फैसलाको पूर्णपाठ नआउँदै मरासिनी बने अर्थसचिव, मुख्यसचिवको शंकास्पद भूमिका
काठमाडौं । नेसनल पेमेन्ट गेटवे सिस्टम भ्रष्टाचार मुद्दामा फैसलाको पूर्णपाठ नआउँदै मधुकुमार मरासिनी अर्थसचिव बनेका छन् । शुक्रबार मात्र उक्त भ्रष्टाचार मुद्दामा सफाइ पाएका उनी रातारात अर्थसचिव बन्न सफल भएका छन् । बजेटको मुखमा अर्थसचिव फेर्न नहुने अडान राख्दै आएका मुख्यसचिव डा. बैकुण्ठ अर्याल पनि मधुको हकमा साखुल्य बनेका हुन् ।
नेसनल पेमेन्ट गेटवे सिस्टम खरिद भ्रष्टाचारमा बैशाख २५ गते सजाय निर्धारण हुँदै छ । उक्त भ्रष्टाचार मुद्दामा सुनिल पौडेल दोषी ठहर भएपनि मरासिनीसहित अन्य सबैले सफाइ पाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनिल र मरासिनीसहित ९ जनाविरुद्ध गत असोज १५ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उक्त मुद्दा ६ महिनामै फास्ट ट्रयाकबाट फैसला भएर सुनिलबाहेकका सबैले सफाइ पाएका हुन् । मरासिनीले जसरी फास्ट ट्रयाकमा विशेष अदालतबाट सफाइ पाए त्यसैगरी कृष्णहरि पुष्कर कर्णलाई विस्थापित गरेर फास्ट ट्रयाकमा अर्थसचिव बनेका छन् । उनी विशेषको फैसलाको पूर्णपाठ पनि नकुरी हतारमा अर्थसचिव बनेपछि आलोचना हुन थालेको छ ।
स्रोतका अनुसार कृष्णहरिलाई हटाएर अर्जुनप्रसाद पोखरेललगायत अर्थसचिव बन्न खोज्दा मुख्यसचिव अर्यालले बजेटको मुख्य अर्थसचिव फेर्न नहुने अडान राखेका थिए । पुष्करलाई हटाउन लागिपरेका अर्थमन्त्री बर्षमान पुन पनि मुख्यसचिव अर्याल कै कारण ‘ब्याक’ भएको र बजेट निर्माणको काम सम्पन्न नभएसम्मका लागि उनैलाई राख्न राजी भएको चर्चा चल्दै आएको छ । तर, मधुले सफाइ पाउनेवित्तिकै उनै मुख्यसचिव अर्याल अर्थसचिव सरुवाको पत्रमा हस्ताक्षर गर्न आतुर भए । यसले उनको भूमिका समेत शंकास्पद देखिन्छ ।
टेरामक्स खरिदलगायतका काण्डमा अख्तियार पुगेर बयान दिइरहेका मुख्यसचिव अर्याल मधुको पक्षमा खुलेरै लागेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा चर्चा छ । यो कदमले अख्तियारलाई समेत चुनौती दिएको जस्तो देखिने प्रधानमन्त्री कार्यालयका अधिकारीहरु बताउँछन् । सुशासन र वित्तीय अनुशासनमाथि नै प्रश्न खडा हुने गरी मधुलाई अर्थसचिव बनाइएकोमा अख्तियारका अधिकारीहरुले पनि असन्तुष्टि प्रकट गरेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : ## मधु कुमार मरासिनी, #अर्थसचिव, #टेरामक्स, #निलम्बित नेपाल टेलिकमका एमडी सुनिल पौडेल, #नेसनल पेमेन्ट गेटवे, #मुख्यसचिव डा. बैकुण्ठ अर्याल, #सचिव डा. कृष्णहरि पुष्कर कर्ण
तपाईको प्रतिक्रिया दिनुहोस