स्वास्थ्यमन्त्री र राज्यमन्त्रीबाहेकको सम्पत्ति विवरण सार्वजनिक


काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादव र राज्यमन्त्री हसिना खानबाहेकको सम्पत्ति सार्वजनिक गरेको छ । लामो समयदेखि गुपचुप राखिएको प्रधानमन्त्री तथा मन्त्रिमण्डलका सदस्यहरूको सम्पत्ति विवरण मंगलबार सार्वजनिक गरिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक गरिएको हो ।

भ्रष्टाचार निवारण, ऐन २०५९ को दफा ५० को उपदफा (१) तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ (क) को उपदफा (१) अनुसार प्रधानमन्त्री तथा मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

सार्वजनिक सम्पत्ति विवरण अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चितवन भरतपुर १४ मा १४ कट्ठा पार्किङसहितको पैतृक सम्पत्ति रहेको उल्लेख छ । घर जग्गा स्वर्गीय श्रीमती सीता दाहालको नाममा रहेको देखाइएको हो ।त्यस्तै, भरतपुर १२ मा अंशबाट प्राप्त १ कट्ठा अचल सम्पत्ति रहेको प्रधानमन्त्रीले पेश गरेको विवरणमा उल्लेख छ । चल सम्पत्तिमा पाँच तोला पैतृक सुन, एभरेष्ट बैंक, सिंहदरबारमा २५ लाख नगद रहेको जनाइएको छ।

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठसँग २ करोड २५ लाख रुपैयाँ नगद र ४३ तोला सुन छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बुझाएको सम्पत्ति विवरणअनुसार त्यसबाहेक १.५० किलो सुन, जवाहरात (स्टोन भएको) ७ थान औँठी, ३ थान सिक्री (हारजस्तो देखिने), ३ जोडा कानमा लगाउने र २ जोडा चुरा (बाला) रहेको उल्लेख छ।

श्रीमती जुली कुमारी महतोको नाममा धनुषामा र ललितपुरमा क्रमशः ४२ सय वर्गमिटर (०–३–०–०) कठ्ठा र २–१३–२–१ रोपनी जग्गामा घर रहेको छ। धनुषाको घर २०५५ सालमा साढे २ तलामा बनेको घर खरिद गरेको र ललितपुरमा २०५६ सालमा जग्गा किनेर साढे २ तलाको बनाएको उल्लेख छ।

श्रीमती जुलीकै नाममा ४ ठाउँमा र आफ्नो नाममा जग्गा रहेको देखिएको छ। धनुषा, सिन्धुली, ललितपुर, धनुषामा श्रीमतीको नाममा र धनुषामै आफ्नो नाममा जग्गा छ। श्रीमतीको नाममा रहेका जग्गाको क्षेत्रफल क्रमशः ७–३–०–० बिघा, ०–४–०–० कठ्ठा, १–७–०–० रोपनी, ०–३–११–३ कठ्ठा र आफ्नो नाममा रहेको १–१५–०–० बिघा जग्गा छ। यीमध्ये श्रीमतीको नामका जग्गा खरिद गरिएको र आफ्नो नामको जग्गा खरिद र पैतृक रहेको उल्लेख छ।

श्रीमती जुलीको गुडविल फाइनान्स र लक्ष्मी बैंकलगायतमा ५ लाख बराबरको सेयर, महिला लघुवित्त संस्थामा १ करोडको सेयर र कर्पोरेट बैंक वीरगन्जमा २ करोड ५० लाखको सम्पत्ति रहेको उल्लेख छ। अन्य सम्पत्तिमा सगोल परिवारको नाममा तीन ठाउँमा ३३–०–०–०, ३९–१४–०–० र १० कठ्ठा जग्गा रहेको उल्लेख छ।

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको गोरखा सिरानचोक ८ मा करिब ३८ रोपनी पैतृक सम्पत्ति रहेको छ । सिंहदरबारस्थित रावा बैंकको खातामा तलब सुविधाको १ लाख २२ हजार ९१८ रूपैयाँ मौज्दात छ । सवारी साधनको नाममा अध्यक्ष प्रचण्डले प्रयोगका लागि चढ्न दिएको महिन्द्रा गाडी रहेको जनाइएको हो ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने र श्रीमती निकिता पौडेलको नाममा चल अचल सम्पत्ति रहेको विवरण सार्वजनिक भएको छ । निकिताको नाममा बूढानीलकण्ठको वडा नम्बर ८ मा एउटा घर छ । ५ आना क्षेत्रफलमा फैलिएको उक्त घर ३ करोड ५० लाख रुपैयाँमा चार वर्षअघि खरिद गरिएको रविले खुलाएका छन् । यो घरको लागि लिएको बैंक ऋण डेढ करोड रूपैयाँ चुक्ता गर्न बाँकी रहेको विवरणमा उल्लेख छ । निकिताले गोपिकृष्ण इन्टरनेसनल सञ्चालन, भाडा,नारी टिभी र ब्राण्ड इन्डोर्समेन्टबाट गरेको कमाइले घर किनेको जनाइएको छ ।

रवि लामिछानेको आफ्नै नाममा भक्तपुरमा १ रोपनी १ आना जग्गा पैतृक सम्पत्तिको रुपमा रहेको छ । यस्तै निकिताको सेयर रहेको गोपीकृष्ण प्रालीको नाममा काठमाडौं-७ मा १० रोपनी जग्गा पारिवारिक सगोलको रुपमा रहेको छ । १० रोपनी ८ आनाको २५ प्रतिशत सेयर निकिताले पाउनेछिन् ।निकितासँग ८० तोला सुनका गरगहना रहेको सम्पत्ति विवरणमा जनाएको छ ।

अधिकांश सुन आमाबाबुबाट पाएको तथा केही खरिद गरेको विवरणमा उल्लेख छ । यस्तै चाँदीका भााडाकुँडा १५/२० केजी छन् ।रवि र निकिताको नाममा ७ वटा बैंकमा खाता छन् । रविको ग्लोबल आईएई र नेपाल बैंकमा रहेको खातामा जम्मा १ लाख १० हजार रुपैयाँ छ । निकिताको नेपाल बैंकको खातामा ५ लाख रूपैयाँ छ । गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्समा निकिताको ८ लाख ७५ हजार कित्ता सेयर छ, जसको मुल्य ८ करोड ७५ लाख हसुन आउँछ । यसैगरि टाटा नेक्सन इभी गाडी ४२ लाख रुपैयाँमा निकिताले खरिद गरेकी छन् ।

अर्थमन्त्री माओवादी केन्द्रबाट मन्त्री भएका पुनसँग रोल्पा नगरपालिकामा एउटा घर रहेको छ । वडा नम्बर ७ मा ८२० वर्गमिटरमा बनेको घर पैतृक श्रोतबाट आएको उल्लेख गरेका छन् । उनीसँग ३३ लाख भन्दा धेरै वैंकमा मौज्दात रहेको छ भने एउटा हलुवा सवारी साधन पनि रहेको छ ।

उर्जा जलस्रोत तथा सिँचाईमन्त्री शक्तिबहादुर बस्नेतसँग जाजरकोटको भेरी नगरपालिकामा बुवाको नाममा एउटा घर रहेको छ । त्यस्तै बस्नेतसँग दुई वटा बैंकमा ३५ लाख रुपैयाँ रहेको उल्लेख छ । बस्नेतको राष्ट्रिय वाणिज्य बैंकको खातामा १० लाख रुपैयाँ मौज्दात छ । यसबाहेक अन्य रकम कुन बैंकमा रहेको भन्नेबारे खुलाइएको छैन । यस्तै श्रीमती सत्य पहाडीको नाममा ६ लाख रुपैयाँ बराबरको सेयर छ भने ५ तोला सुन समेत उल्लेख छ ।

कानून न्याय तथा संसदीय मामिलामन्त्री छन् पदम गिरीको पर्वतको कुस्ममा ७ आनामा बनेको एउटा कच्ची घर रहेको छ । पर्वतमै उनको नाममा ७ आना र आमाको नाममा ४ आना जग्गा रहेको छ । उक्त जग्गा पैतृक सम्पत्तिबाट किनेको उल्लेख गरेका छन् । गिरीसँग २३ तोला सुन रहेको छ भने १ लाख रुपैंया बैंकमा मौज्दात रहेको छ । उनले ५० लाख रुपैंया बराबरको लगानी पनि गरेका छन् । गिरीले नेपाल वैंकबाट ४० लाख ऋण पनि लिएको उल्लेख गरेका छ्न् ।

सहरी विकासमन्त्री डोल्पामा पैतृक सम्पत्ति रहेको छ भने यसबाहेक श्रीमती हिमालीको नाममा १७ र २० आना क्षेत्रफलको जग्गामा काठमाडौँ महानगरपालिका वडा नम्बर ६ मा दुई वटा घर रहेको छ । यस्तै श्रीमती हिमालीकै नाममा काठमाडौँ महानगरपालिका ६ मै अर्को ६ आना जग्गा पनि रहेको छ । यस्तै उनको १५० तोला सुन र ३०० तोला चाँदी रहेको सम्पत्ति विवरणमा उल्लेख छ । मन्त्री बुढाको नाममा १५ लाख बैंक ब्यालेन्स रहेको छ भने श्रीमतीको नाममा थप ४५ लाख नगद रहेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशी काठमाडौंको कीर्तिपुरमा ५ आनामा बनेको श्रीमतीको नाममा एउटा घर रहेको छ ।  त्यस्तै बझाङको छविसपाथीभेरामा २ रोपनी जग्गा समेत उनले देखाएका छन् । बझाङमा नै आफ्नो नाममा थप २ रोपनी जमिन भएको र सो जमिना पुर्खेउली सम्पत्ति भएको जोशीले स्रोतमा उल्लेख गरेका छन् । त्यस्तै जोशीले आफूसँग कुनैपनि सुन चाँदी नरहेको तर परिवारका विभिन्न सदस्यका नाममा भने रहेको उल्लेख गरेका छन् । उनीसँग व्यक्तिगत रुपमा वैंकमा एक लाख मौज्दातसमेत रहेको छ । उनको श्रीमतीको नाममा ८ लाख रुपैंया बराबरको रगुनखोला जलविद्युत आयोजनाको सेयर रहेको उल्लेख गरेका छन् । श्रीमतीको नाममा ४३ लाख बराबरको ऋणसमेत जोशीले देखाएका छन् ।

वन तथा वातावरणमन्त्री नलवकिशोर साह सुडी सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका र राजविराजमा श्रीमती र छोरासहित गरी ९ वटा घर रहेको छ । उनले पेश गरेको विवरणमा १५ ठाउँ जग्गा देखाइएको छ । छोरा बुहारी र पत्नीको नाममा १५८ तोला सुन रहेको छ । उनले ८० लाख ऋण देखाएका छन् । सुडीसँग एकथान बन्दुक रहेको उल्लेख छ । हितबहादुर तामाङ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तामाङसँग नुवाकोटमा ७ रोपनी १५ आना २ पैसा जग्गा रहेको छ भने श्रीमतीको नाममा नुवाकोटका विभिन्न ठाउँमा करिव ६ रोपनी जग्गा रहेको छ । उनीसँग ७।८ तोला चाँदी छ भने ६ तोला सुन र १३ लाख रुपैंया नगर पनि रहेको छ । उनले ७ लाख ५० हजार वैंकमा मौज्दातसमेत रहेको उल्लेख गरेका छन् । उनले विभिन्न व्यक्तिबाट २ लाख ५० हजार ऋण लिएका छन् भने १ लाख ५० हजार ऋण पनि दिएका छन् ।

रक्षामन्त्री हरि उप्रेतीले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार सर्लाहीमा भोजकुमारी उप्रेतीको नाममा ४० कठ्ठा जग्गा रहेको छ । सर्लाहीकै बरथवामा पनि करिव ४० कठ्ठा जग्गा रहेको उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । उनीसँग २५ तोला सुन छ भने १६ लाख बराबरको एउटा गाडी छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको बैंकमा नगद मौज्दात एक करोड ५२ लाख रुपैयाँ रहेको आफ्नो सम्पत्ति विवरणमा उल्लेख छ । उनले मन्त्रिपरिषद्‌मा बुझाएको सम्पत्ति विवरणानुसार, उक्त रकम विभिन्न बैंकमा मौज्दात छ ।एनआईसी एसिया बैंकमा ११५ लाख ९एक करोड १५ लाख० र एभरेस्ट बैंकमा ३७ लाख आफ्नो नगद मौज्दात रहेको उनले उल्लेख गरेकी छन् । यी सबै रकम पारिश्रमिकबापत पाएको विवरणमा उल्लेख छ ।यस्तै, उनीसँग ११ तोला सुन, १० तोला चाँदी, एक सेट हीराको हार र एक सेट हीराको टप रहेको विवरणमा उल्लेख छ ।

खानेपानीमन्त्री राजेन्द्र राईको विभिन्न व्यक्रि र वैंकमा गरेर ५५ लाख रुपैंया ऋण लिएका छन् । खानेपानीमन्त्री राजेन्द्र राईले आफूसँग सात गाई, ६३ बाख्रा समेत रहेका सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार सार्वजनिक गरेको विवरणानुसार, राईसँग गाई र बाख्रा गरेर ३५ लाख रुपैयाँबराबरको सम्पत्ति छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको श्रीमान् कृष्णध्वज खड्काको नाममा कीर्तिपुर नगरपालिका वडा नम्बर ७ मा ६ आना जग्गा र साढे २ तलाको घरसमेत रहेको उल्लेख गरेकी छन्। प्यूठानमा कृष्णध्वज खड्का, हरि खड्का र घमानसिंह खड्काका नाममा पैतृक सम्पत्ति रहेको उल्लेख छ।सुन ६ तोला र २ तोला चाँदी रहेको र त्यो पैतृक तथा उपहारबाट प्राप्त भएको उनको भनाइ छ।

मन्त्री शर्माको नाममा राष्ट्रिय बाणिज्य बैंकमा एक लाख ५० हजार, एभरेष्ट बैंकमा २८ हजार र क्यारिना ऋण तथा बचत सहकारी संस्थामा २० लाख रुपैयाँ बचत छ।

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले सेयर मार्केटुमा एक करोड बढी लगानी गरेका छन् । उनले मन्त्रिपरिषद्‌मा बुझाएको सम्पत्ति विवरणअनुसार उनीसँग १५ हजार ९०६ कित्ता सेयर रहेको छ । जसको मूल्य एक करोड ९ लाख ८० हजार ५०९ रूपैयाँ रहेको उनले उल्लेख गरेका छन् । बुबा विरेन्द्रभक्त श्रेष्ठसँग २० लाख रूपैयाँ ऋण लिएका छन् । २०७० सालमा लिएको ऋण अझै फिर्ता नगरेको विवरण उनले उल्लेख गरेका छन् । उनीसँग कुल ५० लाख ऋण रहेको पनि उल्लेख छ । उनीसँग ल्यान्ड क्रुजर, विद्युतीय सवारी साधन रहेका छन् । बैंकमा उनीसँग ८३ लाख ७२ हजार ७४५ रूपैयाँ रहेको छ ।

कृषि तथा पशुपन्छीमन्त्री ज्वालाकुमारी साहको श्रीमानको नाममा बारामा ५ कठ्ठा जग्गा छ । उनको नाममा बारामै २ स्थानमा २५ धुर जमिन छ । श्रीमानको नाममा सर्लाहीमा ५० लाखमा किनोको जग्गा पनि भएको साहले उल्लेख गरेकी छन् । साहसँग १० तोला सुन र २५ तोला चाँदीसमेत रहेको छ । उनीसँग ३० हजार र श्रीमानसँग् १० हजार नगद पनि छ । उनीसँग ४ कठ्ठामा बनेको एउटा पुर्खेउली घर पनि छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार बावुको नाममा ६ कोठे कच्ची घर छ भने पाटन बैतडी र कञ्चनपुरमा ६ रोपनी २ कठ्ठा जग्गा छ । ६ तोला सुन भएका भण्डारीको करिब ८ लाख नगद पनि छ ।

महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री भगवती चौधरीको काठमाडौं महानगरपालिका वडा नम्बर ९ मा १२ आना १ पैसा ३ दाम जग्गा रहेको उल्लेख छ। स्वआर्जनबाट २ करोड ६७ लाख रुपैयाँमा उक्त जग्गा किनेको उनले उल्लेख गरेकी छन्। त्यस्तै सुनसरीको दुहबीमा १ बिघा १ धुर जग्गा रहेको उल्लेख छ। त्यसबाहेक सुनसरीको तनमुना ६ (क) मा २ कट्ठा, सुनसरीकै तनमुना ६ (क) मै २ बिघा ११ कट्ठा साढे ६ धुर, सुनसरीको औराबनी ९ (ख) मा १० धुर, सुनसरीकै औराबनी ९ (ख) मा १० धुर जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ।सोनपुरमा १५ कट्ठा पैतृक सम्पत्ति रहेको पनि उल्लेख छ। उनीसँग ८५ तोला सुन र २५ किलो चाँदी रहेको पनि उल्लेख छ।

उनीसँग एभरेष्ट बैंकमा १२ लाख ४१ हजार ८३०, राष्ट्रिय बाणिज्य बैंकमा ५ लाख ४६ हजार ११९ र नबिल बैंकमा १२ हजार रुपैयाँ नगद मौज्दात रहेको पनि सम्पत्ति विवरणमा उल्लेख छ। यस्तै फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको २ लाख ४२ हजार १०५ र अन्य कम्पनीहरूमा १ लाख ५० हजार कित्ता सेयर रहेको उल्लेख छ। यी सबै स्वआर्जनबाट भएको उनले उल्लेख गरेकी छन्। उनले आफूसँग ४ लाख ६५ हजार मूल्यका मोटरसाइकल रहेको पनि सम्पत्ति विवरणमा उल्लेख गरेकी छन् ।

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डीपी अर्यालको १५० तोला सुन, १ सय तोला चाँदी र १० तोला हिरा रहेको छ । २०७४ सालअघि सुन ८२ लाख, २० हजारमा खरिद गरेको उनले बताएका छन् । यस्तै मन्त्री अर्याल र उनकी श्रीमती अम्बिका केसीसँग २ करोड बढी नगद बैंक तथा सहकारीमा जम्मा छन् ।

अर्यालको जनसागर सहकारीमा १ करोड ५० लाख, प्राइम बैंकमा १३ लाख, मेगा बैंकमा १ लाख र राष्ट्रिय वाणिज्य बैंकमा ४ लाख नगद जम्मा रहेको छ । यस्तै उनकी श्रीमती अम्बिका केसीको नाममा जनसागर सहकारीमा १५ लाख, ग्लोबल आइएमई बैंकमा ५० लाख, हिमालयन बैंकमा २० लाख रुपैयाँ नगद रहेको छ । सो सम्पत्ति व्यापारबाट प्राप्त भएको विवरण उनले सार्वजनिक गरेका हुन् । यस्तै विभिन्न १२ ठाउँमा जग्गा रहेको विवरण उनले सार्वजनिक गरेका छन् । काठमाडौं १६ मा अम्बिका केसीको नाममा ३ करोड मूल्य बराबरको घर रहेको छ ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री अधिकारी पनि एमाले सांसद हुन् । उनीसँग आफ्नो नाममा कुनैपनि सम्पत्ति छैन् भने मन्त्री अधिकारीले प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयलाई बुझाएको सम्पत्ति विवरणमा श्रीमती वसुन्धरा पौडेल अधिकारीको नाममा कपिलवस्तु वाणगंगामा ५ कट्ठा जमिन रहेको जनाएकामा श्रीमतीकै नाममा वुद्धभूमि ५ मा १ बिगाहा १५ कट्ठा जमिन रहेको उल्लेख गरेका छन् ।

यस्तै श्रीमतीकै नाममा काठमाडौँ कीर्तिपुरमा २०६।६६ वर्ग मिटर जग्गा रहेको समेत उनले उल्लेख गरेका छन् । भाइ नवराज अधिकारीको नाममा ९ कट्ठा जमिन पैतृक सम्पत्ति रहेको उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।चल सम्पत्तिको रूपमा १० तोला सुन रहेको उल्लेख गरेका मन्त्री अधिकारीले स्वआर्जनले जोडेको उल्लेख गरेका छन् ।

मन्त्री अधिकारीले आफ्नो र श्रीमतीको नाममा विभिन्न बैंकमा रहेको खातामा १५ लाख रुपैयाँ नगद रहेको उल्लेख गरेका छन् । यस्तै मन्त्री अधिकारीले छोरा मनोज अधिकारीका नाममा भिजन इनर्जी (सङ्खुवासभा) को १५ लाख रुपैयाँ बराबरको १५ हजार कित्ता सेयर समेत रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ