नक्कली लाइसेन्समा इन्जिनियर हरिश भट्टविरुद्ध दोस्रो मुद्दा दायर हुँदै 


काठमाडौं । नक्कली लाइसेन्स जारी प्रकरणमा यातायात व्यवस्था विभागका करारका पूर्व कम्प्युटर इन्जिनियर हरिश भट्टविरुद्ध किर्तेमा दोस्रो मुद्दा दायर हुने भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले उनीविरुद्ध दोस्रो मुद्दा दर्ताका लागि जिल्ला सरकारी वकील कार्यालय, काठमाडौंमा फाइल पठाइसकेको हो । जिल्ला सरकारी वकील कार्यालयका एक अधिकारीका अनुसार बुधबार नै उक्त मुद्दा काठमाडौं जिल्ला अदालतमा दर्ता गर्ने तयारी भइरहेको छ ।

गाडीले हानेर मान्छे मार्ने स्याङजाका शशांक बस्याललाई नक्कली लाइसेन्स दिएर थुनामुक्त गराएको आरोपमा भट्टसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कम्प्युटर इन्जिनियर सुरजप्रकाश अर्याल, यातायात व्यवस्था कार्यालय, बुटवलका कम्प्युटर अपरेटर नारायणप्रसाद पाण्डे, २ जना बिचौलिया र उक्त लाइसेन्स लिने बस्यालका बाबु-छोराविरुद्ध सिआईबीले सोमबार किर्ते मुद्दा दायर गरिसकेको छ । उक्त मुद्दा मंगलबार र बुधबार (आज) पनि सुनुवाई हुँदैछ । थुनछेक बहस भइरहेको अवस्थामा भट्टविरुद्ध भने दोस्रो मुद्दा दर्ता गराउने सिआईबीको तयारी देखिन्छ । सिआईबीले विभागका पूर्व इन्जिनियर भट्टसहित, करारकी कम्प्युटर अपरेटर दीपा न्यौपाने, करारका पूर्व कम्प्युटर अपरेटर बसन्त पाण्डे, बृर्जुकुमार चौधरीलगायतलाई प्रतिवादी बनाएर सिआईबीले किर्तेमा अर्को मुद्दा दायर गर्न लागेको हो ।

सिआईबी स्रोतका अनुसार उक्त समूहले पैसा लिएर नक्कली कागजात समावेश गरी स्मार्ट लाइसेन्स प्रिन्ट गर्ने गरेको अनुसन्धानबाट  खुलेको छ । त्यसैका आधारमा अर्को मुद्दा दायर गर्ने तयारी भइसकेको सिआईबी स्रोतले जानकारी दियो । सिआईबीले प्रतिवादी बनाउन लागेका दीपा न्यौपाने र बसन्त पाण्डे यातायात व्यवस्था विभागका पूर्वमहानिर्देशक डा. टोकराज पाण्डेका नातेदार हुन् । उनीहरुलाई टोकराजले नै करारमा यातायातमा जागिर लगाइदिएको खुल्न आएको सिआईबीका अधिकारीहरु बताउँछन् ।

सिआईबीबाट दोस्रो मुद्दाको सामना गर्ने तयारीमा रहेका करारका पूर्व इन्जिनियर हरिश भट्टलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत २०७१ सालमै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उक्त मुद्दा जितेर फेरि उनी यातायातमै फर्किएका थिए । पैसा लिई नक्कली कागजात खडा गरेर भटाभट लाइसेन्स प्रिन्ट गर्ने उनै भट्टसहित, न्यौपाने, पाण्डे र चौधरीलाई सिआईबीले किर्ते कसूरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गर्न लागेको हो ।

सिआईबीका अनुसार उनीहरूविरुद्ध भ्रष्टाचारमा समेत मुद्दा जाने प्रशस्तै आधार फेला परेको छ । संगठित रूपमै आर्थिक कारोबार देखिएकाले उक्त कसुरलाई संगठित अपराधमा समेत अनुसन्धान गर्नुपर्ने हो । धेरै र उच्च तहका व्यक्ति समेत तानिने भएकाले सिआईबीले संगठित अपराधमा नभइ किर्तेमा मात्र मुद्दा दायर गर्न लागेको छ । नक्कली लाइसेन्स प्रकरणमा सिआईबी पूर्वमहानिर्देशकहरुसम्म पुग्ने हिम्मत गरेको देखिँदैन । यातायातका भुरा माछामै सिआईबीको अनुसन्धान सीमित भएको पाइन्छ ।

क्याटेगोरी : समाचार
ट्याग : #इन्जिनियर हरिश भट्ट, #डा. टोकराज पाण्डे, #दीपा न्यौपाने, #नक्कली लाइसेन्स, #यातायात व्यवस्था विभाग, #सिआईबी, #सुरजप्रकाश अर्याल, #हरिश भट्ट कम्प्युटर इन्जिनियर

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ