नर्सहरूको सेवा-सुविधामा एकरूपता ल्याइने प्रधानमन्त्रीको घोषणा


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नर्सहरूको सेवा-सुविधामा एकरूपता ल्याउन पहल गर्ने घोषणा गरेका छन् । चौधौं राष्ट्रिय नर्सिङ सम्मेलनलाई सम्बोधन गर्दै  उनले यस्तो बताएका हुन् ।

‘नर्सहरूको सेवा–सुविधामा एकरूपता छैन, निजी अस्पताल, निजी नर्सिङ कलेज,नर्सिङ होमहरूमा सरकारको न्यूनतम पारिश्रमिकसरह सेवा सुविधाको सुनिश्चिता हुनुपर्छ,’ प्रधानमन्त्री दाहालले भने । उनले उत्पादित जनशक्तिलाई स्वदेशमै रोजगारीको व्यवस्थाका निम्ति आवश्यक नीतिगत प्रबन्ध गरिने समेत स्पष्ट पारे ।

नर्सहरूको सेवा-सुविधा सन्तोषजनक एवं एकरूपता नभएकाले त्यसलाई सुधार गर्नुपर्ने प्रधानमन्त्री दाहालको भनाइ छ । हालसम्म नेपालमा अनमीदेखि विद्यावारिधिसम्म पढ्ने नर्सहरूको आकर्षण बढ्दो क्रममा रहेको भन्दै उनले यस क्षेत्रको उचित व्यवस्थापन र युगानुकूल विकासका निम्ति वैज्ञानिक नीति, योजना र कार्यक्रम तर्जुमा गर्नुपर्ने जिम्मेवारी थपिएको धारणा राखे ।

‘पछिल्लो समय स्वास्थ्य सेवा प्रवाह र सेवा विस्तारका क्षेत्रमा नेपालले महत्त्वपूर्ण प्रगति गरिरहेको छ’, प्रधानमन्त्री दाहालले भने, ‘नेपालका अस्पतालहरूमा नर्स बिरामीको अनुपातअनुसार दरवन्दी कायम नभएकाले नर्सहरूको कार्यभार बढिरहेको विषयबारे सरकार जानकार रहेको छ ।’,

नर्सिङ सेवामा कार्यरत प्राविधिक जनशक्तिले लामो समयसम्म ‘इन्टर्न’मा काम गर्नुपर्ने सुनाउँदै उनले अघि थपे, ‘जागिर पाएका नर्सहरूको पनि पारिश्रमिक न्यून रहने अवस्थाको अन्त्य हुनुपर्छ ।’,

कार्यस्थलमा काममा विभेद हुने गरेको र वर्षौं काम गर्दासमेत नर्सिङ पढ्दाको खर्च उठाउन मुस्किल हुनेजस्ता समस्या भोग्नु परिरहेको समस्यालाई क्रमशः सम्बोधन गर्दै जानेगरी नीतिगत व्यवस्था गरिने प्रधानमन्त्री दाहालको आश्वासन छ । ग्रामीण र दूरदराजमा काम गर्ने नर्सहरूका लागि प्रोत्साहनका कार्यक्रमहरू ल्याउनुपर्नेमा समेत उनले जोड दिएका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ