महालेखापरीक्षक ढुंगाना कि राया !

काठमाडौं । महालेखापरीक्षकसहित रिक्त पदमा नियुक्ति सिफारिसका लागि संवैधानिक परिषद्को बैठक जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको संवैधानिक परिषद्को बैठकले रिक्त महालेखापरीक्षक, निर्वाचन आयुक्त र प्राकृतिक स्रोत तथा वित्त आयोगको एक सदस्यमा नियुक्तिका लागि सिफारिस गर्ने सम्भावना छ ।
संवैधानिक परिषद्को बैठकमा प्रधानमन्त्री दाहाल, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवा, प्रधानन्यायाधीश विशम्म्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख इन्दिरा राना मगर उपस्थित भएका छन् । संवैधानिक परिषद्को सचिवको भूमिकामा मुख्यसचिव रहका छन् ।
रिक्त महालेखापरीक्षकमा पूर्व अर्थसचिव शिशिरकुमार ढुंगानाको दौडधुप बढी देखिन्छ । तर, उनलाई अदालतले ३ हजार रुपैयाँ जरिवाना गरेकाले प्रधानन्यायाधीश श्रेष्ठले रोक्न सक्छन् । त्यस्तो अवस्थामा महालेखापरीक्षकमा नेपाल सरकारका सचिव तोयम रायाले बाजी मार्न सक्छन् । तोयम अख्तियारदेखि अर्थ मन्त्रालयसम्मको सचिवको भूमिकामा काम गरिसकेका निडर व्यक्ति हुन् । प्रधानमन्त्री दाहालले आफ्ना खोजे उनी पनि रोकिने सम्भावना छ ।
त्यस्तै निर्वाचन आयुक्तका लागि शंकरप्रसाद खरेलको दौडधुप देखिन्छ । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलको आर्शिवाद रहेको छ । देउवाले उनको नाममा अडान लिने बताइन्छ । यीबाहेक अन्य व्यक्ति पनि सिफारिसमा पर्न सक्छन् । संवैधानिक परिषद्मा नियुक्तिका लागि सिफारिस भएका पदाधिकारी संसदीय सुनुवाईपछि राष्ट्रपतिबाट नियुक्ति हुने व्यवस्था छ ।
क्याटेगोरी : समाचारट्याग : #तोयम राय, #शिशिरकुमार ढुंगाना
तपाईको प्रतिक्रिया दिनुहोस