नेपाल टेलिकमका एमडी सुनिल पौडेल भ्रष्टाचारी ठहर, सचिव मरासिनीले पाए सफाइ

काठमाडौं । नेपाल टेलिकमका प्रबन्ध निर्देशक (एमडी) सुनिल पौडेल भ्रष्टाचार ठहर भएका छन् । विशेष अदालतले नेसनल पेमेन्ट गेटवे सिस्टम खरिद प्रकरणमा पौडेललाई भ्रष्टाचारी ठहर गरेको हो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले पौडेललाई भ्रष्टाचारी ठहर गर्दै अन्यलाई सफाइ दिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोज १५ गते टेलिकमका एमडी पौडेलसहित ९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । नेपाल सरकार बहालवाला सचिव मधुकुमार मरासिनी र पूर्वसचिव सञ्जय शर्मालगायत पनि उक्त भ्रष्टाचार मुद्दाको प्रतिवादी बनेका थिए । शुक्रबार विशेष अदालतले गरेको फैसलामा सचिव मरासिनीसहित ८ जनालाई सफाइ दिएको छ । उक्त फैसलाको सजाय निर्धारणका लागि २५ गते पेशी तोकिएको छ ।
नेसनल पेमेन्ट गेटवे सिस्टम खरिदमा राष्ट्रिय सूचना प्रविधि केन्द्रका पौडेलसहित ९ जनाविरुद्ध २३ करोड २७ लाख ५८ हजार ७७ रुपैयाँ बिगो मागदाबी गरिएको थियो । उक्त भ्रष्टाचार मुद्दालाई विशेष अदालतले फास्ट ट्रयाकमा फैसला गरेको हो । टेलिकमका एमडी पौडेलबाहेक अन्यलाई सफाइ दिने गरी विशेषले निर्णय गरेपछि थप चर्चा सुरु भएको छ ।
विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार नेसनल पेमेन्ट गेटवे सिस्टम भ्रष्टाचार मुद्दामा सुनिल पौडेलबाहेक राष्ट्रिय सूचना प्रविधि केन्द्र कार्यकारी निर्देशक प्रणिता उपाध्याय, प्रणिता उपाध्याय, उपनिर्देशक सफल श्रेष्ठ, रमेश पोखरेल, रामबहादुर बुढा, रामशरण गायक, नीमबहादुर ओली, सञ्जय शर्मा र मधुकुमार मरासिनीले सफाइ पाएका छन् ।
क्याटेगोरी : समाचारट्याग : ## मधु कुमार मरासिनी, #नेपाल टेलिकमका एमडी सुनिल पौडेल, #नेसनल पेमेन्ट गेटवे
तपाईको प्रतिक्रिया दिनुहोस