डा. बाबुराम मरासिनीले भोगेका १० सचिवमध्ये लोकमान उत्कृष्ट


२००४ सालमा म राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रमा कार्यरत थिएँ । तालिम केन्द्रमा काम गर्न थालेको करिब दुई वर्ष भएको थियो । कार्यालयमा काम गरिरहेका बेला स्वास्थ्य मन्त्रालयबाट खवर आयो । तपाईँलाई सचिव ज्यूले भेट्न खोज्नु भएको छ ! त्यति बेलाका स्वास्थ्य सचिव थिए लोकमानसिंह कार्की । सचिवले भेट्न खोजेको खवर पाएपछि फेरी कुन ठाउँमा सरुवा गर्न लागे भनेर मनमा एक प्रकारको डर उत्पन्न भयो ।

स्वास्थ्य क्षेत्र सम्बन्धी वृहत सुधार योजना सन् २००० देखि सुरु भएको थियो । यो योजना २००२ मा सकियो । सोही समयमा दसौं सुधार योजना पनि लागू भयो । यसका लागि दातृ निकायले ठुलो सहयोग गरेका थिए । उनीहरूको सहयोग भएपनि केही विषयमा चित्त नबुझ्नु दाताहरूका लागि स्वाभाविक पनि थियो । उनीहरूले दसौं सुधार योजनामा तयार भएका केही बुदाहरुमा आपत्ति जनाए ।

हामी सहयोग गर्छौ, तर तिमिहरुले बनाएका १९ वटा क्षेत्रगत विषयमा हामीलाई चित्त बुझेन । वीमा लागु गर्छौ भनेको छ । यसलाई विकेन्द्रीकरण गर्छौ भनिएको छ । बीमा र त्यसको बिकेन्द्रीकरणको आधार के छ भनेर प्रमाण सरकार सँग मागे । यसमा एक दर्जन दाताहरू सहभागी थिए । उनीहरूले १९ क्षेत्रमा गर्ने कार्यक्रममा प्रश्न उठाए । बाँकी काम सबै थाती राख्ने र १९ वटा क्षेत्रको काम एक बर्ष भित्रमा सक्ने भनेर काम अगाडि बढायौँ । नेपालीको प्रती व्यक्ति आय ८० डलर भन्दा कम भएकाले लागू गर्न नसकिने भन्ने रिपोर्ट बनायौँ र बिकेन्द्रीकरणको योजना गर्ने भन्ने निर्णय ग¥यौं । मन्त्री परिषदबाट समेत पास गराएको अवस्थामा विश्व बैंक,  डिएफआइडी लगायतको संस्थाले स्वीकार गरेन । उनीहरूले स्वास्थ्य क्षेत्र कार्यक्रम अनुसार बनाएको योजना नभएको जानकारी गरायो ।

मन्त्री परिषदले निर्णय गरेको विषयलाई स्थगित गरेर पुनः काम सुरु भयो । सबै विषय समेट्दा एक हजार पेजको डकुमेन्ट तयार हुन पुग्यो । पुरै पेज पढेर सल्लाह सुझाव दिन भन्दै मन्त्रालय मातहतका सबै विभागका प्रमुखहरूलाई सचिवले बताएर आग्रह गरे । तर, मन्त्रालयमै भएका एक जना सिनियर अधिकृतले हजार पेज पढेर सुझाव दिने समय नभएको जवाफ सचिवलाई फर्काए । ती कर्मचारीले विश्व स्वास्थ्य सङ्गठनलाई पढ्न लगाएर पास गराउनु पर्छ भन्ने सल्लाह सचिव कार्कीलाई के दिएका मात्रै थिए, सचिव कड्किए । सरकारी डकुमेन्ट विश्व स्वास्थ्य सङ्गठनले पास गर्ने हो ?

कर्मचारीसँग सल्लाह माग्दा दाताले पास गर्छन् भनेपछि कार्कीले आफ्नै कार्यकक्षबाट कर्मचारीहरूलाई बाहिर निकाले । कार्कीमा सुरु देखिनै हक्की स्वभाव भएका कारण गलत नियत राख्ने कर्मचारी प्रति गहन अध्ययन गरिरहन्थे । सबैलाई बाहिर निकालेर उनले भने, यो स्वास्थ्य मन्त्रालय मातहतका स्वास्थ्य चौकी देखि विभाग सम्मका कोही कर्मचारी छैनन् जसले हजार पेज पढेर मलाई सल्लाह सुझाव दिन्छ ? उनले दोस्रो पटक फेरी केही सिनियर अधिकृतहरूलाई बोलाएर सोधे के हाम्रो मन्त्रालय मातहत कोही कर्मचारी छैन त मलाई सल्लाह सुझाव दिने ?

केही पार नलागेपछि सचिवले सम्बन्धित ५ जनाको नाम मागे । ५ जना मध्ये धेरैले डा. बाबुराम मरासिनी भन्ने नाम उच्चारण गरे पछि सचिवले सम्बन्धित ५ जनालाई मन्त्रालयमा बोलाए । पहिलो म दोस्रोमा डा. नरेश प्रताप केसी थिए । सचिवले आफ्नो कार्यकक्षमा लगेर भने हामीले ठुलो कार्यक्रम लागू गर्न लागेका छौं । पढ्नु पर्ने धेरै छ तपाईंले पढेर सम्पन्न गर्ने कार्यमा सहयोग गर्नु हुन्छकी गर्नु हुन्न ? मैले जवाफ फर्काए सचिव ज्यूको सहयोग भयो भने अवश्य सक्छु । अरुले मैले दिएको जस्तो जवाफ दिएनछन् । मलाई थाहा थियो मन्त्रालयमा मन्त्री र सचिव बाहेक अरुको कुनै मान्यता हुदैन भन्ने । जे निर्णय भएपनि कि मन्त्री कित सचिवले गर्ने हो अरुमान्छे सबै मजस्तै हुन भन्थे ।

मैले राखेको कुराबाट सचिव कार्की प्रफुल्ल भए । लगत्तै उनले बोलाए र भने तपाई आजबाट मसँगै बस्नुस् । सचिवले सहसचिवलाई बोलाए । त्यस समयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले सहसचिव विश्वनाथ ढकाल थिए । ढकाललाई बाबुराम मरासिनीलाई मन्त्रालयमै तीन महिनाको काजमा राख्न निर्देशन दिए । काजको दरबन्दी सृजना गर्न तर्फ लाग्नु भन्दै निर्देशन भयो । मलाई सचिवले भने, मरासिनी जी तपाई आजका मिति देखि तालिम केन्द्र जानु पर्दैन ।

सचिवले तत्कालै दरबन्दी सृजना गर्न सहसचिवलाई टिप्पणी उठाएर ल्याउन आग्रह गरे । मन्त्रालयमै राख्ने भनेर मेरै नाममा छुट्टै स्वास्थ्य सुधार कार्यक्रमका लागि विभाग खोलियो । कुरा हुँदा हुँदै मन्त्री परिषद्बाटै निर्णय भएर आयो । यो विषय मैले कल्पना समेत गरेको थिइन । जुन समय मेरो बिभिन्न कारणले उजुरी परेर बढुवा पनि रोकिएको अवस्था थियो ।

सचिवले एक हजार पृष्ठ लामो उक्त डकुमेन्ट ल्याउन पिएलाई आग्रह गरे । डकुमेन्ट पढिसक्ने तपाईँलाई कति दिन लाग्छ ? सचिवले सोधे ! मैले जवाफ फर्काए, एक महिना । सचिवले प्रति प्रश्न गरे । किन ? एक हजार पृष्ठ लामो डकुमेन्ट अध्ययन गर्नका लागि दिनको ३० पेज भन्दा पढ्न सक्दिनँ । मन्त्रालयको नीतिगत कुरा भएकाले कतिपय विषय भेरिफाइ गर्दै पढ्नु पर्ने हुन्छ । म एउटा डकुमेन्ट पढेर सक्थे सचिव फायल उठाऊँ भन्थे मैले रोक्दै लगे । फायल नउठाउने सिधै चिठी लेख्ने सल्लाह दिएँ । अर्थ मन्त्रालयलाई चिठी लेख्ने विश्व बैङ्कलाई बोधार्थ दिने कुरा गरे । एक महिनामा मैले सचिवले लगाएको जति काम सम्पन्न गरे । सचिवलाई समेत यति प्रेसर थियो कि पढेको छ, छैन भनेर मध्यरातमा पनि पढेको छ, छैन भनेर विचार गर्न फोन गर्थे ।

एक महिनामा माथिल्लो प्रेसर धान्न निकै गारो भयो । राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष शंकर शर्मा उनी हक्की स्वभावका थिए । हामीले निर्णय गरेर पठाउन साथ विश्व बैङ्कले ५० मिलियन युएस डलर तत्काल दिने र डिएफआइडीले एक सय ३० मिलियन पाउण्ड दिने निणय तत्काल गर्यो । काम नसघाएको विषयले कर्मचारी देखि रिसाएका सचिवले दाताहरूको बैठकमा मलाई बाहेक अरु कसैलाई लगेनन् । त्यस अघि सम्म सचिव र मेरो देखा भेट जस्तो पनि भएको थिएन । स्वास्थ्य सचिव, अर्थ सचिव, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष सबै टिम केही गर्नु पर्छ भन्ने भावना बोकेका थिए । जसले बषौं देखि रोकिएको रहेको स्वास्थ्य सेवा सुधार योजना पास भयो ।

त्यस बेला भेषबहादुर थापा स्वास्थ्य मन्त्री थिए । कांग्रेस एमालेको संयुक्त सरकार बने पछि केही मन्त्रीहरू फेरिए । भरत मोहन अधिकारी अर्थमन्त्रीमा आए भने स्वास्थ्य मन्त्रीका रुपमा अशोक राई आए । केही समय राम्रै काम हुँदै थियो, अशोक राई र लोकमानको बिचमा केही कुरा नमिले पछि सामान्य मनमुटाव भयो । त्यही विषयलाई लिएर सचिवको सरुवा भयो । उनको सरुवा पछि निमित्त स्वास्थ्य सचिवका रुपमा डा महाबिर कृष्ण मल्लले जिम्मेवारी सम्हाले । त्यस यता स्वास्थ्यमा कहिल्यै सचिव र मन्त्री राम्रो सँग टिकेनन् । छोटो छोटो समयमा फेरबदल हुन थाले र सचिव र मन्त्री बिचको सम्बन्ध पनि प्रगाढ बन्न सकेन । पुनः मोहन बहादुर कार्की सचिव भएर आए ।

स्वास्थ्य क्षेत्र सम्बन्धी वृहत सुधार योजनाको जिम्मा मलाई भएकाले मन्त्री आउँदै पच्छिे आफू अनुकुल कार्यक्रम परिमार्जन गर्न खोजे तर, मैले कार्यक्रम लागू भइसकेकाले सचिव र मन्त्रीको कुरालाई मानिन । उनिहरुलाई बुझाउने काम गरे । चार वर्ष लगाएर लागू गरेको कार्यक्रमको लक्ष्य पुरा गरेपछि अर्को बाटो अपनाउला भनेर छलफल गरियो । एउटा मन्त्री र सचिवलाई एक महीना लगाएर सम्झायो । फेरी सरकार परिवर्तन हुने र नयाँ मन्त्री सचिव आउने सम्झाउँदा सम्झाउँदै स्वास्थ्य मन्त्रालयमा मेरो दश वर्ष बित्यो । त्यस पछि म त्यहाँबाट हटेपछि त्यस बेलाका कार्यक्रमहरू अगाडि बढ्न सकेनन् । उनीहरूले दिएको पैसा स्वास्थ्य मन्त्रालयको आवश्यकता अनुसार आफैले विनियोजन गर्न पाउँथे । डिएफआइडी, विश्व बैङ्क, जर्मन विकास बैङ्क, गाभि, युएसएड लगायतले नेपालको स्वास्थ्य क्षेत्र सम्बन्धी  वृहत सुधार योजना लागू गर्न एकै ठाउँमा पैसा जम्मा गरेका थिए ।

नेपाल धेरै मातृ मृत्युदर भएको देश भनेर विश्वमा बदनाम भएको थियो । त्यसलाई घटाउन हामीले दाताको पैसा, बाल स्वास्थ्य र मातृ स्वास्थ्यमा बढी केन्द्रित भएर कार्यक्रमहरू गर्न पायौँ । २००४ अघि नेपालले मुख देखाउन सक्ने अवस्था थिएन । जापानमा एक जना प्रोफेसरले भने तिम्रो देशमा दुईवटा सगरमाथा रहेछ है ? मैले भने कसरी ? उनले जवाफ दिए एउटा विश्वको सर्वोच्च शिखर सगरमाथा, अर्को धेरै मातृ मृत्युदर भएको सगरमाथा । म कालो निलो हरियो भएँ । बोल्न सकिन । त्यो विषय सम्झिन्छु अहिले पनि लाज लागेर आउँछ ।

दश वर्षमा १० सचिव, ११ मन्त्री फेरिए 
दश वर्षको बिचमा थुप्रै सचिवहरूको अनुभव बटुल्ने मौका पाए । म लोकमानसिंह कार्कीको पालामा आएको थिए । त्यस पछि महावीर कृष्ण मल्ल नियुक्ति भए । त्यसको केही महिनामा मोहन बहादुर कार्की आए । उनि पछि लव कुमार देवकोटा, विष्णु प्रसाद पण्डित, रामचन्द्रमान सिंह, डा. निराकारमान श्रेष्ठ, डा. दीर्घसिंह बम, डा. सुधा शर्मा, डा. प्रविण मिश्र सचिव फेरिन पुगे ।

मन्त्रीहरूः
दश सचिव सँग काम गर्दा ११ जना मन्त्री फेरबदल भए । म स्वास्थ्य मन्त्रालयमा जाँदा भेषबहादुर थापा स्वास्थ्य मन्त्री थिए त्यस पछि अशोक राई, किर्तिनिधि बिष्ट, ताप्लेजुङका लामा पनि थिए मैले नाम भुले । गिरीराजमणि पोखरेल, शक्ति बस्नेत, लोकेन्द्र बिष्ट, अमिक शेरचन, उमाकान्त चौधरी, राजेन्द्र महतो, विद्याधर मल्लिक गरी मैले ११ मन्त्रीको अनुभव गरे ।

तीन जना सचिव उत्तम

सचिव लोकमानसिंह कार्की
मैले धेरैको कामका बारेमा बोल्ने जमर्को गर्दिन । मलाई त्यस अवधिमा तीन जना सचिव उत्तम लागेको छ । लोकमानसिंह कार्की जस्तो सचिव स्वास्थ्य मन्त्रालयले नपाएको भए अहिले सम्म पनि स्वास्थ्य सुधार योजना लागु हुने थिएन । मैले उनलाई स्वास्थ्य मन्त्रालयमा चिनेदेखी नै राम्रो सँग नियाल्ने मौका पाएँ । उनमा एउटा मात्रै उद्देश्य थियो कसरी हुन्छ, स्वास्थ्य क्षेत्रको सुधार जनताले थाहा पाउने गरि गर्नु पर्छ । बर्षौं देखि रोकिएर राखेको स्वास्थ्य सुधार योजना उनीले रातारात गरेर लागू गराए । अन्तराष्ट्रिय क्षेत्रमा समेत बदनाम भएको नेपालको स्वास्थ्य क्षेत्रलाई सही दिसामा कार्कीले ल्याएकै हुन । अब अहिलेको नेतृत्वले काम गर्न सकेन भन्दैमा त्यसलाई दोस दिन मिल्दैन । उनले आफ्नो पालोमा सबै विभागमा कर्मचारीको दरबन्दी पुरा गराएका थिए । हेर्दा मानिसलाई मन नपर्ने तर, सुधारमा अब्बल मानिन्थे । प्रशासनिक  कामहरू आफूमा सीमित नगरी बिकेन्द्रीकरणमा विश्वास गर्ने गर्थे । मन्त्री समक्ष ४ फायल, आफूमा ६ र बाँकी पद अनुसार १२ औं तहबाट सबै निर्णय गराउँथे ।

सचिव रामचन्द्रमान सिंह

राम्रो कार्यक्रम देखिएको मन्त्रालयको रुपमा स्वास्थ्यलाई पुयाएको रामचन्द्रमा सिंहले पनि हो । दाताहरूले समेत उनको काम र क्षमताको प्रशंसा गर्दै लेखेर प्रमाणपत्र दिएका छन् । उनले आफ्नो कार्यकालमा ९० प्रतिशत बजेट काममा खर्च गराएका थिए । उनको कार्य शैलीको दाताहरूले खुलेर प्रशंसा गरेका थिए । आर्थिक व्यवस्थापनमा धेरै ज्ञान भएका सचिव भित्र रामचन्द्रमा सिंहलाई मैले लिएको छु । उनले गराएको बजेट खर्च अहिले सम्म त्यति मात्रामा भएको छैन । उनी जाने बेलामा भनेका थिए । डाक्टर साव अव तपाइहरुका दशाका दिन सुरु भए । डाक्टर सचिव भएर आएपछि ठुलो दुख पाउनु हुन्छ ।

सचिव दीर्घसिंह बम 
सचिवहरू मध्येका राम्रा सचिवका रुपमा डा दीर्घसिंह बमलाई पनि लिनु पर्छ । दैनिक काम काजका हिसाबले बम असाध्यै राम्रा सचिव हुन । उनले दैनिक रुपमा गर्ने कामहरूलाई तत्काल बाटो फुकाउने काम गर्थे । कुनै फायल अनावश्यक रुपमा अड्काउने काम उनीबाट भएन । उनी कर्मचारीलाई चाहिने कुरामा हप्काउने देखि मन्त्री सँग चाहिने कुरामा डिल गर्ने क्षमता राख्थे । दश बर्ष स्वास्थ्य मन्त्रालयमा बस्दै गर्दा डाक्टरमा फरक डाक्टर थिए उनी । सबैलाई आफ्नो अन्डरमा राखेर काम लगाउन सिपालु सचिवका रुपमा चिनिन्छन् ।

त्यति बेलाका सचिवहरु काम सकेर १२ बजे घर जान्थे । सबैले आफ्नो पद अनुसारको काम पाउने गरेका थिए । अहीलेका सचिवहरु रातको १२ बजेसम्म काम गरेरै बस्ने गरेको पाईन्छ । सबै अधिकार आफैले लिने अरुलाई नदिने प्रबृतिले पनि स्वास्थ्यमा पछिल्लो समय समस्या निम्त्याएको छ । हामीले कर्मचारी धेरै राखेर मन्त्रालयलाई हात्ति बनाउने हैन । चितुवा जस्तो बनाउनु पर्छ । मन्त्रालयमा हेर्नेहो भने आधा घण्टा पनि कर्मचारीलाई काम गर्न पुग्दैन । नीति निमार्ण तहलाई बुझेको मान्छे मन्त्रालयमा अहिले आवश्यक देखिन्छ ।

कर्मचारीको हाकिम सचिव हो मन्त्री हैन 

मन्त्रीहरुसंग म डाईरेक्ट भेट्न जादिन थिएँ । हामी व्युरोकेसीमा बस्ने मानिसहरुको पनि आफ्नै अनुसासन हुन्छ र त्यसलाई पालना गर्नु पर्छ भन्ने मान्यता राख्दथे । हाम्रो हाकीम भनेको सचिव मात्रै हो । आफ्नो हाकीम मन्त्री हैन सचिव भएकाले सचिवको अनुमती नलिइ मन्त्री भेट्न जानु मेरालागी उपयुत्त थिएन ।

मन्त्रीले बोलाउदाँ सचिवलाई सोधेर मात्रै जाने गर्थे । त्यसैले पनि होला मन्त्रीहरुका बारेमा मैले खासै खोट लगाउने ठाउँ देखिन । म नजिक नभएर पनि होला । तर, राजेन्द्र महतो अरुको तुलनामा केही ठिक लाग्थो । उसलाई मैले राम्रो मान्नुको पछाडि कारण छ । उनी मन्त्री भएको समयमा स्व. गिरीजा प्रसाद कोइरालाको नाममा श्वास प्रश्वास अस्पताल खुल्ने भयो । सचिवले मलाई भने हस्पिटलको विषयमा छलफल गर्नुस् । धेरैले काठमाण्डौंमा राख्नु पर्छ भनेर दवाव दिए । मैले काठमाण्डौं उपयुत्त हैन भने र पोखरा तर्फ लैजानु पर्छ भन्ने प्रस्ताव राखेँ । मन्त्रीले पोखरा तर्फ हैन जनकपुर आसपासमा लैजानु पर्छ भन्ने कुरा गरे । श्वास प्रश्वासका विरामीहरु धेरै पहाडमा छन् भनेर मन्त्रीलाई बुझाए । मन्त्रीले भने, तपाईको विचरमा के लाग्छ ? मैले भने, मन्त्री ज्यु ः पोखराको आसपास चिसो छ । त्यसैले दमौली पट्टि खोल्दा उपयुक्त होला की मात्रै के भनेको थिए मन्त्री ले तत्काल ठाउँ खोज्न निर्देशन दिए । दमौलिमा रहेको जग्गा उपयुक्त हुने भनेर प्रस्ताव मन्त्री समक्ष लग्नासाथ उनले पास गरिदिए । मन्त्रीलाई हेर्ने आ आफ्नै फरक पाटा हुन्छन् । तर, मैले उनको बुझाई र निर्णय गर्ने क्षमतालाई राम्रो मान्दछु । म सचिवलाई आफ्नो मालिक मान्ने भएकाले मन्त्रीकामा नजाने त्यसैले पनि सचिवको जस्तो मन्त्रीको मुल्याङ्कन गर्न सकिएन ।

क्याटेगोरी : समाचार
ट्याग : ##dr baburam

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ