न्याम्सको यो उपलब्धि र विरासतको जग भनेको वीर अस्पताल नै हो : डा. कार्की
काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का रेक्टर डा. लोचन कार्कीले न्याम्सको यो उपलब्धि र विरासतको जग भनेको वीर अस्पताल नै भएको बताएका छन् । न्याम्सको २४ औं वार्षिकोत्सवका अवसरमा उनले यस्तो बताएका हुन् ।
तअहिले वीर अस्पताल र न्याम्स छुट्याउने कि नछुट्याउने भन्ने विषयमा वहस चलिरहेको बताउँदै रेक्टर कार्कीले वीर र न्याम्सलाई तत्कालै छुट्याउँदा धेरै विषयमा समस्या पर्ने औंल्याए । ‘यो गरिमामय उपस्थितिमा म चिकित्सक शिक्षा ऐनमा भएको व्यवस्था सम्झन चाहन्छु। चिकित्सक शिक्षा ऐनले कुनै पनि शैक्षिक कार्यक्रम सञ्चालन गर्न आफ्नै अस्पताल हुनुपर्ने र उक्त अस्पताल तीन वर्षसम्म चलेको हुनुपर्ने व्यवस्था गरेको छ।’, उनले प्रश्न गरे ‘यस्तो अवस्थामा तत्कालै न्याम्स र वीर अस्पताल छुट्याउने निर्णय भयो भने के होला? न्याम्सका अहिले चलिरहेका सबै शैक्षिक कार्यक्रम बन्द हुने छन्। बहुविशिष्टिकृत सेवा दिइरहेको वीर अस्पतालका सेवा झनै खुम्चिने छन्। त्यसकारण न्याम्स र वीर छुट्याउने निर्णय लिनुअघि यसका फाइदा र बेफाइदका विषयमा वृहत छलफल हुनैपर्छ। न्याम्स र वीर छुट्याउने नै हो भने पनि सर्वप्रथम दुवाकोटमा न्याम्सको आफ्नै अस्पताल स्थापना भएर सञ्चालनमा आउनु पर्छ।’,
यस्तो छ डा लोचन कार्कीको मन्तव्य
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), वैशाख २३ गते २०८१
प्रमुख अतिथि न्याम्सका कुलपति सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”, विशिष्ट अतिथि न्याम्सका सह-कुलपति तथा माननीय उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, अध्यक्ष उपकुलपति प्रा डा भूपेन्द्रकुमार बस्नेत।
विशेष अतिथि चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा डा अञ्जनीकुमार झा, विशेष अतिथि राष्ट्रिय योजना आयोगका सदस्य माननीय प्रा डा शिवराज अधिकारी, विशेष अतिथि काठमाडौं महानगरपालिकाका मेयर, विशेष अतिथि अर्थ मन्त्रालयका सचिव, विशेष अतिथि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव।
विशेष अतिथि स्वास्थ्य सचिव डाक्टर रोशन पोखरेल र मधुसूदन बुर्लाकोटी । अतिथिमा स्वास्थ्य मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष, रजिष्ट्रार सहायक प्राध्यापक डा ज्ञानेन्द्र शाह, डीन एसोसिएट प्रोफेसर डा आशेष ढुंगाना। अतिथि पूर्व उपकुलपति, रेक्टर, रजिष्ट्रार, विभिन्न अस्पतालका निर्देशकहरू, सिनेटका सदस्य, कार्यकारी परिषद्का प्रमुख, प्राज्ञिक अधिकारी, विभागीय प्रमुखहरु, क्लिनिकल संयोजकहरू, अन्य विशिष्ट महानुभावहरू, संकाय सदस्यहरू, कर्मचारीहरू, सञ्चारकर्मी साथीहरू, महिला तथा सज्जनवृन्द।
…….
आज, हामी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को २२औँ दिवस मनाउन भेला भएका छौं। न्याम्स स्थापनाको यात्रा, चुनौतीहरू, चुनौतीलाई चिर्दै विगत साढे दुई दशकमा हासिल गरिएका उल्लेखनीय उपलब्धिहरू प्रतिबिम्बित गर्ने यो महत्त्वपूर्ण अवसर हो। यो गरिमामय उपस्थितिमा नेपालको स्वास्थ्य सेवाको विकास र विस्तार, चिकित्सा शिक्षा, अनुसन्धान र बिरामीको हेरचाहमा उत्कृष्टताको आफ्नो विशिष्ट विरासत बनाउन सफल संस्थाका रुपमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को नाम लिन पाउँदा गौरवान्वित छौं। यति ठूलो विरासत बोकेको संस्थाको पदाधिकारीका रुपमा काम गर्ने अवसर पाउँदा म आफूलाई भाग्यमानी ठान्दछु।
आज यो मञ्चमा उभिएर गर्विलो इतिहास बोकेको न्याम्सका विषयमा बोल्दै गर्दा म यसको स्थापनाका कुरा सम्झन चाहन्छु। न्याम्सको स्थापना २०५९ सालमा भएको हो। आजभन्दा २२ वर्षअघिको त्यो समयमा स्वास्थ्य सेवा प्रणालीको आधुनिकीकरण भइरहेको थियो। तर त्यो समयमा नेपालमा चिकित्सकको संख्या निकै कम थियो। अझ विशेषज्ञता हासिल गरेका चिकित्सकहरुको संख्या त औंलामा गन्न सकिने अवस्था थियो। यस्तो समयमा नेपालको चिकित्सा क्षेत्रको विकास र विस्तार गर्दै विशेषज्ञ चिकित्सकहरुको उत्पादन गर्दै अगाडि बढ्ने यात्रा वीर अस्पतालबाट सुरु भयो र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को स्थापना भयो। यो संस्था २०५९ सालमा अध्यादेश मार्फत स्थापना भएको हो। पछि २०६३ सालमा संसदबाट चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐनका रुपमा अनुमोदित भएपछि एमडी र एमएस कार्यक्रमहरू सुरु गर्न कोसेढुङ्गा बन्यो। वीर अस्पताललाई एक महत्वपूर्ण संस्थाका रुपामा न्याम्स अन्तर्गत राखेर अगाडि बढेको यो संस्थामा हाल देशभरका १५ वटा विशेष अस्पताल जोडिएका छन्।
न्याम्स स्थापनाको मुख्य उद्देश्य वा यसको केन्द्रबिन्दु भनेको नै ‘विस्तारित न्याम्स’ हो। विस्तारित न्याम्स अर्थात स्नातक डिग्री भएका डाक्टरहरूका लागि शैक्षिक अवसरहरू फराकिलो बनाउन, उनीहरूलाई विशेष र सुपर-स्पेशलाइज्ड तालिम लिन सक्षम बनाउन धेरैभन्दा धेरै संस्थाहरूसँग सहकार्य गर्दै अगाडि बढ्नु नै हो। कान्ति बाल अस्पताल, प्रसूति गृह, आँखा अस्पताल केही उदाहरण हुन्। सम्माननीय प्रधानमन्त्रीलाई पनि जानकारी भएको विषय के हो भने न्याम्सले छिट्टै भरतपुर अस्पताल र भेरी अस्पताललाई न्याम्सको आंगिक क्याम्पसका रुपमा अगाडि बढाउन लागिरहेको छ। यो विषय मन्त्रिपरिषदबाट र सिनेटबाट पनि पास भइसकेको छ ।
न्याम्सको प्रारम्भिक दिनमा दुर्गम क्षेत्रहरूमा चिकित्सकको कमीलाई सम्बोधन गर्न अगाडि बढाइएको यो संस्थाले दुर्गम क्षेत्रमा विशेषज्ञ चिकित्सकको पहुँच विस्तारसँगै देशैभर जनशक्ति फैलाउन सफल भएको छ। न्याम्सका उत्पादन स्वदेशमा मात्र नभई अन्तर्राष्ट्रिय मञ्चमा समेत आफूलाई अब्बल सावित गर्न सफल भएका छन्। न्याम्सले विभिन्न विषयमा विशेष शैक्षिक कार्यक्रमहरु चलाइरहेको छ। अहिले विभिन्न ६८ वटा शैक्षिक कार्यक्रम चलिरहेको अवस्था छ। जसमा १५ विषयमा डिएम/एमसिएच, १९ वटा विषयमा एमडी/एमएस/एमडिएस, नर्सिङ तर्फ चार विषयमा स्नातक, स्नातकोत्तरमा तीन वटा, मेडिकल इमेजिङ टेक्नोलोजी (MIT) मा स्नातक र स्नातकोत्तर तह र एनेस्थेसिया सहायकमा एक कार्यक्रम चलिरहेको छ। यसका साथै न्याम्सले चिकित्सा शिक्षा र विशेषज्ञता कार्यक्रमलाई विस्तार गर्दै अगाडि बढाउने प्रतिबद्धता अनुसार थप २३ वटा फेलोसिप कार्यक्रमहरु समेत सञ्चालनमा ल्याएको छ।
यो गरिमामय उपस्थितिमा म एउटा तथ्यांक प्रस्तुत गर्न गइरहेको छु।
हालसम्म न्याम्सले ३ हजार २ सय ४६ जना जनशक्ति उत्पादन गरिसकेको छ। न्याम्सबाट उत्पादित यी जनशक्तिहरुले विशिष्ट क्षेत्रहरूमा महत्त्वपूर्ण योगदान दिइरहेका छन्। न्याम्सबाट उत्पादित यी जनशक्तिमध्ये १३६ जना विदेशी विद्यार्थी पनि छन्। विश्वव्यापी शैक्षिक आउटरिच कार्यक्रमका लागि यो संख्या आफैंमा एउटा ठूलो प्रमाण हो।विदेशी विद्यार्थीहरुमध्ये विशेषगरी दक्षिणपूर्व एसियाली क्षेत्रका विद्यार्थीहरु नै धेरै छन्।३ हजार २ सय ४६ जना विद्यार्थीमध्ये सबैभन्दा धेरै एमडी/एमएस/एमडिएस गरेका १४६५ जना, नर्सिङ तर्फ १४१० जना, डिएम/एमसिएच १२१ जना, सर्टिफिकेट कोर्ष तर्फ १८५ जना र एलाइड साइन्समा ६५ जना छन्। १३६ जना विदेशी विद्यार्थीमध्ये माल्दिभ्स, म्यानमार, भारत, श्रीलंका, भुटान, कम्बोडिया, पोर्चुगल, इस्ट टिमोर लगायतका देशका छन्।
न्याम्सको यो उपलब्धि र विरासतको जग भनेको वीर अस्पताल नै हो। वीर अस्पताल विक्रम संवद १९४७ सालमा स्थापना भएको नेपालको पुरानो अस्पताल हो। तत्कालिन प्रधानमन्त्री वीर शम्सेर जंगबाहादुर राणाको संरक्षणमा स्थापना भएको वीर अस्पतालले १३४ वर्षको दौरानमा समसामयिक चिकित्सा सेवाहरूको आधारशिलाको रूपमा सेवा गर्दै, नेपालमा आधुनिक चिकित्सालाई आकार दिन महत्त्वपूर्ण भूमिका खेलेको छ। आधारभूत प्रशिक्षण प्रदान गर्ने सुरुवातदेखि वीर अस्पतालले राष्ट्रको प्राथमिकता र अन्तर्राष्ट्रिय मापदण्ड अनुसरण गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मीहरुका लागि विशिष्टिकृत शैक्षिक कार्यक्रमहरु निरन्तर सञ्चालन गर्दै आइरहेको छ।
न्याम्सबाट उत्पादित जनशक्ति स्वास्थ्य मन्त्रालय, राष्ट्रिय र अन्तर्राष्ट्रिय संगठनमा नीति निर्माण गर्ने नेतृत्वदायी भूमिकामा पुग्नु हाम्रो विरासतको प्रमाण हो।
नेपालको स्वास्थ्य तथा चिकित्सक शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान गर्नमा न्याम्स र वीर अस्पतालको भूमिका निकै महत्वपूर्ण छ। न्याम्स र वीर अस्पताल एक आपसमा जोडिएर अगाडि बढ्दा नै यी सबै उपलब्धि हासिल भएका हुन्। २२ वर्षको छोटो अवधिमा हासिल भएका यी उपलब्धि गर्व गर्न लायक छन्। आज २०८१ सालमा २२ वर्षको उपलब्धिलाई नियाल्दै गर्दा हामीले अबको २० वर्षपछि अर्थात विसं २०२१ साल र त्यसपछिका वर्षहरुको योजना बन्दै चिकित्सा शिक्षा, स्वास्थ्य सेवा र अनुसन्धानमा अग्रगामी छलाङ मार्दै अगाडि बढ्नु पर्छ। यसका लागि हामीले तत्कालिन, मध्यकालिन र दीर्घकालिन योजना बनाउँदै अगाडि बढीरहेका छौं। तर अहिले वीर अस्पताल र न्याम्स छुट्याउने कि नछुट्याउने भन्ने विषयमा वहस चलिरहेको छ। वीर र न्याम्सलाई तत्कालै छुट्याउँदा धेरै विषयमा समस्या पर्ने देखिन्छ। यो गरिमामय उपस्थितिमा म चिकित्सक शिक्षा ऐनमा भएको व्यवस्था सम्झन चाहन्छु। चिकित्सक शिक्षा ऐनले कुनै पनि शैक्षिक कार्यक्रम सञ्चालन गर्न आफ्नै अस्पताल हुनुपर्ने र उक्त अस्पताल तीन वर्षसम्म चलेको हुनुपर्ने व्यवस्था गरेको छ। यस्तो अवस्थामा तत्कालै न्याम्स र वीर अस्पताल छुट्याउने निर्णय भयो भने के होला? न्याम्सका अहिले चलिरहेका सबै शैक्षिक कार्यक्रम बन्द हुने छन्। बहुविशिष्टिकृत सेवा दिइरहेको वीर अस्पतालका सेवा झनै खुम्चिने छन्। त्यसकारण न्याम्स र वीर छुट्याउने निर्णय लिनुअघि यसका फाइदा र बेफाइदका विषयमा वृहत छलफल हुनैपर्छ। न्याम्स र वीर छुट्याउने नै हो भने पनि सर्वप्रथम दुवाकोटमा न्याम्सको आफ्नै अस्पताल स्थापना भएर सञ्चालनमा आउनु पर्छ। म सम्माननीय प्रधानमन्त्री तथा न्याम्सका कुलपतिलाई यो विषयमा गम्भीर छलफल चलाउन विनम्र आग्रह गर्दछु।
अब म न्याम्सको भावी योजना सुनाउन चाहन्छु।
न्याम्सको आजसम्मको यो यात्रा तय गर्दैगर्दा हामी हाम्रो दायरालाई थप विस्तार गर्दै अगाडि बढीरहेको जानकारी गराउँदछु। हामीले अन्तर्राष्ट्रिय रुपमा विभिन्न देशका शैक्षिक संस्थासँग सहकार्य अगाडि बढाइरहेका छौं। अनुसन्धानका अवसरहरूमा राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थासँगको सहकार्यका काम भइरहेका छन्। यसका साथै देशभित्र पनि थप संस्थाहरुसँग सहकार्य गर्दै राष्ट्रभरी सबस्पेशिलिटीको विकासमा ठूलो फड्को मार्ने योजनामा छौँ। न्याम्स पदाधिकारीका रुपमा हामीले जिम्मा लिएको एक वर्ष पनि पुगेको छैन। तर यो अवधिमा हामीले क्लिनिकल हेमाटोलोजी र ओन्कोलोजीका क्षेत्रमा इलिनोइस विश्वविद्यालयसँग सहकार्य गरिसकेका छौं।
हामीले स्वास्थ्य अनुसन्धान र चिकित्सा शिक्षाको विकासलाई गम्भीरताका साथ लिँदै विश्वव्यापी संस्थासँग महत्वाकांक्षी सहकार्य गर्ने योजना बनाउँदै काम अगाडि बढाइसकेका छौं। अक्सफोर्ड क्लिनिकल रिसर्च युनिटसँग अनुसन्धानका क्षेत्रमा विशेषगरी क्लिनिकल ट्रायलमा सहकार्य गरिसकेका छौं। हामीले अनुसन्धान सचिवालय निर्माण गर्ने, अनुसन्धान र विकासका क्षेत्रमा विकास गर्न हाम्रा संकायलाई सशक्त बनाउने योजना बनाएका छौं। अनुसन्धान, फ्याक्ल्टी आदानप्रदान र चिकित्सा शिक्षाका क्षेत्रमा थप अन्य विश्वविद्यालयहरूसँग सहकार्य गर्दै अगाडि बढ्दै जान्छौं। गुणस्तरीय स्वास्थ्य सेवा हाम्रो अर्को एजेन्डा हो। यसलाई मूर्तरुप दिन भक्तपुरको चाँगुनारायण नगरपालिकाको दुवाकोटमा १५०० शैयाको सुपर स्पेशलिटी अस्पतालको योजना बनाएका छौं। यसलाई हामीले ‘विस्तारित वीर अस्पताल’ परियोजना भनेर काम अगाडि बढाएका छौं। यो परियोजना सफल बनाउन प्रधानमन्त्रीले हामीलाई साथ दिनुहुन्छ भन्ने विश्वास लिएका छौं।
दुवाकोटमा १५०० शैयाको मुख्य अस्पताल भवन सहित शैक्षिक ब्लक, मेडिकल ल्याब टेक्नोलोजी, फार्माकोलजी, पब्लिक हेल्थ र मेडिकल इमेजिङका साथै छुट्टै अनुसन्धान प्रयोगशाला, आवासीय क्षेत्र र भीभीआइपीहरूका लागि विशेष कक्षहरुको व्यवस्था हुने छ। यो दुरगामी योजनाले नेपालको स्वास्थ्य सेवाको विकासमा महत्त्वपूर्ण प्रभाव पार्नुका साथै समुदायस्तारमा स्वास्थ्य सेवाको पहुँच वृद्धि गर्ने छ। न्याम्सले अबको शैक्षिक सत्रदेखि नै वीर अस्पताल र चितवनको भरतपुर अस्पतालमा ब्याचलर अफ मेडिसिन एन्ड ब्याचलर अफ सर्जरी (एमबिबिएस) कार्यक्रम चलाउने योजनाका साथ काम अगाडि बढाइरहेको छ। यो काम सफल बनाउन हामी प्रधानमन्त्रीसँग विशेष आग्रह गर्दछौं। यसका साथै न्याम्सले विस्तारित न्याम्स कार्यक्रम अन्तर्गत तीन सय शैया वा त्यो भन्दा बढी क्षमता भएका अन्य सरकारी अस्पतालमा पनि एमबिबिएस कार्यक्रम विस्तार गर्ने योजना अगाडि बढाइरहेको छ। सरकारी अस्पतालहरुमा चिकित्सकसहित आवश्यक फ्याकल्टीहरु छन्, बिरामीको चाप पनि छ भने क्षमता भएका अस्पतालमा एमबिबिएस कार्यक्रम किन नचलाउने? यसले नेपालमै धेरैभन्दा धेरै विद्यार्थीलाई एमबिबिएस अध्ययनको ढोका खोल्ने छ। त्यसकारण यस मञ्चबाट म सम्माननीय प्रधानम्त्रीलाई न्याम्सको यो कदममा सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्दछु।
न्याम्सले विश्वव्यापी प्रतिस्पर्धालाई ध्यानमा राख्दै नेपालको माटो सुहाउँदो र स्थानीय शैक्षिक आवश्यकताहरू पूरा गर्न नयाँ एमबिबिएस पाठ्यक्रम विकास गर्न पनि सक्रिय कदम चालिरहेको छ। यसका साथै न्याम्सले निकट भविष्यमा विभिन्न सबस्पेशियालिटी कार्यक्रमहरूको स्थापना पनि गर्न लागिरहेको छ।
अन्त्यमा, यस महत्वपूर्ण अवसरमा उपस्थित हुनुहुने सम्पुर्ण महानुभावहरुलाई धन्यवाद दिन चाहन्छु। तपाईको उपस्थितिले यो कार्यक्रमलाई साँच्चिकै विशेष बनाएको छ।
२२ औं न्याम्स दिवसको अवसरमा सबैमा हार्दिक शुभकामना ।
धन्यवाद।
क्याटेगोरी : मेडिकल शिक्षा, विचार
तपाईको प्रतिक्रिया दिनुहोस