वीर अस्पतालको “कालो बोको” गायब


काठमाडौं । वीर अस्पतालका काम चोर कर्मचारीले स्वास्थ्य तथा जनसंख्या सचिव मधुसुदन बुर्लाकोटीको स्वास्थ्य बाहिर सरुवा भएको भन्दै खुशियाली मनाउँन कालो बोको खरिद गरेका थिए । निखुर कालो रङ्गको बोको खरिद गरेर काट्ने चाँजो पाँजो मिलाउँदा सचिव बुर्लाकोटीको सरुवा नभएको आधिकारिक जानकारी पाए । 

बुर्लाकोटीले बैशाख ६ गते चिकित्सक स्वास्थ्यकर्मी तथा कर्मचारीलाई निजी स्वास्थ्य संस्थामा पूर्णकालीन रुपमा काम नगर्न ध्यानाकर्षण गराएका थिए । त्यसको भोलिपल्ट बैशाख ७ गते कार्यालय समयमा आफ्नो कार्यकक्ष नबस्ने चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई समेत त्यस्तो नगर्न अनुरोध गरे । यी दुई पत्र शब्दमा मात्रै सीमित थिएनन् । कार्यालय समयमा नभेटिने चिकित्सक, स्वास्थ्यकर्मी सबैलाई कारबाहीको चेतावनी थियो । सरकारी चिकित्सक त्यसमा पनि आधिकांश वीर अस्पतालबाट बिदा समेत स्वीकृत नगराई निजी स्वास्थ्य संस्थामा काम गर्ने र दुई निकायबाट तलब भत्ता बुझ्नेलाई कैँची चलाएको देखिन्छ । 

गत चैत १५ गते स्वास्थ्य सचिवमा बुर्लाकोटीको सरुवा भएको थियो । उनी बैशाख ३ गतेबाट निरन्तर वीर अस्पतालको परिसरमा घुमिरहेका थिए । सार्वजनिक बिदाको समयमा पनि पठाओ र सार्वजनिक बस चढेर ओपिडीमा पुगेका थिए । उनले हातको फिजियोथेरापी गराउँने बाहनामा दिनहुँ वीर अस्पताल जानुको एउटा मात्रै कारण थियो, चिकित्सकले वीरमा कति बजेबाट सेवा दिन्छन् । कार्यालय समयमा आउँछन् वा आउँदैनन् । 

कयौं चिकित्सकहरूको सूचीनै तयार पारिएको थियो । तर, २० दिन यता भगौडा चिकित्सक पनि समयमा अस्पताल पुग्न थालेका छन् । अधिकारीहरू भन्छन् ९ बजे चिकित्सक अस्पताल पुगिसकेका हुन्छन् । अहिले हरेक कर्मचारीको आवत जावत रेकड राखिएको छ । यसले नाङ्ले चिकित्सकको व्यापारमा बाधा पुगेको छ । जसले सरकारी जागिर खाएर बाहिर नाङ्ले पसल चलाउँथे उनीहरू अहिले सचिव बुर्लाकोटीको छायाँ समेत देख्न चाहदैनन् । 

गज्जब त, भगौडा चिकित्सकले नयाँ मन्त्रीमा प्रदीप यादव आउँन साथ सचिव बुर्लाकोटीको सरुवा हुने हल्ला पिटे । यति मात्र हैन, सरुवा हुने पक्का ठानेर कालो रङको छिप्पिएको बोको किने। आफ्नो पसल चल्ने खुसियालीमा भोज लगाउने चाँजो पाँजो गर्दा सचिव सरुवा भएन ।  लाज र डरले उक्त बोको गायब बनाइएको छ । 

वीर अस्पतालमा सचिवले रोपेको गुनिलो बिउँ पोखरा, नरायणी अस्पतालसम्म पुगेको अधिकारीहरू बताउँछन् । वीरमा अझै स्टोर र जिन्सीमा समस्या देखिएको छ । चाँडै सचिवको आँखा त्यसमा पर्ने देखिएको छ । 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ