वडा नं. १० मा आजदेखि स्रोतमै फोहोर वर्गीकरण : संकलन र ढुवानी पनि छुट्टै


काठमाडौं । काठमाडौँ महानगरपालिकाको वडा नं. १० ले आजदेखि वडा क्षेत्रमा फोहोरलाई स्रोतमा वर्गीकरण गर्ने अभ्यास थालनी गरेको छ । विगतदेखि यस क्षेत्रको फोहोर संकलन गरिरहेको निजी संस्था एक्सन वेष्ट र मेट्रो सिटी वेष्ट म्यानेजमेन्टलाई परिचालन गरेर अभ्यास थालिएको हो । यसका लागि फोहोर संकलन गर्ने सवारी साधनमा कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै राख्न कोठा बनाइएका छन् । सहभागिता र सचेतनाका लागि सामाजिक संघसंस्था, व्यवसायीसहित उत्पादकहरुसँग चरणचरणमा छलफल समेत गरिएको छ । कार्यक्रमको जानकारी दिन बुधबार प्रभातफेरी गरिएको थियो । ‘स्रोतमा फोहोर छुट्याएर कुहिने फोहोरलाई घरमै मल बनाउन प्रोत्साहन गरेको महानगरका प्रतिनिधिले बनाए ।

घरेलु फोहोरको दिगो व्यवस्थापनका लागि स्रोतमा वर्गीकरण गर्ने अभ्यासलाई वडा नं. २७ बाट माघ २१ गतेबाट थालिएको हो । वडामा घरघरबाट वर्गीकृत फोहोर छुट्टाछुट्टै संकलन गर्ने गरिएको छ । कुहिने फोहोरलाई टेकु ट्रान्सफर स्टेशनमा ल्याएर जैविक मल बनाउने गरिएको छ ।

के हो, फोहोर वर्गीकरण ?

भान्छामा कुहिने र नकुहिने गरी २ खालको फोहोर जम्मा हुन्छ । कुहिनेलाई छुट्टै र नकुहिनेलाई छुट्टै भाडाँमा राख्नु वर्गीकरण हो । नकुहिने फोहोर उत्पादक आफँैले बेच्न सक्छन् । कुहिने फोहोर आफैँले पनि मल बनाउन सकिन्छ । मल बनाउन सकिएन भने महानगरपालिकाबाट फोहोर संकलन गर्न आएको सवारी साधनमा राखेर पठाउन सकिन्छ ।

तरकारी (साग सब्जी), बढी धएको खानेकुरा, माछा मासु, हड्डी, अण्डा, चियाको छोक्रा, फलफुलका बोक्रा, खानेकुरा केलाउँदा आएको बस्तु, रुखका पात कुहिने फोहोर हुन् । यस्तै प्लाष्टिक, शिसा, कागज, कपडा, जुत्ता, सामान प्याक भएर आएका सामान, काठ, रबर, सिमेन्टको व्याग, बोतलहरु, फलाम आदि नकुहिने फोहोर हुन् ।

यससँगै सेनेटरी प्याड, डाइपर, बिषादिको खाली बोटल, म्यान नाघेका औषधि, मास्क, व्यक्तिगत सुरक्षा पोशाक (पीपीइ), पञ्जा, फुटेका सिसा, घर आँगल बढार्दा आएको धुलो तथा माटो पनि फोहोरका रुपमा संकलन हुन्छ । हिजोआज सहरी क्षेत्रमा सेनटरी प्याडभन्दा औषधि र डाइपरजन्य फोहोरको मात्रा बढ्दै गएको छ । यस्तो फोहोर कुहिने र नकुहिने फोहोर राख्ने भाँडाको नराखी अर्को छुट्टै भाँडामा राख्नुपर्छ ।    विभागले हरेक घर दैलोमा पुगेर फोहोर संकलन गर्ने रुट निर्धारण गर्ने, साधन तथा उपकरणको प्रबन्ध गर्ने, जनशक्ति परिचालन गर्ने, संकलन तथा व्यवस्थापन विधि सिकाउने, समुदायको सहभागिता बढाउने र कामको अनुगमन मूल्याङ्कन गर्ने गरेको छ ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ