वाइडबडीमा भ्रष्टाचार मुद्दा गयो, मोहन बस्नेत जोडिएको टेरामक्समा कहिले ?


काठमाडौं । वाइडबडी विमान खरिद प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिद प्रकरणमा तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही, सचिव शंकरप्रसाद अधिकारी, नेपाल वायुसेवा निगमका तत्कालीन प्रमुख सुगतरत्न कंसाकार, पूर्व अर्थसचिव शिशिरकुमार ढुंगाना, तत्कालीन सहसचिव जीवनप्रकाश सिटौला, पयर्टन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेसहित ३१ जनाविरुद्ध भष्टाचार मुद्दा दायर गरेको हो ।

कांग्रेस नेतृ आरजु राणा देउवाका विश्वासपात्र तत्कालीन पर्यटन सचिव अधिकारीसहितलाई झन्डै डेढ अर्ब बिगो दाबीसहित अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ । महालेखापरीक्षक हुन नसकेका पूर्व अर्थसचिव ढुंगाना पनि भ्रष्टाचार मुद्दामा परेका छन् । नेपाली कांग्रेस कर्णालीको संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री समेत रहेका शाही संघको पर्यटनमन्त्री हुँदाको वाइडबडी विमान खरिदमा भ्रष्टाचारमा मुद्दा दायर भएको हो । सम्पत्ति शुद्धीकरण विभागका तत्कालीन महानिर्देशक एवं निगम सञ्चालक समितिका तत्कालीन सदस्य जीवनप्रकाश सिटौला पनि वाइडबडी घोटालामा परेका छन् ।

अख्तियारले तत्कालीन सञ्चालक समिति सदस्य अच्युतराज पहाडी, निगमका तत्कालीन नायब महाप्रबन्धक रमेशबहादुर शाह, तत्कालीन निमित्त निर्देशक तथा वरिष्ठ क्याप्टेन रवीन्द्रकुमार शेरचन, तत्कालीन कायममुकायम निर्देशक रवीन्द्र श्रेष्ठविरुद्ध समेत भ्रष्टाचार मुद्दा चलाएको छ। निगमका निर्देशकत्रय उपेन्द्र पौडेल, उमेश पौडेल र श्रवण रिजाललाई पनि यो भ्रष्टाचार मुद्दाको प्रतिवादी बनाइएको छ ।अख्तियारले निगमका तत्कालीन निमित्त उपनिर्देशक पारस पौडेल र वर्तमान उपनिर्देशक बृहत्तमान तुलाधारविरुद्ध पनि भ्रष्टाचार मुद्दा चलाएको हो ।

तत्कालीन पर्यटनमन्त्री र सचिव जोडिएको वाइडबडीमा भ्रष्टाचार मुद्दा दायर हुँदा टेरामक्स खरिद प्रकरणको भ्रष्टाचार मुद्दा पनि दायर गर्ने तयारी भइरहेको अख्तियार स्रोतले बतायो ।  टेरामक्समा तत्कालीन सञ्चारमन्त्री मोहनबहादुर बस्नेत, ज्ञानेन्द्रबहादुर कार्की, सचिवहरु महेन्द्रमान गुरुङ, बैकुण्ठप्रसाद  अर्यालल, सहसचिव विनोदप्रकाश सिंह लगायत जोडिएका छन् ।

वाइडबडीमा तत्कालीन मन्त्री, सचिव, सहसचिवलाई भ्रष्टाचार मुद्दा दायर गरेर अख्तियारले टेरामक्सका लागि आधार तयार पारेको छ । वाइडबडीको नजिर र आधारले टेरामक्समा पनि तत्कालीन राजनीतिक र प्रशासनिक नेतृत्वविरुद्ध भ्रष्टाचार मुद्दा जाने अख्तियार स्रोतको दाबी छ । टेरामक्समा मुद्दा ढिला हुँदा मुख्यसचिव डा. बैकुण्ठप्रसाद अर्यालले कुण्ठा साधेर बसिरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयभित्रै चर्चा हुन थालेको छ । बदनाम मुख्यसचिव अर्यालमाथि पनि चाँडै भ्रष्टाचार मुद्दा दायर हुने अख्तियार स्रोताको भनाइ छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ