‘नेसनल पेमेन्ट गेटवे’को मूल्यभन्दा सुनिलको अकुत सम्पत्ति बढी


काठमाडौं । ‘नेसनल पेमेन्ट गेटवे सिस्टम’को भन्दा सुनिल पौडेलको गैरकानुनी सम्पत्ति बढी देखिएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुनिलविरुद्ध २३ करोड ७५ लाख बढी बिगो मागदाबीसहित गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा दायर गरेको हो ।

सुनिलमाथि अख्तियारले मागदाबी गरेको उक्त बिगो रकम भ्रष्टाचारी ठहर भएको ‘नेसनल पेमेन्ट गेटवे सिस्टम’को भन्दा बढी बिगो हो ।  ‘नेसनल पेमेन्ट गेटवे सिस्टम’मा २३ करोड २७ लाख ५८ हजार ७७ रुपैयाँ बिगो मागदाबी गरिएको थियो । उक्त भ्रष्टाचार मुद्दा विशेष अदालत सुनिललाई दोषी ठहर गरिसकेको छ । उनीविरुद्ध अख्तियारले आईतबार अकुतको अर्को भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक तथा नेपाल दुरसञ्चार कम्पनी लिमिटेडका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल उपर बिगो २३ करोड  ७५ लाख  ४६ हजार ३२४ रुपैयाँ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर गरेको अख्तियारले जनाएको छ ।

आईटी माफिया विकल र सुनिलविरुद्ध अख्तियारले एकैदिन विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । विकलविरुद्ध पनि यो दोस्रो भ्रष्टाचार मुद्दा हो । अख्तियारले सुरक्षण मुद्रण केन्द्र, सिंहदरवारका तत्कालीन कार्यकारी निर्देशक (हाल निलम्बित) पदमा कार्यरत विकल पौडेल उपर झुट्टा विवरण पेश गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर गरेको हो । पौडेल बन्धु विकल र सुनिल एकपछि अर्को भ्रष्टाचार मुद्दा सामना गरिरहेका छन् ।

अख्तियारको प्रेस विज्ञप्ति

     विषय: आरोपपत्र दायर गरिएको ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलले पदीय मर्यादा विपरीतका कार्यहरू गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज सुनिल पौडेल मिति 2061/02/20 मा राष्ट्रिय सूचना प्रविधि केन्द्र, सिंहदरवारमा प्रशासकीय अधिकृतको पदमा करार सेवामा नियुक्त भई मिति 2062/10/28 सम्म कार्यरत रहेको, निज पुनः मिति 2065/03/12 मा राष्ट्रिय सूचना प्रविधि केन्द्र, सिहदरवारमा नै कम्प्युटर इन्जिनियर पदमा करारमा नियुक्त भई मिति 2075/04/20 सम्म सो केन्द्रको बिभिन्न पदमा करारमा कार्यरत रहेकोमा मिति 2075/04/21 मा सो केन्द्रको कार्यकारी निर्देशक पदमा नियुक्त भई मिति 2078/12/24 सम्म सोही पदमा कार्यरत रहेको र मिति 2078/12/2५ देखि नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशक पदमा नियुक्त भई कार्यरत रहँदाको अवधिमा निजको आयतर्फ अंशहक वापत प्राप्त रकम, राष्ट्रिय सूचना प्रविधि केन्द्रबाट पारिश्रमिक बचत तथा अन्य सुबिधावापत प्राप्त रकम, नेपाल टेलिकमबाट पारिश्रमिक बचत, नेपाल टेलिकमबाट प्राप्त स्वदेश तथा विदेश भ्रमण भत्ता वापत प्राप्त रकम, बिभिन्न कम्पनीको शेयर बिक्री गर्दा प्राप्त रकम मध्ये खरिद गर्दा स्रोत खुलेको शेयर बिक्रीवापत प्राप्त रकम, सवारी साधन बिक्रीबाट प्राप्त रकम र स्वदेशमा रहेका बैङ्क निक्षेपवापत प्राप्त बैङ्क ब्याज रकमसमेत गरी जम्मा रु.1,19,24,846।47 (एक करोड उन्नाईस लाख चौबीस हजार आठ सय छयालीस पैसा सड्चालीस) आय आर्जन गरेको देखिन्छ।
यसैगरी व्ययतर्फ राष्ट्रिय सुचना प्रवधि केन्द्रको कार्यकारी निर्देशक भएको अवधिमा आफैले टेण्डरहरुको कोटेशन (Quotation) बनाई योजनाबद्ध ढङ्गले आफैले चाहेको स्वदेशी आपूर्तिकर्ता WDN, OBCI, MAX, Next Gen Solution हरुसँग ठेक्का सम्झौता गर्ने र उक्त स्वदेशी आपूर्तिकर्ताहरुले सोही अवधिमा विदेशी आपूर्तिकर्ता Instasafe Inc र Bancotec Pte Ltd जस्ता कम्पनीहरुसँग साझेदारी गरी सूचना प्रविधिसँग सम्बन्धित सामानहरु स्वदेशमा आपूर्ति गर्ने गरेको र सो साझेदारी बापत विदेशी कम्पनीहरुले कमिशन बापत निजको सिङ्गापुर स्थित युनाईटेड ओभरसिज बैङ्कको बैङ्क खातामा प्राप्त रकम, सोही बैङ्कबाट ट्रान्सफर गरेको रकम, सहोदर दाई अनिल पौडेलमार्फत घरजग्गा लगायतका क्षेत्रमा लगानी गरेको रकम, विदेशमा गहना खरिद गर्दा खर्च गरेको रकम, विद्युतीय माध्यमको प्रयोग गरी अमिल्दो र उच्च जीवनस्तर यापनमा गरेको अन्य खर्च रकम, स्वदेशी बैङ्कहरुमा रहेको बैङ्क मौज्दात रकम, बिभिन्न कम्पनीहरुको शेयर खरिदमा खर्च गरेको रकम, सिङ्गापुरको प्रुण्डेसियल कम्पनीमा जीवन बीमाको प्रिमियमवापत तिरेको रकम, निजी तवरमा बिभिन्न देशमा भ्रमण गर्दा हवाई यात्रा/भ्रमण खर्च रकम, स्वदेशमा सुनचाँदी, हिरा/जवाहरात खरिद गर्दा खर्च गरेको रकम, स्वदेशमा बीमाको प्रिमियमवापत खर्च गरेको रकम, घरबहाल खर्चवापत तिरेको रकम, विदेशमा होटलबासवापत खर्च गरेको रकम, सवारी साधन खरिद गर्दा खर्च गरेको रकम, सवारी कर दस्तुर र नविकरणवापत खर्च गरेको रकम, नगद मौज्दात रहेको रकम र विदेशमा कपडा खरिद गर्दा खर्च गरेको रकम गरी जम्मा रु.24,94,71,171।04 (चौबीस करोड चौरानब्बे लाख एकहत्तर हजार एक सय एकहत्तर रुपैयाँ पैसा चार) खर्च तथा लगानी गरेको देखिन्छ।
यसरी हेर्दा जाँचअवधिमा सिर्जित सम्पत्ति एवं खर्च तथा लगानीहरुमा गरिएको कुल खर्च र सोही अवधिको आयहरुको आय-व्यय प्रवाह विवरण (Income Expenditure Flow Chart) अनुसार जाँच अवधिमा स्रोत खुल्न आए बमोजिम निज सुनिल पौडेलको वैध आय रु.१,१९,२४,८४६।४७ बाट निजले गरेको कुल खर्च (व्यय) रु.24,94,71,171।04 घटाउँदा हुन आउने रु.२३,७५,४६,३२४।५७ (तेइस करोड पचहत्तर लाख छयालीस हजार तीन सय चौबीस रुपैया पैसा सन्ताउन्न) बराबरको खर्च तथा लगानी (सम्पत्ति) को बैधानिक स्रोत खुलेको नदेखिएकोले आय भन्दा व्यय बढी भै ऋणात्मक देखिंदा निज सुनिल पौडेलले आफू कार्यकारी प्रमुख भएका निकायहरुमा सामग्री आपूर्ति गर्ने स्वदेशी तथा विदेशी कम्पनीहरुसँग मोलमोलाई गरी ती कम्पनीहरुसँग गैरकानूनी कमिशन लिई विदेशी बैङ्कमा गैरकानूनी रुपमा बैङ्क खाता खोली रकम जम्मा गर्ने र त्यस्तो गैरकानूनी रकम स्वदेशमा र विदेशमा रहेका आफन्तमार्फत विभिन्न क्षेत्रमा लगानी गर्ने, आफ्नो हैसियतभन्दा बढी खर्च गरी अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गर्ने गरेकोसमेत प्रमाणित हुन आएकाले स्रोत नखुलेको रु.२३,७५,४६,३२४।५७ बराबरको सम्पत्ति निजले गैरकानूनी रुपमा आर्जन गरेको पुष्टि हुन आएको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुरमा रु.२३,७५,४६,३२४।५७ (तेइस करोड पचहत्तर लाख छयालीस हजार तीन सय चौबीस रुपैया पैसा सन्ताउन्न) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम बिगो अनुसार कैद र बिगोबमोजिम जरिवानाको सजाय हुन।
निज सुनिल पौडेलले राष्ट्रिय सूचना प्रविधि केन्द्र र नेपाल दूरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम)मा राष्ट्रसेवकको रुपमा कार्यरत रहँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० बमोजिम पेस गरेको सम्पत्ति विवरणमा वास्तविक भए रहेको सम्पत्ति लुकाई/छिपाई झुट्टा विवरण पेस गरेको पुष्टि भएको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (२) बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (२) बमोजिम कैद र जरिवाना सजायसमेत हुन एवं निज नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, राष्ट्रिय सूचना प्रविधि विकास समिति, राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक र नेपाल दूरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम)को प्रबन्ध निर्देशक समेतमा नियुक्त भएको पदाधिकारी रही निज सुनिल पौडेलले भ्रष्टाचार निवारण ऐन, 2059 को परिच्छेद २ (भ्रष्टाचारको कसुर र सजाय सम्बन्धी व्यवस्था) अन्तर्गतका माथि उल्लिखित मागदाबी बमोजिमको कसुर गरेको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, 2059 को दफा २४ बमोजिम थप सजाय हुन।
निजले गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 20 को उपदफा (२), ऐ.ऐनको दफा ४७, अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. र पारस्परिक कानूनी सहायता ऐन, 2070 को दफा 12, कसूरजन्य सम्पत्ति तथा साधन (रोक्का, नियन्त्रण र जफत) ऐन, 2070 को दफा 10 र 11 समेतको प्रचलित कानून बमोजिम जफत/असुल उपर हुन।
साथै राष्ट्रसेवक निज सुनिल पौडेलले सार्वजनिक सेवाको पदमा रहँदाका बखत अख्तियारको दुरुपयोग गरी गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको स्रोत नखुल्ने सम्पत्तिबाट निजको सहोदर दाजु अनिल पौडेलका नाममा खरिद गरिएका घरजग्गा भ्रष्टाचार निवारण ऐन, 2059 को दफा ४७ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. बमोजिम जफत गर्ने प्रयोजनार्थ मात्र निज अनिल पौडेललाई प्रतिवादी कायम गरी आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।

प्रवक्ता
नरहरि घिमिरे

क्याटेगोरी : समाचार
ट्याग : #अकुत सम्पत्ति, #आइटी माफिया विकल पौडेल सुनिल पौडेल, #निलम्बित नेपाल टेलिकमका एमडी सुनिल पौडेल, #नेसनल पेमेन्ट गेटवे

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ