उपेन्द्रलाई स्वास्थ्यमा जान केपी ओली नै बाधक
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्ने तयारीमा रहेका जसपाका अध्यक्ष उपेन्द्र यादवलाई रोक्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नै सक्रिय भएर लागेको पाइएको छ । उपप्रधानसहित स्वास्थ्यमन्त्री बन्न लागेका यादव ओलीको अडानका कारण रोकिएको पाइएको हो ।
यादव बिहीबार नै उपप्रधानसहित स्वास्थ्यमन्त्रीको सपथ खाने तयारीमा थिए । तर, उपप्रधानमन्त्रीको बरियतामा कुरा नमिल्दा उनले सपथ खान पाएनन् । यादवले उपप्रधानमन्त्रीमा एमालेका रघुवीर महासेठभन्दा अगाडि रहनु पर्ने अडान राखेका थिए । तर, ओलीले कुनै हालतमा रघुवीरभन्दा अगाडि राख्न नसकिने जवाफ दिएपछि यादवको सत्ता यात्रा रोकिएको छ ।
रघुवीरभन्दा मुनि बसेर सरकारमा नजाने यादवको अडान सुनिन्छ । ओली बाधक बन्दा उनको अडान काम नलाग्ने देखिन्छ । ओलीले रघुवीर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपछिको बरियतामा रहने प्रष्ट पारेपछि यादव मन्त्री बनेर जान्छन् की जाँदैन हेर्न बाँकी छ । समाजवादीले यहीँ अवस्थामा आफू नगएर अर्कै व्यक्तिलाई सरकारमा पठाउने सम्भावना पनि उत्तिकै छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस