सिआईबीको हिरासतमा रहेका अख्तियारका इन्जिनियर अर्यालसहितलाई छुटाउन यातायातका पूर्वडिजीहरू सक्रिय


काठमाडौं । नक्कली लाइसेन्स प्रकरणमा अनुसन्धानका क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)को हिरासतमा रहेका अख्तियारका कम्प्युटर इन्जिनियर सुरजप्रकाश अर्यालसहितलाई छुटाउन यातायातका पूर्वमहानिर्देशक (डिजी)हरू सक्रिय भएको पाइएको छ । सिआईबी स्रोतका अनुसार नक्कली लाइसेन्स छानबिनलाई प्रभावित बनाउन यातायातका पूर्वमहानिर्देशकहरू सक्रिय भएका छन् ।

गाडीले हानेर मान्छे मार्ने शशांक बस्याललाई हिरासतमै नक्कली लाइसेन्स उपलब्ध गराउने यातायात कार्यालय बुटवलका अधिकृत नारायण पाण्डे, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कम्प्युटर इन्जिनियर अर्याल र यातायात व्यवस्था विभागका पूर्वकम्प्युटर इन्जिनियर हरिश भट्ट अहिले सिआईबीको हिरासतमा पुगेका छन् । उनीहरुलाई छुटाउन विभागका पूर्वडिजीहरु डा. टोकराज पाण्डे, नमराज घिमिरे, गोगनबहादुर हमाल, नारायणप्रसाद भट्टराईहरु सक्रिय रहेको सिआईबी स्रोतले बतायो ।

नक्कली लाइसेन्स जारी गर्न धन्दामा सक्रिय रहेका यातायात कार्यालय बुटवलका कम्प्युटर अपरेटर लक्ष्मण पाण्डेलाई गिरोहले भगाइसकेको छ । नक्कली लाइसेन्सको छानबिनमा सेटिङ मिलाउन काठमाडौंमै सक्रिय रहेका पाण्डे सिआईबीले छानबिन सुरु गरेपछि एक्कासी लापत्ता भएका हुन् ।सिआईबीको हिरासतमा रहेका पाण्डे, अर्याल र भट्टको पनि ‘केस स्टाब्लिस’ हुँदैन भनेर छुटाउन गिरोह सक्रिय भएको खुल्न आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का सूचना प्रविधि विज्ञ प्रकाश रायामाझी, प्रधानमन्त्री कार्यालयका सहसचिव वीपीन आचार्यलगायतले पनि यातायातका ती पूर्वमहानिर्देशकहरूलाई साथ दिइरहेको चर्चा छ ।

इम्बोस्ड नम्बर प्लेट र नक्कली लाइसेन्स छानबिनलाई प्रभावित पार्न यातायातको गिरोहले सूचना तथा प्रविधि विभागमा रहेका इन्जिनियर अर्याललाई अख्तियार पुऱ्याएको पाइन्छ । यातायात व्यवस्था विभागमा हुँदा नक्कली लाइसेन्समा जोडिएका अर्यालको अख्तियारमा सरुवा भएपछि यो विषय सतहमा आएको हो । इम्बोस्ड नम्बर प्लेटको छानबिन अगाडि बढिरहेको अवस्थामा यातायातका पूर्वकम्प्युटर इन्जिनियर अर्याल अख्तियार पुग्नु आश्चर्यको विषय भएको टिप्पणी हुन थालेको छ ।  इम्बोस्ड नम्बर प्लेट भुक्तानीमा संलग्न यातायात व्यवस्था विभागका पूर्वमहानिर्देशकहरु अर्याल सिआईबीको हिरासतमा पुगेपछि निकै सक्रिय भएका छन् ।

इम्बोस्डको भुक्तानीमा जोडिएका यातायातका तत्कालीन महानिर्देशकमध्ये डा. टोकराज पाण्डे अर्थ मन्त्रालयको प्रशासन महाशाखा प्रमुख छन् । नमराज घिमिरे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पूर्वाधार विकास महाशाखा र नारायण भट्टराई गृह मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखा प्रमुख छन् । गोगनबहादुर हमाल राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सुरेश राउत चीनको छेन्दुस्थित महावाणिज्यदूत छन् । रूपनारायण भट्टराई र चन्द्रमान श्रेष्ठ अवकाश भइसकेका छन् । अहिले पाण्डे, घिमिरे भट्टराई र हमाल सिआईबीको हिरासतमा रहेका आरोपितलाई छुटाउन निकै सक्रिय भएको स्रोतको दाबी छ ।

क्याटेगोरी : समाचार
ट्याग : #इम्बोस्ड नम्बर प्लेट, #गोगनबहादुर हमाल, #डा. टोकराज पाण्डे, #नक्कली लाइसेन्स, #नमराज घिमिरे, #सुरज प्रकाश अर्याल

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ