राप्ती प्रातिष्ठानमा अत्याधुनिक प्रविधिबाट युरोलोजी उपचार शुरू


काठमाडौं । दाङको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा युरोलोजी सेवालाई थप प्रभावकारी बनाउन नयाँ अत्याधुनिक मेसिन जडान गरिएको छ । लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले अनुदानको रुपमा सहयोगस्वरुप प्रतिष्ठानलाई अहिलेको नयाँ प्रविधिको थुलियम् मेसिन प्रदान गरेको हो । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनाल र प्रदेश स्वास्थ्य सचिव डा. जनार्दन पन्थीले संयुक्त रुपमा प्रतिष्ठानका उपकुलपती डा. विकास लामीछाने र रजिस्ट्रार प्रा. डा. श्याम लम्साललाई मेसिन हस्तान्तरण गरेका हुन् । यो मेसिन देशका सीमित अस्पतालहरूमा मात्र रहेको छ ।  अब लुम्बिनी प्रदेशका जनताले युरोलोजी सेवा लिन काठमाडौं धाउनु पर्ने अवस्थाको अन्त्य हुने डा. लम्सालले बताए ।

युरोलोजि सेवालाई व्यवस्थित, सुरक्षित, प्रभावकारी बनाउन यो मेसिन प्रदेश स्वास्थ्य मन्त्रालयको सहयोगमा प्रतिष्ठानमा थप गरिएको युरोलोजीष्ट डा. प्रबोध रेग्मीले जानकारी दिए । यो मेसिन जडान भइ सन्चालनमा आईसकेको छ । मेसिनको सहायतामा किड्नी, नलि र पिसाब थैलीको पत्थरी फुटाल्न, प्रोष्टेडको ग्रन्थी र क्यान्सरको जोखिम भएको मासु निकाल्न पनि सकिने छ । युरोलोजीष्ट डा. रेग्मिले सन २०१९ देखि यो मेसिन विश्वमा प्रयोग भएको जानकारी दिदै छिटाे छरितो ढङ्गबाट मिर्गौलामा भएका हरेक किसिमका ढुङ्गा फुटाउन सकिने बताए । उनले अरु भन्दा धेरै राम्रो शक्तिशाली मेसिन प्रतिष्ठानमा आएको भन्दै अन्य मेसिन भन्दा यो धेरै प्रभाबकारी रहेको पनि जानकारी दिए । उनले मेसिन जोडिएसँगै युरोलोजी सेवा लिन अब अन्यत्र जानु नपर्ने भन्दै सबै सुविधा प्रतिष्ठानमा रहेको पनि प्रस्ट पारे । मुलुकका ५ वटा अस्पतालमा मात्रै थुलियम् मेसिन जडान गरिएको भन्दै डा. रेग्मीले वीर हस्पिटल काठमाडौं र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा अहिलेसम्म नरहेको सेवा दाङबाट दिन थालीएको पनि बताए भयो । साथै उनले यो मेसिनबाट बिरामीको अप्रेसन सुरक्षित, भरपर्दो र विश्वासिलो रहेको पनि दाबी गरे ।

डा. रेग्मीका अनुसार प्रतिष्ठानमा युरोलोजी सेवा अन्तर्गत हालसम्म ३ सय साना तथा ठूलो अपरेसन गरिएको र सबै अपरेशनहरु सफल भएका छन् । जसअनुसार गएको भदौदेखि हालसम्म डेढ सय मृगौलामा भएको पत्थरीको अपरेसन गरिएको छ  ।  प्रोष्टेडसहित अन्य युरोलोजि सेवा डेढ सय जना बिरामीलाई दिइएको छ । प्रदेश स्वास्थ्यमन्त्री राजु खनालले प्रतिष्ठानलाई मेसिन हस्तान्तरण गर्दै आफू दङ्गाली भएकाले पनि मन्त्रालयको सहयोगमा सेवा थप गरिएको बताए । दाङकै मन्त्री र स्वास्थ्य सचिव भएको बेला प्रतिष्ठानलाई अरु सहयोगलाई पनि निरन्तरता दिइने धारणा राखे । त्यस्तै प्रदेश स्वास्थ्य सचिव डा. जनार्दन पन्थीले प्रदेश स्वास्थ्य मन्त्रालयबाट मेसिन सहयोग गरेर सेवा बिस्तार गर्न पाँउदा खुसी लागेको बताए ।  आफू प्रतिष्ठानको सेवाग्राही पनि भएकाले सबै प्रकारका सेवा थपमा सहयोग हुने उनको आश्वाासन छ ।

राप्ती प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले प्रतिष्ठानलाई मेसिन सहयोग गरेकोमा स्वास्थ्यमन्त्री राजु खनाल, प्रदेश स्वास्थ्य सचिव डा. जनार्दन पन्थीसहित प्रदेश सरकारलाई धन्यवाद टक्र्याए । उनले आउँदा दिनमा पनि सहयोग जारी राख्न आग्रह गरे । सचिव पन्थीले एमबीबीएसको कक्षा सन्चालनको तयारीको लागि प्रदेश स्वास्थ्य मन्त्रालयले जिल्ला जनस्वास्थ्य कार्यालय दाङको कार्यालय भबन प्रतिष्ठानलाई हस्तान्तरण गर्ने निर्णय गरेकोमा प्रदेश स्वास्थ्य मन्त्री, सचिवलाई पनि धन्यवाद दिए । प्रतिष्ठानका रजिस्ट्रार  प्रा. डा. लम्सालले प्रदेश स्वास्थ्य मन्त्रालयको २ करोडको अनुदान सहयोगमा मेसिन प्राप्त गरिएको र सेवा विस्तारलाई थप सहयोग मिलेको बताए। त्यस्तै प्रतिष्ठानका कामु निर्देशक डा. रमेश कडेलले नयाँ मेसिन प्रतिष्ठानले प्राप्त गरेकोमा खुसी व्यक्त गरे ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ