स्वास्थ्यका कर्मचारीलाई नियमित रुपमा सेवा गर्न काठमाडौं महानगरको निर्देशन

काठमाडौं । स्वास्थ्यका कर्मचारीलाई नियमित रुपमा सेवा गर्न काठमाडौं महानगरपालिकाले निर्देशन दिएको छ । महानगरभित्रका शिक्षण संस्था, अस्पताल तथा आबद्ध कर्मचारीलाई स्वास्थ्य सेवा नियमित गर्न र कानुन अनुसार सञ्चालन गर्न महानगरले आग्रह गरेको हो ।
सर्वसाधारणलाई स्वास्थ्य सेवा प्रवाह गर्ने सर्तमा महानगरभित्र सञ्चालित शिक्षण संस्थामा आबद्ध अस्पतालहरुमा स्वास्थ्य सेवा लिन जाँदा चिकित्सक तथा स्वास्थ्यकर्मीहरु एवम् कर्मचारीहरु उपलब्ध नहुने गरेको, ड्युटी समयमा अन्यत्र काम गर्ने गरेको, शल्यक्रिया, सिटीस्क्यान, एमआरआई स्क्यान जस्ता सेवाका लागि महिनौसम्म कुर्नुपर्ने जस्ता गुनासो आएकाले सार्वजनिक रुपमै अपिल गरिएको महानगरले जनाएको छ ।
राष्ट्रिय चिकित्सा ऐन, २०७५ को दफा ४१ र राष्ट्रिय चिकित्सा नियमावली, २०७७ को नियम ३७ (क) मा चिकित्सा शिक्षा प्रदान गर्ने संस्थाका शिक्षक, प्रशिक्षक तथा कर्मचारीले पालना गर्नु पर्ने आचारसंहिता उल्लेखित छ । त्यस्तै आफूलाई खटाइएको शिक्षण संस्थामा मात्र काम गर्नुपर्ने बाध्यात्मक व्यवस्था पनि छ ।कानुनको व्यवस्था पालना गर्न/गराउन सम्बद्ध व्यक्ति पदाधिकारी तथा संस्थालाई महानगरले आग्रह गरेको छ । सर्वसाधारणले सहज रुपमा सेवा नपाए वा कानुनी व्यवस्थाको उल्लघन भएको देखिएमा प्रचलित कानुनी व्यवस्था अनुसार अगाडि बढ्ने महानगरले चेतावनी दिएको हो ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस