कोलकत्ताको महावाणिज्यदूतमा मुख्यसचिव अर्यालले च्यापेका भट्टले ढुंगानालाई रोक्लान् ?


काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका दुई सहसचिवको परराष्ट्र मन्त्रालयमा सरुवा भएको छ । राजस्व अनुसन्धान विभागबाट हालै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा फिर्ता भएका नवराज ढुंगाना  र प्रधप्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टको परराष्ट्र मन्त्रालय सरुवा भएको हो ।

चीनको गोञ्जाओस्थित महावाणिज्य दूतावास र भारतको कोलकत्तामा पठाउनका लागि ढुंगाना र भट्टलाई परराष्ट्र लगिएको हो । वीरगन्ज भन्सार, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालय हुँदै राजस्व अनुसन्धान विभागबाट कोलकत्ता जानका लागि सहसचिव ढुंगाना प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय फर्किएको चर्चा छ । उनीसँगै अर्का प्रतिस्पर्धी भट्ट पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट परराष्ट्र मन्त्रालय गएका छन् ।

ईश्वराज पौडेललाई विस्थापित गरेर कोलकत्ताको महावाणिज्यदूतमा ढुंगाना जाने व्यापक चर्चा थियो । तर, मुख्यसचिव डा. बैकुण्ठ अर्यालले भट्टलाई च्यापेपछि ढुंगानाको कोलकत्ता ‘यात्रा’मा ‘ब्रेक’ लाग्ने सम्भावना बढेको छ । मुख्यसचिव अर्यालले प्रधानमन्त्री प्रचण्डलगायतलाई भट्टलाई कोलकत्ता पठाउन दबाब दिँदै आएका छन् । चितवन र गोरखाको प्रमुख जिल्ला अधिकारी भएर काम गरेका भट्ट मुख्यसचिव अर्यालका निकट मानिन्छन् । आफ्नाेविरुद्धमा लाग्नेलाई दुःख दिन उनले भट्टलाई प्रयोग गर्दै आएको प्रधानमन्त्री कार्यालयभित्रै चर्चा छ । ढुंगानालाई गोञ्जाओ र भट्टलाई कोलकत्ताको महावाणिज्यदूत बनाउन मुख्यसचिव अर्यालले लबिइङ गर्दै आएका छन् । त्यसैले उनी ढुक्क रहेको निकटवर्तीहरु बताउँछन् ।

यता सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशक बन्न कमलप्रसाद भट्टराई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन् । उनी हङकङको महावाणिज्यदूत र भन्सार विभागको महानिर्देशक समेत भइसकेका व्यक्ति हुन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक पुष्पराज शाहीको कार्यसम्पादन ‘कमजोर’ रहेको र आफ्ना विरोधी तह लगाउने हतियार विभागलाई बनाएको गुनासो आउन थालेपछि उनलाई हटाएर भट्टराईलाई महानिर्देशक बनाउन प्रधानमन्त्री कार्यालय लगिएको चर्चा छ ।

पर्यटन विभागको महानिर्देशक बन्न गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुख रुद्रप्रसाद पण्डित गएका छन् । ललितपुरको प्रमुख जिल्ला अधिकारी हुँदा बालकुमारी घटनामा गृह मन्त्रालय तानिएका पण्डित पर्यटनको महानिर्देशक हुन लागिपरेका छन् । पर्यटन विभागका महानिर्देशक चक्र बुढा ढुंगानालाई विस्थापित गरेर राजस्व अनुसन्धान विभागको महानिर्देशक बनेपछि उक्त ठाउँ खाली थियो । अहिले उक्त ठाउँमा जान लर्को लागेको छ ।

गृह मन्त्रालय भने विवादित सहसचिव बसन्त अधिकारी सरुवा भएर आएका छन् । अधिकारीको विषयलाई लिएर काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र गृहमन्त्री रवि लामिछानेबीच असमझदारी बढ्ने देखिन्छ ।

 

क्याटेगोरी : समाचार
ट्याग : #कमलप्रसाद भट्टराई सहसचिव, #कोलकत्ता महावाणिज्यदूत, #गोञ्जाओ, #चक्र बुढा, #डा. बैकुण्ठ अर्याल, #नवराज ढुंगाना सहसचिव, #नारायणप्रसाद भट्ट, #पुष्पराज शाही

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ