हरेक दिन ४ जना महिलाको पाठेघरको मुखको क्यान्सरका कारण मृत्यु हुन्छ

सर्भाइकल  क्यान्सरविरुद्ध लड्न मेरी स्टोप्सले  राष्ट्रव्यापी सचेतना अभियान सञ्चालन गर्दै 


काठमाण्डौं सरकारी तथ्यांक अनुसार हरेक दिन ४ जना महिलाको मृत्यु पाठेघरको मुखमा देखिएको क्यान्सरका कारण हुने गरेको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाकी सुरक्षित मातृत्व शाखा शर्मिला दाहाल पौडेलले पाठेघरको मुखको क्यान्सरका कारण हरेक दिन ४ जना महिलाको मृत्यु हुने गरेको बताइन् । 

सन् २०२२ को तथ्यांकले क्रमश बढ्दो क्रममा देखाएको उनको भनाई छ । पाठेघरको मुखको क्यान्सर नेपालका महिलाहरूमा हुने क्यान्सर मध्ये पहिलो स्थानमा रहेको छ । शर्मिलाका अनुसार प्रत्येक दिन कम्तिमा पनि ६ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको छ । सबै ३० देखि ४९ वर्षका महिलाहरूको प्राथमिकताका साथ स्कृनिङ गर्नु पर्ने भएपनि नेपालमा १० मध्ये करिब १ को मात्र स्कृनिङ हुने गरेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिवार कल्याण महाशाखा, मेरी स्टोप्स इन्टरनेसनल नेपाल र अष्ट्रेलिया सरकारको वैदेशिक मामिला तथा वाणिज्य विभागद्वारा संयुक्त रूपमा पाठेघरको मुखको क्यान्सरविरुद्ध राष्ट्रव्यापी सचेतना अभियान सञ्चालन भएको छ । उक्त अभियानको बिहीवार एक कार्यक्रम गरि शुभारम्भ गरिएको हो । 

तथ्यांक अनुसार नेपालमा नयाँ क्यान्सर रोग पत्ता लाग्ने अनुमानित दर र त्यसबाट हुने मृत्युमा सुधार देखिदैन । स्तन क्यान्सरको नयाँ पत्ता लाग्ने दर १४ दशमलब ४ प्रतिशत र मृत्युको ७ दशमलब ६ प्रतिशत रहेको छ । पाठेघरको मुखको क्यान्सर नयाँ पत्ता लाग्ने दर १४ दशमलब २ र त्यसबाट हुने मृत्यु ८ दशमलब ७ प्रतिशत रहेको छ । 

विश्वमा विभिन्न क्यान्सरको अनुपातमा ब्रेथ क्यान्सर सबै भन्दा अगाडि रहेको छ । त्यस्तै सर्भाइकल क्यान्सर अर्थात पाठेघरको मुखको क्यान्सर पाँचौं स्थानमा रहेको छ । तर, यही समस्या नेपालमा फरक देखिएको छ । नेपालमा  ब्रेथ क्यान्सर पहिलो नम्बरमा रहेको छ भने, पाठेघरको मुखको क्यान्सर दोस्रो नम्बरमा रहेको सन् २०२२ को तथ्यांकले देखाएको छ । 

शर्मिला दाहाल पौडेलले यस कार्यक्रमको मुख्य उद्देश्य भनेको पाठेघरको मुख र स्तन क्यान्सर बारे जानकारी दिनु हो । यसलाई नियमित परिक्षण गराउँने व्यवस्थाको सुरुवात गर्नु अहिलेको आवश्यकता छ । 

मेरी स्टोप्सले पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ र रोकथामका लागि देशभर सचेतना फैलाएर उल्लेखनीय प्रभाव पार्ने लक्ष्य राखेको जनाएको छ । सन् २०२४ मार्च महिनादेखि शुरु हुने यस सचेतना अभियानअन्तर्गत ९ देखि ४९ वर्ष उमेर समूहका किशोरी तथा महिलाहरूलाई लक्षित गरी विभिन्न क्रियाकलापहरू सञ्चालन गरिनेछ । 

मेरि स्टोप्सका सिइओ साइमन कुकले सबैको सहयोगको अपेक्षा राखेका छन् । उनले कार्यक्रममा सम्बोधन गर्दै समस्याका रुपमा देखिएको सर्भाइकल क्यान्सरलाई न्यूनिकरण गर्न सबैसँग हातेमालो गरेर अगाडि बढ्ने बताए ।
पाठेघरको मुखको क्यान्सर नेपालमा महिलाको स्वास्थ्यका लागि ठूलो खतराको रुपमा रहेको छ । सन् २०२२ मा मात्रै २,१६९ जना महिलाहरूमा पाठेघरको मुखको क्यान्सर भएको तथा १,३१३ जनाको मृत्यु भएको तथ्यांक छ । 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ