६० प्रतिशत रोग वन्यजन्तुबाट मानिसमा सर्छ, तर अचम्म मृत्यु नहुदाँ परिक्षण हुदैन


चितवन । चितवन राष्ट्रिय निकुञ्जको अगुवाइमा “वान हेल्थ” अवधारणा बारे समुदायसँग उच्चस्तरीय कार्यक्रमको आयोजना  गरिएको छ । अमेरिकन राजदूतावास, युनाइटेड स्टेट डिपार्टमेन्ट अफ एग्रिकल्चर र सेन्टर फर मलिक्युलर डाइनामिक्सको संयुक्त आयोजनामा एक उच्चस्तरीय कार्यक्रम गरिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जसँग आवद्ध संघ सस्था , नागरिक अगुवा र स्थानीय सरकारका प्रतिनिधिहरूसँग वान हेल्थ अवधारणा, यसले पारेको असर र बच्ने उपायहरूको खोजी भएको छ । कार्यक्रममा सहभागी अधिकारीहरूले नेपाल जुनोटिक रोगहरूको उच्च जोखिममा रहेको औँल्याएका छन् । जुनोटिक रोगका कारणले हुने महामारी र स्वास्थ्य प्रकोपको जोखिमलाई रोक्न तथा न्यूनिकरणमा ध्यान दिन सहभागीहरूले जोड दिएका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रूपाखेतीले सन् २००६ देखि तीन – तीन वर्षको अन्तरालमा डेंगी देखिन थालेको बताए । उनले यसको कारण पत्ता लगाउन आवश्यक ठानेका छन् । डेंगी पहिलो पटक नेपालमा सन् २००४ बाट देखिन थालेको हो । सोही समयमा चितवनमा पहिलो केस पुष्टि भए देखि हाल सम्म हरेक वर्ष देखिएको छ । रूपाखेतीले डेंगु समुदाय स्तरमा फैलदो क्रममा भएको स्पष्ट पारे ।

प्रमुख रूपाखेतीले चितवनमा गरिएको अनुसन्धानलाई देखाउँदै आधिकांश केस डायरमा देखिएको बताए । लामखुट्टेको वृद्धि विकास रोक्न वातावरणको उचित व्यवस्थापन जरुरी रहेको प्रमुख रूपाखेतीले बताए । उनले अहिलेको अवस्थामा डेंगु रोक्न सम्भव नभएको भन्दै विद्यालय स्तरबाटै प्रचार प्रसार आवश्यक भएको बताए ।

जलवायु परिवर्तन र विकास निर्माणसँगै कीटजन्य रोगहरू हिमाली जिल्लाहरूमा समेत देखिन थालेको छ । चितवन राष्ट्रिय निकुञ्जका बरिष्ठ पशु चिकित्सक डा विजय कुमार श्रेष्ठले पशुबाट मान्छे, मान्छेबाट पशुमा लाग्ने रोग नै जुनोटिक भएको बताए । “विगतमा जनावरको स्वास्थ्यलाई कसैले ध्यान दिदैँन थिए डा श्रेष्ठले भने,” “अहिले आधिकांश रोगहरू जनावरबाटै मान्छेमा आएपछि जनावरको स्वास्थ्य पहिलो प्राथमिकतामा परेको छ ।”

वान हेल्थ अवधारणाले मानव स्वास्थ्य जनावरको स्वास्थ्य र वरिपरिको वातावरणसँग निकटतम सम्बन्ध रहेको देखाउँछ । डा श्रेष्ठले ६० प्रतिशत रोग जनावरबाट मानिसमा सरको स्पष्ट पारे । प्राचीन कालमा नभएको रोगहरू अहिले धमाधम देखिन थाल्नुले पनि वान हेल्थ अवधारणालाई आत्मसाथ गर्दै अगाडि बढाउनु पर्ने देखाएको छ ।

विश्वका कतिपय देशहरूमा बन्यजन्तुको सेवनमा निकै कडाइ गर्न थालिएको छ । उनले कोभिड हुनुमा वन्यजन्तु व्यापारको ठुलो हात रहेको छ । जनावरमा देखिएको क्षयरोग मानिसमा पनि देखिएको छ ।

क्षयरोगकै कारण धेरै चितवनमा हात्तीको मृत्यु भएको छ । गैँडामा भने फरक प्रकारको क्षयरोग देखिएको श्रेष्ठले बताए । त्यस्तै मलेरियाको जीवाणु पनि परिक्षण गर्न थालिएको छ । ६० प्रतिशत रोग जनावरबाट मानिसमा सर्ने गरेको छ । तर, दुर्भाग्य जनावरको मृत्यु नहुदाँ सम्म उसको स्वास्थ्य परिक्षण हुदैन डा श्रेष्ठ सुनाउँछन् । वान हेल्थको मुख्य भूमिका भनेकै वन्यजन्तुको हो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ