कैलाश सिरोहियापछि गृहमन्त्री रवि लामिछानेको निशानामा डा. आरजु राणा


काठमाडौं । प्रहरीको काठमाडौं उपत्यका अपराध महाशाखाले नागरिकतासम्बन्धी कसुरमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाशप्रसाद सिरोहियालाई पक्राउ गरेको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनमा मंगलबार उनी कार्यकक्षबाटै पक्राउ परेका हुन् ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईको नेतृत्वमा उनी पक्राउ परेका हुन् । धनुषा प्रहरीले धनुषा जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी गराएर सिरोहियामाथि नागरिकतासम्बन्धी कसुरमा अनुसन्धान गर्न नियन्त्रणमा लिएको हो । काठमाडौं उपत्यका प्रहरी कार्यालयको टोलीले उनलाई धनुषा प्रहरीमा बुझाउने तयारी गरिरहेको छ ।

यसैबीच प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले कांग्रेस नेतृ आरजु राणा देउवामाथि समेत निगरानी बढाएको छ । गृहमन्त्री लामिछानेको निर्देशनमा सिआईबीले टीकापुर बजार क्षेत्रको सरकारी जग्गा हिनामिनामा अनुसन्धान सुरु गरेको हो ।

टीकापुर बजार क्षेत्रको हिनामिना भएको ३० विघा सरकारी जग्गामध्ये ४ कठ्ठा कांग्रेस नेतृ डा. आरजु राणा देउवा र ५ कठ्ठा नागरिक उन्मुक्ति पार्टीका संरक्षण रेशम चौधरीको नाममा पुगेको सिआईबीको प्रारम्भिक निष्कर्ष छ । प्रहरी नायब उपरीक्षक (डिएसपी)को नेतृत्वमा फिल्डमै पुगेर उक्त सरकारी जग्गा हिनामिनाको विषयमा सिआईबीले अनुसन्धान गरिरहेको पाइन्छ । यो विषयमा हप्ता दिनभित्रै नतिजा निस्कन सिआईबीका उच्च अधिकारीहरुको दाबी छ ।

टीकापुरको उक्त सरकारी जग्गा हिनामिनामा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ सय ४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ । अख्तियारको पत्रानुसार सिआईबीले ठूलो संख्यामा टीकापुर जग्गा काण्डमा किर्ते मुद्दा चलाउने तयारी गरेको पाइन्छ । यसमा कैलाली प्रहरी र सिआईबीले संयुक्त रुपमा अनुसन्धान गरिरहेको बुझिन्छ ।

टीकापुरको सरकारी जग्गा हिनामिना काण्डमा जोडिएकी कांग्रेस नेतृ आरजुले आफूले २०६० सालमा ५० हजार तिरेर उक्त जग्गा किनेको दाबी गरिन । उनले संसद भवन बाहिर बोल्दै टीकापुरको सरकारी जग्गा हिनामिनामा आफ्नो संलग्नता पुष्टि गर्न गृहमन्त्री लामिछानेलाई चुनौती समेत दिइन् ।

नागरिकतासम्बन्धी कसुरमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई पक्राउ गरेर हौसिएका गृहमन्त्री लामिछानेको अर्को निशाना टीकापुरको सरकारी जग्गा हिनामिना काण्डमा मुछिएकी आरजुतर्फ रहेको चर्चा सुरु भएको छ । उनले संसदलाई सम्बोधन गर्दै टीकापुरको सरकारी जग्गा हिनामिनामा आरजु र रेशमको नाम लिएका थिए ।  गृहमन्त्री लामिछाने टीकापुरको सरकारी जग्गा हिनामिनाको अनुसन्धान भइरहेको सदनमार्फत जानकारी गराए । टीकापुरको सरकारी जग्गा हिनामिना प्रकरणमा अनुसन्धान लागि कांग्रेस नेतृ आरजु राणाविरुद्ध पक्राउ पूर्जी जारी भएर पक्राउ परे आश्चर्य नहुने गृह मन्त्रालयका अधिकारीहरुको टिप्पणी छ । गृहमन्त्री लामिछानेको तयारी हेर्दा टीकापुरको सरकारी जग्गा हिनामिना प्रकरणमा सिआईबीले ठूलो एक्सन लिने सम्भावना बढेर गएको देखिन्छ ।

 

क्याटेगोरी : समाचार
ट्याग : #टीकापुरको सरकारी जग्गा हिनामिना काण्ड, #डा. आरजु राणा देउवा, #सिआईबी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ