मिल्नसाथ उनी उपप्रधानसहित स्वास्थ्यमन्त्रीको सपथ खान तयार छन् । मधेशको ग्राउण्ड नै भत्किने गरी एमालेलाई मुख्यमन्त्री दिने कुराको जानकारी पाएपछि उपेन्द्र बिच्किएका हुन् । उनी अहिले कुनै गठबन्धनमा नरहेको भन्दै मधेश सरकार निरन्तरताको सुनिश्चितता खोजिरहेका छन् ।  मधेश प्रदेशको कुरा मिलेपछि मात्र संघीय सरकारमा चढ्ने उपेन्द्रको योजना छ । त्यसैले आज जसपा सपथका लागि सहभागी नभएको उनी निकट स्रोतले बतायो ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ