स्वास्थ्यमा प्रदीप आएपछि फेरिएको परिदृश्य, झन् भद्रगोल


समाचार टिप्पणी

काठमाडौं । उपेन्द्र यादवलाई विस्थापित गरेर स्वास्थ्यमन्त्री बनेका प्रदीप यादवको ‘इनिङ’ झूर देखिएको छ । प्रदीपले प्रशासनमा हस्तक्षेपकारी नीति लिएपछि स्वास्थ्यमा राजनीतिक र प्रशासनिक नेतृत्वबीचको सम्बन्ध अमिलो बन्न थालेको हो ।

उपेन्द्रको पालामा स्वच्छन्द रुपमा काम गरिरहेका प्रशासनका सचिव मधुसूदन बुर्लाकोटी प्रदीप आएपछि हस्तक्षेपमा परेका छन् । सुरुवाती चरणमै मन्त्री र सचिवबीच सौहार्दपूर्ण सम्बन्ध हुन नसकेको स्वास्थ्यका अधिकारीहरु सुनाउँछन् ।

हाटहुटे स्वभावका स्वास्थ्यमन्त्री प्रदीपको कार्यशैलीलाई लिएर स्वास्थ्य मन्त्रालयमा विभिन्न टिकाटिप्पणी हुन थालेको छ । ‘बिहानीले दिउँसोको संकेत गर्छ’ भनेझैं स्वास्थ्यमा बिहानीको संकेत त्यति राम्रो देखिँदैन ।

स्वास्थ्यमा प्रशासनका सचिव बुर्लाकोटी र प्राविधिक सचिव डा. रोशन पोखरेल रहेका छन् । उपेन्द्रको पालामा सचिवमार्फत मन्त्रीसमक्ष पुग्ने अतिरिक्त सचिवहरु अहिले सचिवहरुलाई ‘बाइपास’ गरेर सीधै मन्त्रीलाई ब्रिफिङ गर्न थालेका छन् । यसले सचिव र अतिरिक्त सचिवले मन्त्रीलाई गर्ने ‘ब्रिफिङ’ र विषयवस्तुमा तालमेल हुन छाडेको छ । एउटै विषयमा सचिवले एउटा कुरा र अतिरिक्त सचिवले अर्को कुरा गर्दा मन्त्रीलाई खेल्न सहज हुने देखिन्छ । यसले स्वास्थ्य मन्त्रालय झनै भद्रगोल हुने अवस्थामा पुगेको छ ।

उपेन्द्र र प्रदीपको कार्यशैली नै फरक छ । उनमा उपेन्द्रको जस्तो परिपक्वता देखिँदैन । स्वास्थ्य जस्तो प्राविधिक, संवेदनशील र एनजिओ/आईएनजिओ माफिया हाबी भएको मन्त्रालय चलाउन सहज छैन । त्यस्तोमा कर्मचारीबीच खेलेर अगाडि बढ्न खोज्दा मन्त्री नै समस्यामा पर्न सक्छन् । अतिरिक्त सचिवहरु सचिवलाई ‘बाइपास’ गरेर मन्त्रीको विश्वासपात्र बन्न खोज्दा झनै जोखिम निम्तिने अवस्था आएको हो । यो कुरा उनीहरुले बुझ्न जरूरी छ ।

वन मन्त्रालय चलाएर आएका प्रदीपले स्वास्थ्य पनि वन जसरी नै चलाउन खोजेको देखिन्छ । वन जस्तो स्वास्थ्य मन्त्रालय होइन भनेर उनले पनि बुझ्न जरुरी छ । लुडो खेल जस्तै पास हुन लाग्दा स्वात्तै तल झरे जस्तो स्वास्थ्यमन्त्रीको हालत नहोला भन्न सकिन्न । स्वास्थ्यको संयन्त्र अस्तव्यस्त र ध्वस्त बनाउन अतिरिक्त सचिवहरु नै लागेको टिप्पणी हुन थालेको छ । अहिले सचिवलाई ‘बाइपास’ गरेर मन्त्रीलाई रिझाउन तम्सिएका अतिरिक्त सचिवहरुले भोलि आफू त्यो ठाउँमा पुग्दा त्यहीँ अवस्था आउने कुराको हेक्का राख्नुपर्छ ।

 

 

क्याटेगोरी : समाचार
ट्याग : #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, #स्वास्थ्यमन्त्री प्रदीप यादव

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ