तोयम राया महालेखापरीक्षकका लागि सिफारिस


काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयमा सचिव तोयम राया महालेखापरीक्षकमा नियुक्तिका लागि सिफारिस भएका छन् । आईतबार बसेको संवैधानिक परिषद्को बैठकले उनलाई महालेखापरीक्षकमा नियुक्तिका लागि सिफारिस गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको संवैधानिक परिषद्को बैठकले रिक्त महालेखापरीक्षकमा रायालाई नियुक्तिका लागि सिफारिस गरेको उपसभामुख इन्दिरा रानाले बताइन् । संवैधानिक परिषद्बाट नियुक्तिका लागि सिफारिस भएका रायलाई संसदीय सुनुवाईपछि राष्ट्रपतिले नियुक्ति गर्नेछन् ।

संवैधानिक परिषद्को बैठकमा प्रधानमन्त्री दाहाल, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवा, प्रधानन्यायाधीश विशम्म्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख इन्दिरा राना मगर उपस्थित भएका छन् । संवैधानिक परिषद्को सचिवको भूमिकामा मुख्यसचिव रहका छन् ।

आगामी भदौ २६ गते सचिवको ५ वर्षे सेवा अवधिका कारण अवकाश पाउन लागेका राया अख्तियार र अर्थ मन्त्रालयको सचिवको भूमिकामा काम गरिसकेका व्यक्ति हुन् । उनी २०७६ भदौ २६ गते नेपाल सरकारको सचिवमा बढुवा भएर बागमती प्रदेशमा पदस्थापन भएका थिए । त्यसपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय हुँदै केन्द्रीय तथ्याङ्क कार्यालय पुगेका हुन् । पुर्खोली थलो भोजपुर भएका राय मोरङका बासिन्दा हुन् । उनी अहिले काठमाडौं महानगरपालिका वडा नम्बर ३२ पेप्सीकोलामा बस्दै आएका छन् ।

 

क्याटेगोरी : समाचार
ट्याग : #महालेखापरीक्षक तोयम राय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ