स्वास्थ्यमन्त्री हटाएका प्रधानमन्त्री प्रचण्डको मुख्यसचिवतिर नजर


काठमाडौं । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई हटाएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नजिर अहिले मुख्यसचिव बैकुण्ठप्रसाद अर्यालतिर पुगेको छ । टेरामक्स प्रकरणमा अख्तियारले बयान लिएका मुख्यसचिव अर्याललाई बर्खास्त गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी देखिन्छ ।

प्रचण्ड निकट उच्च स्रोतका अनुसार उनले मुख्यसचिव डा. अर्याललाई बर्खास्त गर्ने तयारी गरिरहेका छन् ।  स्रोतका अनुसार उनलाई बिदामा बस्न आग्रह गरेपनि नटेरेकाले प्रधानमन्त्री प्रचण्डले बर्खास्त गर्न लागेका हुन् ।

अख्तियारले टेरामक्स प्रकरणमा मुख्यसचिव अर्यालमाथि समेत भ्रष्टाचार मुद्दा दायर गर्न लागेको छ । उनलाई बिदामा बस्न लगाएर प्रचण्डले निजामती प्रशासनलाई सुशासन र अनुशासनको बाटोमा हिँडाउन खोजेका थिए । तर, मुख्यसचिव अर्यालले त्यसलाई पुरै बेवास्ता गरेको पाइन्छ । प्रचण्डले मुख्यसचिव अर्याललाई हटाउने अन्तिम विकल्प प्रयोग गर्न लागेको बताइन्छ ।

‘प्रचण्डले मुख्यसचिव अर्याललाई राजीनामा वा बिदामा बस्ने विकल्प दिनु भएको थियो तर उहाँले मान्नु भएन अब उहाँलाई बर्खास्त गर्ने प्रधानमन्त्री प्रचण्डसँग एक मात्र विकल्प छ, उहाँलाई अब तुरुन्तै बर्खास्त गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी छ ।’, प्रचण्ड निकट उच्च स्रोतले स्वास्थ्य लाइभसँग भन्यो । विवादित मुख्यसचिव डा. अर्याललाई बर्खास्त गर्ने प्रचण्डको योजना पूरा हुन्छ की हुँदैन हेर्न बाँकी छ ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ